जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले भूकम्प प्रभावितहरूका लागि अस्थायी आवास निर्माण गर्न दिइने पहिलो किस्तावापतको रकम पालिकाहरूको खातामा पठाइसकेको छ। संघीय सरकारले जिल्ला दैवी प्रकोप कोषमा पठाएको रकममध्ये पालिकाबाट प्राप्त भएको लाभग्राहीको सूचीका आधारमा पालिकाको खातामा पठाएको थियो।
हालसम्म प्राप्त लाभग्राहीहरूको संख्याका आधारमा २५ हजार रूपैयाँका दरले पहिलो किस्तावापतको रकम पालिकाहरूको खातामा पठाइसकिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए।
उनका अनुसार केन्द्रबाट जिल्ला विपद् कोषमा आएको रकममध्ये ८४ करोड ९५ लाख ७५ हजार रूपैयाँ जिल्लाका सात वटा पालिकाको खातामा पठाइएको सह-प्रजिअ शर्माले जानकारी दिए।
शर्माका अनुसार भेरी नगरपालिकामा १३ करोड ६९ लाख २५ हजार, नलगाड नगरपालिकामा २० करोड २४ लाख २५ हजार, छेडागाड नगरपालिकामा ९ करोड १६ लाख, बारेकोट गाउँपालिकामा १३ करोड ९६ लाख ५० हजार, कुशे गाउँपालिकामा १३ करोड २१ लाख ७५ हजार, जुनीचाँदे गाउँपालिकामा ६ करोड ४० लाख ७५ हजार र शिवालय गाउँपालिकामा ८ करोड २७ लाख ७५ हजार रूपैयाँ पहिलो किस्तावापतको रकम खातामा पठाइएको छ।
यो रकम पालिकाले पठाएको लाभग्राहीको सूचीका आधारमा २५ हजारका दरले हिसाब गरेर प्रत्येक पालिकामा पठाइएको हो। जिल्ला विपद् कोषबाट रकम पठाइए पनि जाजरकोटका केही पालिकाले भने लाभग्राहीलाई रकम वितरण गर्न सकेका छैनन्।
जुनीचाँदे गाउँपालिकाले रकम खातामा गएको एक सातासम्म पनि लाभग्राहीहरूलाई पहिलो किस्ता वितरण गर्न सकेको छैन। जुनीचाँदे गाउँपालिकाले २ हजार ५६३ लाभग्राही परिवारको सूची जिल्लामा पठाएको थियो।
रकम निकासा गर्न नसक्दा अस्थायी आवास निर्माणको कामले गति लिन नसकेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रेमबहादुर कार्कीले बताए। उनले पालिकामा लेखापाल नहुँदा पहिला किस्तावापतको रकम भुक्तानी गर्न नसकिएको बताए।
‘रकम आएको केही दिनसम्म लेखापाल बिदामा हुनुहुन्थ्यो, उहाँ आउने वित्तिकै सार्वजनिक विदा पर्यो,’ कार्कीले भने, ‘अब रकम वितरण गरौं भनेर सल्लाह गरेका थियौं, लेखापाल काम गर्न नसक्ने भनेर आउनुभएन।’
उनका अनुसार गाउँपालिकाका लेखा सहायक मनोज ज्ञवालीले राजीनामा लेखेर घर गएका छन्। विपद्का बेला लेखापाल अनिवार्य भएकाले सहजीकरणका लागि व्यवस्था गरिदिन कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) लाई लेखी पठाइएको कार्कीले बताए।
‘उहाँ (लेखापाल) आएपछि हामीले भुक्तानी दिन सुरू गरौं भनेका हौं, हुन्छ भन्नुभएको थियो। तर ९ र १० गतेको सार्वजनिक बिदा सकिएपछि हामीले फोन गर्दा म आउन सक्दिन भन्नुभएको छ,’ उनले भने, ‘विपद्का बेला रोकिएको राहत रकम निकासाका लागि भए पनि सहजीकरण गरिदिन कोलेनिकालाई भनेका छौं।’
गाउँपालिकाका लेखा सहायक मनोज ज्ञवालीले भने आफ्नो स्वास्थ्यमा भएको समस्याले नियमित काम गर्न नसक्ने भएकाले राजीनामा नै दिएर आउनुपरेको बताए। ‘यस्तो बेलामा जनतालाई सेवा दिन नसक्दा आफूलाई हीनताबोध हुन्छ, लेखाप्रमुख नभएपछि मलाई कामको भार बढी भएको थियो,’ ज्ञवालीले भने, ‘स्वास्थ्यका कारण म नियमित काम गर्न सक्ने अवस्थामा पनि नभएकाले अर्को कर्मचारी ल्याउन सहज होस भनेर राजीनामा बुझाएर आएको छु।’
भुक्तानी गर्न नसकेको जुनीचाँदे गाउँपालिकाले अहिलेसम्म टहरा समेत निर्माण गरेको छैन। यहाँ पहिलो किस्ताको रकम भुक्तानी कहिलेदेखि सुरू हुन्छ भन्ने यकिन समेत छैन।
भूकम्पबाट बढी प्रभावित नलगाड नगरपालिकाले पनि पहिलो किस्तावापतको रकम वितरण गर्न सकेको छैन। पालिकाले ८ हजार ९७ जनाको लाभग्राही सूची पठाएको थियो। सोही अनुसार पालिकामा २० करोड २४ लाख २५ हजार रूपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिले पालिकाको खातामा पठाएको छ।
पालिकाको खातामा शुक्रबार नै रकम गएको थियो। तत्काल अस्थायी आवास निर्माणमै केन्द्रित भएकाले तत्काल रकम वितरण नगरिएको नलगाड नगरपालिकाका मेयर डम्बर रावतले बताए।
‘हामीकहाँ रकम आएको भर्खरै हो, वितरण गर्नुभन्दा निर्माणतिर केन्द्रित हौं भनेर सुरू गरेका छैनौं,’ मेयर रावतले भने, ‘अबको केही दिनमा हामीले पहिलो किस्ता दिन सुरू गरिहाल्छौं।’
पालिकामा लाभग्राही परिवारसँग सम्झौता हुन समय लागेकाले पनि भुक्तानीमा ढिलाइ भएको उनले बताए। पहिलो किस्ता रकम भुक्तानी नगरे पनि नगरपालिकाभित्र चार हजार ९० वटा अस्थायी आवास भने बनिसकेका छन्।
रकम भुक्तानी गरे पनि छेडागाड नगरपालिकाले अस्थायी आवास बनेको विवरण भने प्रशासनलाई पठाएको छैन।
जिल्ला प्रशासन कार्यालयले खातामा गएको रकम भुक्तानी भएको, अस्थायी आवास बनेको, लाभग्राही परिवार थप भएको लगायतका विवरण अद्यावधिक गरी नियमित पठाउन पालिकाहरूलाई भनेको छ।
जिल्लाका अन्य पालिकामध्ये शिवालय गाउँपालिकामा ७७, कुशे गाउँपालिकामा १०८, बारेकोट गाउँपालिकामा एक हजार ६३१ र भेरी नगरपालिकामा १५० अस्थायी टहरा बनिसकेको विवरण जिल्ला प्रशासनलाई पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयको मंगलबारसम्मको तथ्यांकअनुसार भेरी नगरपालिकाले ८ करोड २६ लाख ५० हजार, छेडागाड नगरपालिकाले ९२ लाख ५० हजार, बारेकोट गाउँपालिकाले २ करोड ६६ लाख २५ हजार, कुशे गाउँपालिकाले एक करोड २५ लाख ५० हजार, शिवालय गाउँपालिकाले ७ करोड १७ लाख ७५ हजार रूपैयाँ पहिलो किस्तावापत लाभग्राही परिवारलाई भुक्तानी गरिसकेका छन्।
रकम भुक्तानी गरेका पालिकाको विवरणअनुसार हालसम्म जिल्लाभर ८ हजार ११४ लाभग्राही परिवारले पहिलो किस्ता पाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ।
भूकम्पपछि जिल्ला विपद् व्यवस्थापन समितिले स्थापना गरेको ‘भूकम्प प्रभावित राहत कोष जाजरकोट–२०८०’ को बैंक खातामा मंगलबारसम्म १ करोड २६ लाख रूपैयाँ जम्मा भएको जिल्ला प्रशासन कार्यालयका लेखापाल एकराज उपाध्यायले जानकारी दिए।