ग्यालेक्सी फोरके टेलिभिजनको माउ संस्था गोरखा मिडिया नेटवर्क प्रालिमा कानुनविपरीत साढे १० करोड रूपैयाँभन्दा बढी ऋण लगानी गरेको सुप्रिम सहकारी संस्थाका पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेटेका छन्।
बुटवल-नारायणगढ सडकखण्डको निर्माण कार्य छिटो गर्न दबाब दिने भन्दै पैदलयात्रामार्फत चितवनदेखि बुटवल पुगेका लामिछानेलाई सहकारीका पीडितहरूले भेट गरेका हुन्।
उनीहरूले सहकारी संस्थामा बचत गरेको करोडौं रकम डुबेको भन्दै फिर्ताका लागि पहल गर्न लामिछानेलाई आग्रह गरेका थिए।
लामिछाने बुधबार साँझ बुटवल आउने भनेपछि सहकारी पीडितहरू दिउँसोदेखि नै धागो कारखानाअगाडि पुगेर पर्खिएका थिए। लामिछानेसहितको टोलीलाई धागो कारखानाअगाडि रास्वपाका कार्यकर्ता तथा शुभचिन्तकहरूले स्वागत गरेपछि सहकारीबाट पीडितहरूले उनीसँग केहीबेर छलफल गरेका थिए।
उक्त छलफलमा पत्रकारहरूलाई भने प्रवेश दिइएको थिएन। छलफलपछि बाहिर निस्किएका लामिछानेले सहकारीका बचतकर्ताहरूको बचत रकम डुब्न नदिने बचन दिएको बताए।
उनले आफू सदन र सडकबाट समेत सहकारी संस्था र बैंक तथा वित्तीय संस्थाहरूबाट ठगिएकाहरूको पक्षमा आवाज उठाउने बताए। त्यस्तै जनताहरूलाई राजनीतिक लडाइँमा भने नपिल्सिन आग्रह पनि गरेको उनले बताए।
'म मेरो आफ्नो लडाइँ आफैं लडुँला। तर तपाईंहरू राजनीतिक लडाइँमा पिल्सिनु भएन भनेर भनेको छु। तपाईंहरू थाके पनि म थाक्दिनँ भनेको छु। जलेश्वर बैठकको राजनीतिक प्रतिवेदनमै सहकारी, वित्तीय संस्थाहरूकाबारे पनि पार्टीले काम गर्ने भनेर डा. स्वर्णिम वाग्लेको नेतृत्वमा समिति बनाएर सरकारलाई प्रतिवेदन दिने गरी काम सुरू गरिसकेका छौं। अब आउने सदनमा सरकारलाई प्रतिवेदन बुझाउने र दबाब दिने गरी सदनबाटै आवाज उठाउने छु भनेर भनेको छु,' लामिछानेले भने।
लामिछानेले बचतकर्ताहरूले सहकारीबाट आफूहरू अप्ठ्यारोमा परेकाले सञ्चालकहरूलाई बोलाएर समस्या समाधान गर्न पनि आग्रह गरेको बताए।
'उहाँहरूले हामीलाई अप्ठ्यारो परेको छ भन्नुभएको छ। सञ्चालकलाई बोलाऔं भन्नुभएको थियो। मैले सञ्चालकहरूले गर्न सक्ने केही पनि छैन, सरकारले विशेष ध्यान दिएन र पहल गरेन भने यो कुरा सम्भव छैन भनेको छु,' उनले भने।
लामिछानेले आफ्नो पार्टीमा एक-से-एक अर्थशास्त्री रहेको उल्लेख गर्दै सहकारीको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सरकारलाई प्रतिवेदन दिने तयारीमा रहेको बताए।
'हामीसँग एक-से-एक अर्थशास्त्री हुनुहुन्छ। सहकारीको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सरकारलाई दिने प्रतिवेदन बनाइरहेका छौं। अब आउने सदनमा सरकारलाई प्रतिवेदन बुझाउँछौं। तपाईंहरू चिन्ता नमान्नुस्, तपाईंहरूको समस्या हामी समाधान गर्छौं, हामी काम गर्छौं,' उनले भने।
बुटवलको सुप्रिम सहकारीबाट ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी भएकाबारे आफूलाई जानकारी नभएको समेत उनले बताए।
'उनीहरूले कहाँबाट पैसा ल्याए, चोरेर ल्याए कि, ठगेर ल्याए, लुटेर ल्याए कि, त्यो उनीहरूको पाटो हो। मेरो सरोकार जिबी राई, ग्यालेक्सी टिभीसँगको होइन। जनताले मकै पोलेर जम्मा गरेको पैसा फिर्ता पाउनुपर्छ भन्ने हो। तर तपाईंहरूले यसैमा पनि राजनीति गर्न खोज्नुहुन्छ भने मैले के नै गर्न सक्छु र,' लामिछानेको भनाइ थियो।
उनले आफूलाई लाखौंले हिलो छ्याप्दा पनि त्यो हिलो पुछ्दै नथाकेर राजनीतिको लडाइँ लड्दै जाने बताए। अहिले सहकारीको विषयमा आफ्नो नाम जोडेर आफूसँग राजनीतिक लडाइँ छेडेको उनले बताए।
'अहिले रवि लामिछानेलाई खेद्नकै लागि जसले राजनीतिक लडाइँ छेडेका छन्, तपाईंहरूको चिन्ता हुन्थ्यो भने पहिल्यैदेखि नै ठगी गरेका समाचार किन लेखेनन्? त्यत्रा ठूला मिडिया लेख्नुपर्थ्यो नि त! बचत फिर्ता गराइदिन किन सकेनन्,' उनले भने।
उनले आफू टेलिभिजनमै रहँदा पनि धेरैपटक सहकारी पीडितका पक्षमा समाचार प्रसारण गरेको भन्दै अहिले पनि देशभरका बचतकर्ताहरूको बचत फिर्ता नभएसम्म आफू र आफ्नो पार्टी लडिरहने बताए।
'यसभन्दा पहिले देशभरिबाट सहकारी पीडितले म ग्यालेक्सीमै हुँदा पनि निवेदन दिएका थिए। ती सबैको अध्ययन गरिरहेका छौं। न्यूज २४ मै कतिपटक सहकारीले ठगी गरेका समाचार प्रसारण गरेको थिएँ। अहिले तपाईंहरूको मात्र होइन, देशभरका बचतकर्ताहरूको बचत फिर्ता नभएसम्म म र मेरो पार्टी अन्तिमसम्म लड्न तयार छौं,' उनले भने।
लामिछानेले सरकारले सहकारीलाई लाइसेन्स दिने तर त्यही लाइसेन्स दिएको संस्थामा लगेर जनताले बचत गरेको रकम डुब्ने अवस्थामा पुगेपछि बेवास्ता गर्न नपाउने बताए।
यो पनि पढ्नुहोस्- ग्यालेक्सी टिभीको माउ कम्पनीले सुप्रिम सहकारीबाट पनि लिएको थियो कानुनविपरीत साढे १० करोड ऋण
लामिछानेले विकास निर्माणको बहानामा जनताले धूलोधुवाँमा कसरी कष्टकर जीवन बिताइरहेका छन् भन्ने बुझ्न बुटवल-नारायणगढ सडकखण्डको पैदलयात्रामा निस्किएको बताए।
झन्डावाल गाडीमा हुइँकिएर मात्र राजनीति नहुने भन्दै उनले जनता कुन दुःखकष्ट र हन्डरमा बाँचेका छन् भनेर बुझ्दै पनि राजनीति गर्न सकिने बताए।
यो सडकबारे आफू सञ्चारकर्मी भएकै बेला थाहा पाएको र धेरैपटक रिपोर्टिङ गरे पनि यसपटक विशुद्ध एक नागरिकको हैसियतले जनताको दुःखकष्ट बुझ्नकै लागि यात्रा तय गरेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीले यात्राको क्रममा पार्टीको कुनै पनि झन्डा प्रयोग नगरेको र पार्टीको कुनै गन्ध समेत आउन नदिएको उनले बताए।
सडक निर्माणको नाममा जनतालाई वर्षौंसम्म धूलो खुवाउन नपाइने भन्दै लामिछानेले जनतालाई धूलो खुवाउनेहरूलाई अब जनताले धूलो चटाउने बेला आएको बताए।
'अब पनि कहिलेसम्म बाटो बनाएर सकिन्छ भन्ने कुरा जनतालाई बताइएन भने जनताले सधैंभरि धूलो खाएर हिँड्ने होइन, सरकारमा रहेकाहरू जो जो यो सडक निर्माणमा संलग्न हुनुहुन्छ, तपाईंहरूलाई धूलो चटाउँछौं,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीले सुरू गरेको 'मिसन-८४' अन्तर्गत नै यो यात्रा पनि रहेको उनले बताए।
लामिछानेले संसदीय समितिमा रास्वपाकी निशा डांगी भौतिक निर्माण समितिको सदस्य रहेको र देशमा निर्माणाधीन आयोजनाहरूमा भइरहेका ढिलाइबारे बुझ्न र त्यसको कसरी समाधान गर्न सकिन्छ भन्न पनि यात्राले सघाउ पुर्याएको बताए।
'आयोजनाहरू किन ढिलो भइरहेका छन्, निर्माणका काममा कसरी अवरोध भइरहेको छ, निर्माण व्यवसायीहरूले भुक्तानी पाएका छन् कि छैनन् भनेर बुझिरहेका छौं। बिना पैसा कसैलाई पनि काम गराउन सकिँदैन। सरकारले काम गरेको पैसा नदिने अनि काम नगरेको सबै दोष र गाली निर्माण व्यवसायीलाई दिएर उम्किन पाइँदैन। कानुनी रूपमा केही अप्ठ्यारा परेका छन् भने संशोधन गरेर भए पनि फुकाउनुपर्छ,' उनले भने।