सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहभागी हुने पोखराको कार्यक्रम बिथोल्ने योजना बुनेका थिए। शनिबार अमरसिंह चोकमा कार्यक्रम हुँदै थियो।
शुक्रबार नै पोखरा आइपुगेका लामिछानेले कार्यकर्तामार्फत् यसबारे जानकारी पाएका थिए। सहकारीका बचतकर्तासँग भेटेर कुरा गर्ने उनले योजना बनाए।
लामिछानेसँग सहकारीका बचतकर्ताको भेटघाट बन्दोबस्त मिलाउने पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा समिति आबद्ध पार्टी सदस्य अनुज श्रेष्ठलगायत हुन्। श्रेष्ठ आफैं सूर्यदर्शनमा बचतकर्ता छन्। उनी सहकारी पीडित संघर्ष समितिमा पनि छन्।
शुक्रबार बेलुकी ८ बजेतिर पार्टी कार्यालयमा भेटेर छलफल गर्ने निधो भयो। भनिएअनुसार नै करिब ८ बजे संघर्ष समितिका संयोजक किरण श्रेष्ठसहित २० जना रास्वपा गण्डकीको कार्यालय पुगेका थिए।
संयोजक श्रेष्ठका अनुसार सहकारी पीडितहरू पुगेपछि कार्यालय भित्र रहेका अन्य नेता तथा कार्यकर्तालाई लामिछानेले बाहिर जान निर्देशन दिए।
‘हामी पुगेपछि रवि लामिछानेले अरू नेता तथा कार्यकर्तालाई बाहिर जानुस् भन्नुभयो। भित्र रूममा उहाँको पिएसओ र एक जना मात्र राख्नुभएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले उहाँसँग लामो कुराकानी गर्यौं र ज्ञापन पत्र बुझायौं।’
छलफलमा सहभागी विक्रम केसीका अनुसार सुरूमा लामिछानेले नै आफ्नो कुरा राखेका थिए। सूर्यदर्शन सहकारीबारे पोखरा महानगरले गरेको छानबिन प्रतिवेदनमा आफ्नो नाम भएको आफूलाई थाहा भएको उल्लेख गरे। तर सूर्यदर्शन सहकारीबाट आफूले ऋण नलिएको पनि उनले बताए।
'मैले ऋण लिएको छैन, लिएको भए त मेरो हस्ताक्षर वा ल्याप्चे होला नि कतै। धितो राख्नुपर्ने होला। मैले आफ्नो कुरा भनेँ। तपाईंलाई अझै शंका छ भने भन्नुहोस्,' विक्रमले रविलाई उद्धृत गर्दै भने।
केसीले पनि आफूलाई रविमाथि अझै शंका भएको भन्दै आफ्ना कुरा राखेका थिए।
'ग्यालेक्सी टेलिभिजन खोल्दा यसका अध्यक्ष जिबी राईले लगानी गरेको होइन नि! त्यो त जनताको पैसा लगानी गरेको हो। बरू जिबीले त्यो पैसा रवि लामिछाने ब्राण्डलाई लगानी गरेको हो। त्यसैले जनताको पैसा संरक्षण गर्ने दायित्व तपाईंको पनि हुनुपर्छ,' उनले आफ्नो प्रश्न सम्झिँदै भने।
यसपछि अरू पीडितहरूलाई आ-आफ्ना कुरा राख्न भने। पीडितहरूले सहकारीबाट पैसा लगेर लामिछाने सहितको संलग्नतामा ग्यालेक्सी टेलिभिजन खोलेको र उनले छाडेपछि अस्तव्यस्त बनेको विषय उठाएका थिए।
‘हाम्रा साथीमध्ये केहीले आफूहरूले बचत गरेको पैसा लगेर ग्यालेक्सी टेलिभिजन खोलेको र त्यो पनि अस्तव्यस्त पारेको गुनासो गर्नुभयो,’ संयोजक श्रेष्ठले भने। उनकाअनुसार केही पीडितले ग्यालेक्सी टेलिभिजनमा लामिछानेको सेयरबारे पनि प्रश्न उठाएका थिए।
रवि उपप्रधान तथा गृहमन्त्री हुँदा उनकै पार्टीका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठ र सहकारीका कोषाध्यक्ष कुमार रम्तेलले आफूहरूलाई जेल हाल्ने धम्की दिएको भन्ने पनि पीडितको गुनासो थियो।
‘हाम्रो मान्छे गृहमन्त्री भएका बेला धेरै बाठो हुने होइन, धेरै कुरा गर्ने होइन फेरि लगेर थुन्दिउँला भनेर हामीलाई धम्की आउँथ्यो,’ संयोजक श्रेष्ठले भने, ‘ढाका र सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेलले यसरी धम्की दिन्थे, यो कुरा पनि हामीले राख्यौँ।’
यी सबै कुरा सुनेपछि लामिछानेले एक एक गर्दै जवाफ दिएका थिए। सुरूमा उनले टेलिभिजन खोल्ने बेला जिबी राई समूहले गैरकानुनी धन्दा गरेको नदेखिएकाले सहकार्य गरेको बताएका थिए। त्यसपछि ग्यालेक्सीमा आफ्नो सेयरको विषयमा लामिछानेले प्रष्ट्याएका थिए।
सेयरका विषयमा लामिछानेले भने, ‘आफ्नो ‘गुडविल’ बेचेर १५ प्रतिशत शेयरमा परिणत गरेको थिएँ। मेरो पैसा हालेको होइन।
‘रवि लामिछानेले मेरो गुडविल बेचेर १५ प्रतिशत शेयरमा परिणत गरी लगानी गरेको हो, अरु लगानी छैन भन्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँले आफूले पाउनुपर्ने तलब भत्ता लिएको र जिबी राई समुहका विषयमा अनभिज्ञता देखाउनुभयो।’
आफू गृहमन्त्री हुँदा पीडितहरूलाई आफ्नो नाम लिएर ढाका र कुमारले धम्की दिएकोबारे लामिछानेले अनविज्ञता प्रकट गरेका थिए। यसबारे आफूलाई थाहा नभएको उनले बताएका थिए।
अर्का सहभागी दीपेन्द्र राईले कानुन बनाउने ठाउँमा भएकाले लामिछानेले धेरै काम गर्नुपर्ने बताए। 'कानुन बनाउने ठाउँमा हुनुहुन्छ। पोखरा महानगरमा सहकारी शाखा त छ तर नियमन केही गर्दैन। अधिकार पनि खासै रहेनछ। सहकारीका समस्या समाधान गर्ने गरी कानुन बनाउनुपर्यो। हाम्रो पैसा जसरी पनि फिर्ता आउने गरी काम गर्नपर्यो भनेको थिएँ,' उनले भने।
रविले उनलाई जवाफ दिए- म संसदमा यसबारे आवाज उठाउँछु, सहकारी नीति पनि परिवर्तन गर्नुपर्ने छ।
विक्रम केसीले सुरूमा गरेको प्रश्नमा लामिछानेको जवाफ थियो, 'मैले ऋण लिन कतै ल्याप्चे लगाएको पनि छैन। सहकारी गएको पनि छैन। मेरो नाम आएपछि म पनि पीडित भएँ। म तपाईंहरूको कित्तामा लाग्नुपर्ने भयो। तपाईंहरू जानुपर्ने ठाउँमा म लिएर जान्छु। तपाईंहरूको न्यायका लागि म लड्छु। शनिबारको कार्यक्रममा पनि आवाज उठाउछु।'
लामिछानेले सूर्यदर्शन सहकारी संलग्न नरहेको भन्दै दिएको जवाफमा चित्त नबुझेपछि त्यसपछिको कुराकानीमा थप प्रश्न गरेको संयोजक किरण श्रेष्ठले बताए। ‘सूर्यदर्शन सहकारी छानबिन प्रतिवेदनमा लामिछानेले सहकारीबाट एक करोड रुपैयाँ ऋण लिएर फर्छ्यौट गरेको उल्लेख छ, पुलेसो कर्जा नम्बर ११६–४४५६ खडा गरी खाता नम्बर ४९–००७७० मार्फत् एक करोड पेश्की फर्छ्यौट गरिएको भनेको छ। तपाईं संलग्न नै नभए छानबिन प्रतिवेदनमा यति डिटेलमा तपाईंको नाम कसरी संलग्न भयो ?’ श्रेष्ठले सोधेका थिए।
लामिछानेले सहकारीबाट आफूले एक पैसा पनि ऋण नलिएको जवाफ दिए। ‘मेरो नागरिकताको फोटोकपी, कागजात उहाँहरूले दुरूपयोग गरेको भए म जान्दिनँ, तर मैले सहकारीबाट केही पनि लिएको छैन, म सहकारीमा अहिलेसम्म गएको पनि छैन,’ लामिछानेको भनाई उद्धृत गर्दै श्रेष्ठले भने।
त्यसपछि लामिछानेले आफूले पीडितहरूलाई न्याय दिलाउन लागि पर्ने बाचा गरे। यति कुराकानी हुँदा शुक्रबार राती १० बजेको थियो। त्यसपछि पीडितहरूले आफ्नो ज्ञापन पत्र बुझाए। लामिछानेले ज्ञापन पत्र बुझे, पीडितहरूसँग फोटो खिचाए र उनीहरूलाई बिदा गरे।
यसरी वार्ता गरेपछि सहकारी पीडितको विरोध लामिछानेले सामना गर्न परेन। शनिबारको सभामा लामिछानेले आफू पनि पीडित भएको दाबी गर्दै सहकारी पीडित सँगसँगै उभिने बताएका थिए।
‘पीडितहरुको लिष्टमा मेरो नाम एक नम्बरमा राख्नुहोला, तपाईंहरूले छाडे पनि यो केस म छाड्दिनँ,’ पीडितलाई सम्बोधन गर्दै शनिबार लामिछानेले भनेका थिए, ‘जबसम्म तपाईंले दु:ख गरेर पसिना बगाएर राखेको पैसा फिर्ता आउने छैन, तबसम्म सडकबाट, सदनबाट जहााँबाट पनि साथ दिने बाचा गर्दछु।’
सभापति लामिछानेसँग शुक्रबार राती भएको भेटपछि आफ्नो बचत रकम फिर्ता पाउनेमा पीडितहरू आशावादी देखिएका छन्। लामिछानेले संसददेखि सडक, प्रहरीलगायत निकायमा आफैं गएर आवाज उठाउने र पीडितको रकम फिर्ता गराएरै छाड्ने उद्घोष गरेकाले आफूहरू आशावादी भएको पीडीतका संयोजक श्रेष्ठले बताउँछन्।
‘हामीलाई न्याय दिलाउन रवि लामिछाने आफैं लाग्छु भनेर हामीसँग बाचा गर्नुभएको छ, आमसभामा पनि बोल्नुभएको छ,’ उनले भने, ‘उहाँ साँच्चै लाग्नुभयो भने हामीले हाम्रो रकम फिर्ता पाउँला।’
कुनै बेला लामिछाने सेयर रहेको ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं संरक्षक हुन्।
उनकै नेतृत्वमा रहेको समूहले सहकारीबाट एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढी अपचलन गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ। सहकारीमा रकम बचत गरेका १८ हजार सात सय जना सर्वसाधारणले रकम बचत गरेको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ।
सहकारीको बचत रकम अपचलन आरोपमा कोषाध्यक्ष कुमार रम्तेल मात्र प्रहरीले पक्राउ गर्न सकेको छ। संरक्षक जिबी राईसहित १८ जना फरार छन्।
उनीहरुलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूलाई बिगोअनुसार जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गर्दै असोज १९ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।