नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न भएर उद्घाटन गरिएको डेढ वर्षसम्म पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नभएकोप्रति आपत्ति प्रकट गरेका छन्।
उनले सरकारकै बेवास्ताका कारण विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरूले उडान नगरेको बताएका छन्। निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालनन गर्न नसक्ने सरकारबाट अरू विकास निर्माणका कामको अपेक्षा गर्न नसकिने पनि उनले बताए।
बिहीबारदेखि बुटवलमा सुरू भएको 'लुम्बिनी एक्स्पो एवं अन्तर्राष्ट्रिय व्यापार मेला' उद्घाटन गर्दै नेता पौडेलले बनेको विमानस्थल चलाउन नसक्ने सरकारबाट कुनै कामको अपेक्षा गर्न नसकिने बताए।
'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरकारकै कारण सञ्चालन हुन सकेको छैन। सिंगो सरकार, सम्बन्धित मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणमा रहेका जिम्मेवार व्यक्तिहरूले विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्ने हो,' पौडेलले भने।
रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद समेत रहेका उपाध्यक्ष पौडेलले राज्यको धेरै लगानी र मेहनत खर्च गरेर बनाइएको विमानस्थल सञ्चालन गरेरै छाड्ने दाबी गरे।
'हामीले धेरै मेहनत गरेर बनाइएको विमानस्थल हो यो। व्यवसायीहरूलाई चिन्ता नलिन आग्रह गर्छु। यसलाई आकर्षक विमानस्थलका रूपमा अघि बढाएरै छाड्छौं,' उनले भने।
नेता पौडेलले वर्तमान सरकार सुशासन, विकास निर्माण लगायत हरेक क्षेत्रमा असफल भएको दाबी गर्दै असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए। निर्माणाधीन बुटवल-नारायणगढ सडक निर्माणमा पनि ढिलासुस्ती र लापरबाही भए पनि सरकारमा रहेकाहरूले तमासा हेरेर बसेको आरोप उनले लगाए।
त्यस्तै मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने पौडेलले बताए।
'सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा पर्दै गएको छ। अहिले मुलुकमा उत्पन्न संकटको प्रमुख जिम्मेवारी सरकारले लिनुपर्छ,' उनले भने।
पौडेलले तीनै तहका सरकारमा देखिएका समस्याको जिम्मेवारी लिँदै समाधान खोज्ने काम पनि तीनै तहका सरकारले लिनुपर्ने बताए।
'जुन तहका सरकारमा समस्या देखा परेको छ, त्यसको जिम्मेवारी र समस्या समाधान पनि सम्बन्धित तहले नै गर्नुपर्छ। एकअर्कालाई दोष देखाएर कोही पनि उम्किन मिल्दैन,' पौडेलले भने।
एमाले उपाध्यक्ष पौडेलले बुटवलको ६ लेन सडक निर्माण र लुम्बिनी प्रादेशिक अस्पतालको टेन्डर आह्वान प्रक्रियामा भइरहेको ढिलाइप्रति पनि आक्रोश पोखे।
'सिंगो प्रदेशकै गौरवको आयोजनाको रूपमा अगाडि सारिएको लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि तत्काल टेन्डर आह्वान गरियोस् र बुटवललाई गिज्याइरहेको मुख्य बजार क्षेत्रको ६ लेन सडक निर्माण तत्काल अगाडि बढाइयोस्,' उनले भने।
पौडेलले सरकारमा बस्नेहरूले रमिता हेर्ने गरेकै कारण विकास निर्माणका आयोजना ठप्प बनेको आरोप लगाए।
वर्तमान सरकारले विकास आयोजनाहरू ठप्प पारे पनि बुटवल र सिंगो रूपन्देहीलाई विकासको रोल-मोडलका रूपमा अगाडि बढाउने आफ्नो अभियान नरोकिने उनले बताए।
'यसै क्षेत्रको जनप्रतिनिधिको हैसियतले यहाँका विकास आयोजना रोकिन दिने छैन र जनताप्रतिको विश्वास पनि टुट्न दिने छैन। निर्माणाधीन विकासका सबै आयोजना पूरा गरेरै छाडिने छ,' पौडेलले भने।
आगामी फागुन महिनाभित्र झुम्सा खोलाको खानेपानी बुटवलको रामफेदीमा झार्ने दाबी पनि उनले गरे।
'झुम्सा खोलाको पानी बुटवलमा झार्ने वर्षौंदेखिको सपना दुई महिना भित्रमा पूरा हुँदैछ। माघमा अलि चिसो होला। फागुनभित्र झुम्सा खोलाको खानेपानी रामफेदीमा झारिने छ,' उनले भने।