समाजवादीमा उमेरहद विवाद
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वि.सं. २००९ साल फागुन २३ गते जन्मेका हुन्। सम्मानित नेता झलनाथ खनालको जन्म २००६ साल चैत ६ गते भएको हो।
अध्यक्ष नेपालभन्दा तीन वर्ष पाका नेता खनाल तीन वर्षअघि नै ७० वर्ष पुगिसके। अध्यक्ष नेपाल पनि आउँदो फागुन २३ गते ७२ वर्ष टेक्दैछन्।
राष्ट्रिय सभा निर्वाचन तयारी देखाउँदै पार्टीको महाधिवेशन मदन–आश्रित स्मृति (जेठ ३) मा पुर्याएको समाजवादीले उमेर हदको बहसलाई करिब टुंगो लगाएको छ।
पार्टीको ७० औं सचिवालय बैठकले ७० वर्षमाथिका नेताहरू पनि केन्द्रीय कमिटीमा अटाउने निर्णय गरेपछि उमेर हदको बहस विधान अधिवेशनसम्म सेलाउने भएको छ।
सुरूमा अध्यक्ष नेपाल निर्धारित मिति अर्थात् माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने अडानमा थिए। तर अर्का नेता खनालले माघ हैन वैशाख या जेठमा गर्ने प्रस्ताव अघि सारे।
मंगलबारको बैठकमा पनि अध्यक्ष नेपालको तर्फबाट उमेरहद हटाउनुपर्ने प्रस्ताव उपमहाचिव गंगालाल तुलाधरले गरेका थिए।
यसको अर्थ अब एकीकृत समाजवादीको नेतृत्वका लागि अध्यक्ष नेपाल र नेता झलनाथ खनालका बीचमा प्रतिस्पर्धा हुनेछ। उनीहरू नै आपसी प्रतिस्पर्धामा उत्रिँदा नेतृत्वमा आउन चाहने नयाँ नेताहरूका लागि स्वाभाविक रूपमा बाटो बन्द हुनेछ।
उसो त मंगलबारको बैठकमा नेता तुलाधरले उमेरहद ७५ पुर्याउने कि भनेर प्रस्ताव पनि गरेका थिए। ७० वर्षको हदबन्दी तोक्नुपर्छ भन्दै आएका महासचिव घनश्याम भूसालले भने त्यसको प्रतिवाद गरेका थिए।
‘उपमहासचिव गंगालालजीले दुई जना सिनियर लिडरसीप व्यवस्थापन गर्नैपर्ने भयो। उमेरहद ७५ वर्षलाई तोकौं न त भन्नुभएको थियो,’ समाजवादीका एक नेताले सेतोपाटीसँग भने, ‘घनश्यामजीले नेताहरूको व्यवस्थापन गर्ने भए ठीक छ यसपालि ७५ बनाऊँ, अर्को पटक ८० पुर्याउँला भन्नुभयो।’
भूसालले बैठकमा विश्वका कुनै पनि कम्युनिष्ट नेतृत्वले सजिलै पार्टीको सत्ता हस्तान्तरण गरेको इतिहास नभएको बताउँदै आफ्नोमा पनि कुन नयाँ कुरा भयो र! भनेका थिए। यद्यपि समाजवादीले उमेरहद नराख्ने निर्णय गरेर महाधिवेशनको मिति तय गरिसकेको छ।
नेता खनालले आफूहरूले उमेर हदको व्यवस्था हटाएर अघि बढिसकेको बताए।
‘७० वर्षे उमेरहद अब करिब–करिब असान्दर्भिक भइसक्यो, एमालेले ल्याएको हो, उसले पनि हटाइसक्यो। हामीले राख्नुको अर्थ भएन,’ खनालले सेतोपाटीसँग भने।
२०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनमा नै एमालेले दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्वमा बस्न नपाइने र ७० वर्ष भएपछि सक्रिय राजनीतिबाट स्वतः अवकाश लिनुपर्ने निर्णय गरेको थियो।
महाधिवेशनमा कार्यवाहक महासचिवका रूपमा यो प्रस्ताव पेश गर्दा झलनाथ खनाल ५८ वर्षका थिए।
उमेर हदकै कारण नेताहरू भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले एमालेको सक्रिय राजनीतिबाट संन्यास लिएका थिए। उसो त एमालेमा पनि खनाल र नेपालले विभिन्न चरणमा गरेर क्रमश: १३ र १५ वर्ष नेतृत्व गरेका थिए।
खनाल २०३९ देखि २०४६ र २०६५ सालदेखि २०७१ सालसम्म सो पार्टीको नेतृत्वमा थिए। नेपाल २०५१ देखि २०६५ सालसम्म एमालेको नेतृत्वमा थिए।
तर ०६२/६३ सालको राजनीतिक आन्दोलन र परिवर्तनपछि पार्टीमा हस्तक्षेपकारी युवा नेताहरूको वर्चश्व बढिरहेको भन्दै एमालेले ७० वर्षीय उमेर हदको प्रावधान ल्याएको थियो।
अर्को, २०६४ सालको संविधानसभा चुनावमा एमालेको पराजयपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ र युवाको आकर्षण बढाउनुपर्छ भनेर पनि एमालेले उक्त निर्णय गरेको थियो।
तर समाजवादी पार्टीलाई एमालेकै निरन्तरता हो भनेर व्याख्या गर्ने र त्यतिखेर उमेर हदको प्रस्ताव ल्याउनेहरू स्वयंले उमेरहद नराख्ने भनेपछि समाजवादी पनि आलोचनामुक्त भने हुन सकेन।
तर युवाहरूका लागि आफूहरूले बाटो बन्द नगरेको दाबी नेता खनालको छ।
‘हामीले व्यापक युवा ल्याउँछौं, पार्टी बुढापाकाले कब्जा गरिरहनुपर्छ भन्नेमा हामी पनि छैनौं,’ खनालले भने, ‘नेतृत्वमै पुग्न सक्ने युवा बढाएर ल्याएपछि हामीलाई अरू व्यवस्था गरिरहन जरूरी पनि छैन।’
केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षसम्मका युवाको ३० प्रतिशत, ४० देखि ६० वर्षसम्मको ६० प्रतिशत र ७० वर्षभन्दा माथिको १० प्रतिशत प्रतिनिधित्व व्यवस्था समाजवादीले गरेको छ।
युवादेखि वृद्धसम्म अटाउने गरी संरचना बनाइएकाले युवाहरूलाई पार्टीमा झन् अवसर भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
यसअघि एमालेले गत जेठ १९ गते कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेरहद हटाएको थियो। एमालेले एकीकृत समाजवादीबाटै आएका मुकुन्द न्यौपानेलाई केन्द्रीय कमिटीमा ल्याउन कारण देखाए पनि खासमा अध्यक्ष ओलीलाई सजिलो बनाउन उमेर हदको गाँठो फुकाएको हो।
विधान संशोधन कि केन्द्रीय कमिटीको दुई तिहाइले गर्न सक्छ, कि विधान अधिवेशन नै आवश्यक पर्छ। त्यसैले एमालेले चाहिँ अहिले निलम्बन मात्रै गरेको बताउँदै आएको छ।