नेपाली कांग्रेस पाल्पाले तानसेन नगरपालिकाको भवनमा पार्टीका झण्डा टाँगेर कार्यक्रम गरेपछि त्यसको विरोध गरिएको छ। नेपाली कांग्रेस पाल्पाले प्रथम जिल्ला सम्मेलनका लागि गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा रहेको सभाहल भाडामा लिएको थियो।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा उपस्थित भएका थिए। नगरपालिकाको भवनको तल्लो तलामा रहेको सभाहल भाडामा लिएको नेपाली कांग्रेसले नगरपालिकाको भवनभरी नै पार्टीका झण्डा र तुल व्यानर टाँगेर कार्यक्रम गरेपछि नगरपालिका भवनको चरम दुरूपयोग गरेको भन्दै त्यसको विरोध गरिएको हो।
तानसेन टुँडिखेलको उत्तरतर्फ रहेको नगरपालिकाको भवनमा नगरपालिकाको बोर्डलाई कपडाले छोपेर नेपाली कांग्रेसले पार्टीका झण्डा र व्यानर टांगेको थियो। नेपाली कांग्रेसले सम्मेलनको लागि तल्लो तलाको हलमा मूल ब्यानर टाँगेर कार्यक्रम सुरू गरे पनि प्रमुख अतिथी थापाको सम्बोधनको लागि भने नगरपालिकाको कार्यालय रहेकै माथिल्लो तलाको बार्दली प्रयोग गरिएको थियो।
थापाको सम्बोधनको लागि पोडियमदेखि साउण्ड सिष्टम लगायतको व्यवस्था बार्दलीमै गरिएको थियो। माथिल्लो तलामा टाँगिएको नगरपालिकाको बोर्डलाई कपडाले ढाकिएको थियो भने पार्टीका झण्डा र माला लगाइएका दिवंगत नेताहरूका तस्बिरसँगै राखिएको पोडियममा उभिएर महामन्त्री थापाले सम्बोधन गरेका थिए।
नगरपालिकाको भवनको चरम दुरूपयोग गर्दै गरिएको कार्यक्रमबाट महामन्त्री थापाले सरकार र पार्टीभित्र सुशासन कायम हुन नसक्दा अराजकता मौलाएको भन्दै भाषण गरेका थिए।
नगरपालिकाले राजनीतिक पार्टीको जिल्ला सम्मेलनको लागि सिंगो कार्यालय भवन नै उपलब्ध गराएर सत्ताको दुरूपयोग गरेको भन्दै चर्को आलोचना भइरहेको छ।
नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुरास आत्रेयले नगर प्रमुखले राजनीतिक दलको कार्यक्रमलाई सिंगो कार्यालय भवन नै उपलब्ध गराएर सत्ता र शक्तिको दुरूपयोग गरेको बताए।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। आत्रेयले सरकारी कार्यालयमा उक्त कार्यालयको बोर्ड छोपेर पार्टीका झण्डा र तुल ब्यानर टाँगेर कार्यक्रम गर्न दिनु लज्जास्पद भएको बताए।
नगरपालिकाका प्रमुख श्रेष्ठले भवनको तल्लो तलामा रहेको सभाहल भाडामा दिएको र शनिबारको दिन कार्यालय बन्द भएको समयमा आफूलाई सोध्दै नसोधी बार्दली समेत प्रयोग गरेको बताए।
नगर प्रमुख श्रेष्ठले कार्यक्रमको दिन आफू पाल्पामै नभएको र यसबारेमा पछि मात्रै थाहा पाएको बताए।
‘नगरपालिकाको सभाहल भाडामा दिइएको थियो, महामन्त्री बोल्ने बेलामा धेरै भीड भयो भनेर माथिल्लो तलामा रहेको बार्दलीमा लगिएको रहेछ,’ उनले भने।
नगरपालिकाको बोर्ड ढाकेर पार्टीका झण्डा र ब्यानर टांग्दा पनि आफूलाई नसोधिएको उनले बताए।
‘यसबारेमा नगरपालिकालाई सोधिएकै थिएन, तल्लो तलामा रहेको सभाहल भाडामा लिएर माथिल्लो तलामा झण्डा र बोर्ड टाँग्छन् होला भन्ने पनि लागेन,’ श्रेष्ठले भने।
नगरप्रमुख श्रेष्ठले यसबारेमा नेपाली कांग्रेस पाल्पाले गल्ती स्वीकार गरी माफी मागेको बताए।
‘कार्यालय बिदा रहेको बेला हल भाडामा लिएर सिंगो भवन नै दुरूपयोग गरेको जिम्मेवारी नेपाली कांग्रेस पाल्पाले लिनुपर्छ, मैले पनि तपाईंहरूले गर्न नहुने काम गर्नुभयो भनेर सोधेँ, मानिसहरूको धेरै भीड भएपछि रोक्न सकिएन गल्ती भयो भन्नुभयो,’ उनले भने।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महामन्त्रीलाई बार्दलीबाट भाषण गराउने आफूहरूको नियत नभए पनि धेरै भीड भएकोले बार्दलीमा लैजानुपरेको बताए।
नगरपालिकाको बोर्ड ढाकेर पार्टीका झण्डा र ब्यानर टाँगेको विषयमा यसअघि पनि सामुदायिक विद्यालय, विभिन्न संघसंस्था र पालिकाका भवनमा समेत कार्यक्रम हुँदै आएकोले यसलाई पनि सोही अनुसार लिनुपर्ने बताए।