सरकारमा सहभागी मन्त्रीहरूका कामकारबाहीबारे गुनासो आएपछि नेपाली कांग्रेसले समीक्षा गर्ने भएको छ।
महामन्त्री गगन थापाका अनुसार पुस १२ गतेदेखि हुने केन्द्रीय समिति बैठकमा मन्त्रीहरूका कामबारे समीक्षा हुनेछ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पुस १२ देखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको छ। यो बैठक मुख्यगरी संघीय मन्त्रीहरूका कामको समीक्षामा केन्द्रित रहने थापाले बताए।
बैठक करिब तीन दिनसम्म चल्नेछ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान गठबन्धन सरकारमा कांग्रेसका नौ जना मन्त्री छन्।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको थियो। खड्का उपप्रधान तथा रक्षामन्त्री छन्।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि मन्त्रीहरूका कामबारे पार्टीले समीक्षा गर्न लागेको सेतोपाटीलाई बताए।
प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउने हो भन्ने प्रश्नमा उनले यसबारे पार्टीभित्र छलफल गरी आवश्यक निर्णय लिइने बताए।
प्रधानमन्त्री दाहालले सरकार गठन भएको वर्षदिनपछि नयाँ ढंगबाट अघि बढ्न चाहेको गठबन्धनका शीर्ष नेताहरूसँग बताउने गरेका छन्।
प्रचण्ड ०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनपछि मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे गठबन्धन नेताहरूसँग कुराकानी गरेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवा अहिले नै मन्त्रिपरिषद पुनर्गठन गर्न नहुने पक्षमा उभिएको स्रोतको भनाइ छ।
अहिलेको सरकारमा कांग्रेसबाट उपसभापति धनराज गुरूङ कानुन मन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, एनपी साउद परराष्ट्र मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री, रमेश रिजाल उद्योग मन्त्री, सीता गुरूङ सहरी विकास मन्त्री, डिगबहादुर लिम्बू खेलकुद मन्त्री, सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्।
कांग्रेसबाट संघीय सरकारमा मन्त्री बनेकाहरूले पार्टीसँग समन्वय नगरेको केन्द्रीय सदस्यहरूले गुनासो गर्दै आएका छन्। अर्थमन्त्री महत लगायतले पार्टीका नेताहरूसँग समन्वय नगरेको केन्द्रीय सदस्यहरूले गुनासो गरेका थिए।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणसमेत गरिनेछ।
अर्थमन्त्री महतले भने कांग्रेसका मन्त्रीहरूले सरकारमा रहेर राम्रो काम गरिरहेको दाबी गरे। ‘मन्त्रीहरूका कामकारबाहीबारे कांग्रेसमा कसैले प्रश्न उठाउने ठाउँ छैन,’ महतले भने, ‘कामबारे नियमित समीक्षा भइराख्छ, यो स्वभाविक हो। तर मलाई थाहा छैन कि, कांग्रेसका मन्त्रीहरूले काम गरेनन् भनेको कहीँ छ? त्यस्तो त मैले सुनेको छैन।’
उनले सेयर बजार बढेको, जग्गा कारोबार बढेको, व्याजदर घटेको र आर्थिक गतिविधि बढिरहेको दाबी गरेका छन्।