नेपाली कांग्रेसका नेता शेखर कोइराला र गगन थापालाई एकै समूहमा राख्ने जमर्को भएको छ।
संस्थापनइतर नेताहरूलाई एकढिक्का बनाउन पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतले प्रयास गरेका हुन्।
०७८ मंसिरको १४ औं महाधिवेशनमा कोइराला र थापा एकै समूहबाट चुनाव लडे। सभापतिमा शेरबहादुर देउवासँग कोइराला पराजित हुँदा थापा भने महामन्त्री चुनिएका थिए।
महाधिवेशन भएको दुई वर्ष पुग्दानपुग्दै कोइराला र थापाबीच पटक-पटक सम्बन्ध चिसिएको छ।
कोइरालाले सरकारमा मन्त्री पठाउँदा र कोशीमा केदार कार्कीलाई नेकपा (एमाले) सँग मिलेर मुख्यमन्त्री बनाउँदा सरसल्लाह नगरेकोमा थापा असन्तुष्ट छन्।
पछिल्लो समय कोइरालाले आफूपक्षका नेताहरू (केन्द्रीय सदस्य र सांसद) को बैठक बोलाउँदा थापासँग सल्लाह गरेका थिएनन्। कोइरालाले मंगलबार दिउँसो आफू पक्षका नेताहरूसँग छलफल गर्ने तयारी गरे पनि थापा नआउने भएपछि आलोचना भएको थियो।
महामन्त्री थापा जनकपुरको कार्यक्रममा जाने दिन पारेर कोइरालाले बैठक राखेको भन्दै समूहभित्रैबाट असन्तुष्टि आएपछि मंगलबार छलफल गरी एक दिन बैठक धकेल्ने समझदारी बनेको थियो।
नेता कोइरालानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार लामो समयको मौनता तोड्दै नेता कोइराला र महामन्त्री थापाबीच मंगलबार संवाद भएको छ। नेता अर्जुननरसिंह केसी निवास बुढानिलकण्ठ इटालीटारमा कोइराला र थापाबीच कुराकानी भएको हो।
‘कोइराला र थापाबीच मन माझामाझ भयो। संवाद गरी अघि बढ्न दुवै नेता तयार देखिनुभयो,’ ती नेताले भने। यो छलफलपछि बुधबारको बैठकमा जान थापा राजी भएका थिए।
केन्द्रीय सदस्य मधु आचार्यले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापनइतर समूहको बैठक बस्ने बताए। ‘महामन्त्री थापा पनि बैठकमा आउनुहुन्छ, आज उहाँ अन्यत्रै कार्यक्रममा जानुपर्ने भएकोले भोलिका लागि बैठक तय गरिएको छ,’ उनले भने।
महासमिति बैठक, राष्ट्रिय सभा चुनाव, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी सामूहिक धारणा बनाउन बैठक राखिएको हो। कांग्रेसले मंसिर २९ मा केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेको छ। उक्त बैठकमा महासमिति बैठक सार्ने तयारी गरेपछि संस्थापनइतर समूहले छलफल गर्न लागेका छन्।
गत भदौ १७ गते पनि केसी निवास इटालीटारमा संस्थापनइतर समूहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि जोड्ने गरी छलफल भएको थियो। तर उक्त छलफलले सार्थकता पाएको छैन।
असोज २ मा नेता कोइरालाले बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा भएको बैठकमा महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई बोलाएका थिए। तर उनीहरू आएनन्। शर्मा र पौडेलले पछि हुने भेलामा आफूहरू सहभागी हुने बताएको त्यसबेला कोइरालाले 'बिफ्रिङ' गरेका थिए।
नेता कोइराला र महामन्त्री थापा दुवै १५ औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारीमा छन्। यो कुरा एकले अर्कालाई औपचारिक रूपमा भनेका भने छैनन्।
आ-आफ्नो ढंगले उनीहरूले महाधिवेशन तयारी गरेका छन्। ०८२ मंसिरमा महाधिवेशन गर्ने तयारी कांग्रेसको छ। अब हुने महासमितिमा महाधिवेशन मिति प्रस्ताव गर्ने तयारीमा महामन्त्री थापा छन्।
शेखरसँग गगन असन्तुष्ट हुनाका तीन कारण
एकै समूहमा रहेका शेखर र गगनबीच तीन कारणले सम्बन्धमा चिसोपन देखिएको छ।
पहिलो- संसदीय दल नेताको चुनावमा संस्थापनइतर समूहकै सांसदको भोट नआउनु हो।
०७९ पुस ६ मा भएको संसदीय दल नेता चुनावमा सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाले प्रतिस्पर्धा गरेका थिए। देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत मात्रै ल्याए।
जबकि संस्थापनइतर समूहमा कम्तिमा ३२ जना सांसद थिए। त्यसमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि थापातिरै खुलेका थिए।
थापाले कम्तिमा ४० मत ल्याउने अपेक्षा गरेका थिए तर आयो २५ मात्रै। संस्थापनइतर समूहभित्र संसदीय दल नेतामा शेखर उठ्नुपर्छ भन्ने मत पनि थियो। शेखर उठ्नुपर्छ भन्ने सांसदहरूले थापालाई मत नदिई देउवालाई दिँदा थापाको मत कम आएको थियो।
त्यसैबेला आफ्नै समूहभित्रका सांसदहरूले अहसयोग गरेको थापाले महसुस गरेका थिए।
दोस्रो- सरकारमा मन्त्री पठाउँदा कोइरालाले थापासँग सल्लाह नगर्नु हो। संस्थापनइतर समूहबाट उपसभापति धनराज गुरूङ, सुरेन्द्र आचार्य र डिगबहादुर लिम्बू मन्त्री छन्। कोइरालाले देउवालाई 'खुसुक्क मन्त्री बनाउन यी नेताहरूको नाम दिएको' थापा पक्षको भनाइ छ।
यो कुरा केही हदसम्म कोइरालाले पनि स्वीकार गरेका छन्। गत भदौ २२ गते पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले मन्त्री नाम दिने बेला महामन्त्री थापालाई जानकारी नगराउनु गल्ती भएको बताएका थिए।
आफू र महामन्त्री थापाबीच बेमेल नरहेको दर्शाउन उनले भनेका थिए-
‘कहिलेकाहीँ कुनै विषयमा म र गगनबीच पनि फरक मत हुन सक्छ। गगन एग्रेसिभ छन्, म अलि मध्यमार्गी छु। उमेरले पनि काम गर्दो हो। मभन्दा गगन करिब २६ वर्ष कान्छा छन्, युवा जोश, जाँगर अर्कै हुन्छ! तर एजेन्डामा म र गगन एकै ठाउँमा छौं।
मन्त्री बनाउने बेला सल्लाह नगरेका जस्ता कुरा आउँछन्, सभापति देउवाले तीन जना मन्त्री दिन्छु भन्नुभएको हो। गगनसँग छलफल गरेरै नाम दिएको हो तर नाम दिने बेला गगनलाई जानकारी नगराउनु मेरो गल्ती भयो। म आँखाको उपचारका लागि विदेश जानुपर्ने भएकोले पनि हतारले गर्दा जानकारी दिन सकेको थिइनँ।’
तेस्रो- कोशी घटना हो। शेखर कोइरालानिकट कोशीका आठ कांग्रेस सांसदले नेकपा (एमाले) का ३९ सांसदसँग मिलेर कोशीमा केदार कार्कीलाई मुख्यमन्त्री बनाएका थिए। कोइरालानिकट कार्की नयाँ गठबन्धन बनाउँदै असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
कोशीको मुख्यमन्त्री माओवादीलाई छाड्ने सहमतिविरूद्ध कोइराला पक्षले 'विद्रोह' गरेका थिए। त्यसबेला सभापति देउवा, महामन्त्री थापा र शर्मासहित पार्टी निर्णय कार्यान्वयन हुनुपर्ने अडानमा थिए।
तर कार्की मुख्यमन्त्री हुने भएपछि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र कोइरालाबीच छलफल गर्दै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति भएको थियो। मुख्यमन्त्री कार्कीलाई केन्द्रमा सरकार बनाएको सत्ता गठबन्धनका दलका सांसदहरू र एमालेले पनि विश्वासको मत दिएको थियो।
कांग्रेसभित्र यो घटना अझै सेलाएको छैन भन्ने ओखलढुंगा जिल्ला सम्मेलनले देखाउँछ। मंसिर १९ गते ओखलढुंगामा भएको कार्यक्रममा मुख्यमन्त्री केदार कार्की मञ्चमा रहेका महामन्त्री थापाप्रति 'चर्को' सुनिए।
‘अरूले नै लगेको मुख्यमन्त्री हामीले खोसेर ल्याउँदा केही मानिसलाई पचेन,’ महामन्त्रीद्वय थापा र शर्माप्रति लक्षित गर्दै मुख्यमन्त्री कार्कीले भनेका थिए, ‘कांग्रेसको शिर उचो बनाउन विद्रोह गरिएको थियो, तर केहीलाई पचेन, बमिट आयो, हुटहुटी भयो।’
मुख्यमन्त्री माओवादीलाई छाड्न हस्ताक्षर गरेका सभापति शेरबहादुर देउवाप्रति भने मुख्यमन्त्री कार्की नरम देखिए।
‘शेखर दाइ र गगनजीलाई भन्न चाहन्छु, आदरणीय सभापतिले काम गरिराख्नु भएको छ, सम्मानसाथ बिदाइ गरिदिऔं। महामन्त्रीहरूले परिपक्कता देखाउन सक्नुभएको छैन,’ भनेका थिए। पछि महामन्त्री थापाले उनलाई 'जिम्मेवारीअनुसार काम गर्न र छाडा नहुन' आग्रह गरेका थिए।