सिंहदरबारस्थित पररराष्ट्र मन्त्रालयको सचिवको कार्यकक्षमा अहिलेसम्मका सबै सचिवहरूको तस्बिर लस्करै टाँसिएको छ।
सन् १९४८ मा पहिलो परराष्ट्र सचिव भएका सरदार नरेन्द्रमणि आचार्य दीक्षितदेखि भर्खरैमात्रै अवकाश पाएका भरतराज पौड्यालसम्मका तस्बिरमा सरसर्ती आँखा दौडाउँदा महिला भने एकजना पनि भेटिँदैनन्।
परराष्ट्र मन्त्रालय गठनको ७२ वर्षमा २४ जना सचिवले नबनाएको इतिहास अब बन्दैछ।
सन् १९९८ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी सेवा लम्साल जागिरे जीवनको २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको कुर्सीमा बस्दैछिन्।
गत मंसिर १९ गते सचिव भरतराज पौड्यालको समयावधि समाप्त भएसँगै उनले निमित्त सचिवको जिम्मेवारी भने लिइसकेकी छन्।
लोक सेवा आयोगले पनि उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ।
सम्भवतः आउँदो मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र सचिव बनाउने छ।
परराष्ट्र सचिवमा बढुवा हुने निश्चित भएसँगै पुरूषहरूले मात्रै सम्हालिरहेको प्रशासनतर्फको परराष्ट्रको नेतृत्व महिलाको काँधमा आएको छ। योसँगै लम्सालले पहिलो परराष्ट्र सचिव भएर इतिहास रच्दैछिन्।
तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्यालले परराष्ट्रमा पहिलो महिला सचिव आउनु सिंगो कर्मचारीतन्त्रकै गर्वको विषय भएको बताए।
‘यो एकदमै सुखद कुरा हो,’ पौड्यालले सेतोपाटीसँग भने,‘नेपालको कर्मचारीतन्त्रमा पनि परिवर्तन भइरहेको छ भन्ने राम्रो उदाहरण पनि हो।’
पहिलो परराष्ट्र मन्त्री भने सन् २००७ मा सहाना प्रधान भएकी थिइन्।
त्यसपछि पनि सन् २००९ मा सुजाता कोइराला र गत वर्ष विमला राई पौडयाल परराष्ट्रमन्त्री भएका थिए। २८ जना मन्त्रीमा ३ जनामात्रै महिला मन्त्री हुनु खास ठूलो उपलब्धी त होइन यद्यपि कर्मचारी प्रशासनभन्दा राजनीतिक नेतृत्व केही हदसम्म अघि देखिएको चाहिँ हो।
अहिलेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद २९ औं मन्त्री हुन्। पहिलो महिला सचिव भए पनि लम्साल २५ औं परराष्ट्र सचिव हुन्।
परराष्ट्र सेवामा भने लम्साल उपसचिवका रूपमा प्रवेश गरेकी थिइन्। पासपोर्ट विभागबाट परराष्ट्रको करिअर सुरू गरेकी उनी सन् २०१६ देखि २०२० सम्म पाकिस्तानका लागि नेपाली राजदूतका रूपमा काम गरेकी थिइन्। त्यसबेला उनले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी लिएकी थिइन्।
२०२० मा नेपाल फर्किएपछि भने लम्सालले संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय संघसंस्थाहरू र अन्तर्राष्ट्रिय कानुन विभागमा काम गर्दै आएकी थिइन्।
सचिवको जिम्मेवारी सम्हालेसँगै अब लम्सालले परराष्ट्र मन्त्रालय अन्तर्गतका ३५८ जना कर्मचारीको नेतृत्व लिनेछिन्।
लम्सालले विभिन्न राष्ट्रहरूका दुई पक्षीय तथा बहुपक्षीय बैठक, विभिन्न सम्मेलन र सम्झौताहरूमा पनि आफ्नो नेतृत्वदायी उपस्थिति जनाइसकेकी छन्। पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले परराष्ट्र सचिवमा पहिलोपटक महिला आउनु खुसीको विषय भएको बताइन्।