नेपाली कांग्रेसका नेताहरूले कुशासनले जनता आजित भइसकेकोले सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका छन्।
केन्द्रीय सदस्य मीनेन्द्र रिजालले संविधान जारीपछि बनाउनुपर्ने कानुनहरू बनाउन भएका ढिलाइले कठिनाइ पर्ने देखिएको बताए।
‘हामीले देशमा शासनको प्रत्याभूत गर्न सक्नुपर्छ। बनाउनुपर्ने कानुन नबनाएका खण्डमा अझै कठिनाइमा पर्छौं,’ सानेपामा सभापति शेरबहादुर देउवा उपस्थित आइतबारको कार्यक्रममा रिजालले भने।
तीन सय ३० भन्दा धेरै स्थानीय तह जितेको, अधिकांश प्रदेशमा सरकारको नेतृत्व गरेको र संघीय सरकारमा सहभागी ठूलो दल कांग्रेसले सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा रिजालको जोड थियो।
जनतामा देखिएको निराशा हटाउन ठिकसँग शासन चलाउनुपर्ने उनले बताए।
‘आत्तिएर, दौडिएर कस्तुरी कता फेला पर्छ भनेर कांग्रेस हिँड्न जरूरी छैन। हामीले ठिकसँग शासन चलाउन सक्यौं भने जनता हामीसँगै आउँछन्, निराशा चिरेर अघि बढ्ने बागडोरमा हामी छौं,’ रिजालले थपे।
कांग्रेसले शासन कसरी अघि लैजान्छ भनेर आमनागरिकले हेरिराखेको रिजाल बताउँछन्।
‘कांग्रेसको सबैभन्दा ठूलो मास्टर्स बेड रूममा को बस्छ कसैले खोजी गरेको छैन। ठूलो भाग कसले पाउँछ, कसैले खोजेको छैन। खोजी यत्तिको छ- कांग्रेसले शासन कसरी लैजान्छ?,’ रिजालले भने।
उनले 'मिसन २०८४' उच्चारण नगरी त्यसबेलाको चुनावबाट कांग्रेस पहिलो शक्ति र बहुमतसहित सरकार बनाउन सक्ने बनाउनुपर्ने बताए।
‘आत्मविश्वासका साथ काम गरौं, आजका चुनौती समाधान गर्छु भन्यौं भने कसैको मुख हेर्न पर्दैन। बाँकी विषय समयले टुंगो लगाउँदै जाला, चिन्तित नहौं,’ रिजालले भने, ‘०८४ नभनेरै बहुमतको सरकार बनाउन सकिन्छ।’
केन्द्रीय सदस्य रिजालका कुरासँग सहमत देखिए महामन्त्री गगन थापा। थापाले भने, ‘हामी सरकारमा छौं, आजका दिनमा कोही नागरिक भेट्यो भने ऊ कुशासनबाट आजित छ।’
केही समयअघि सुन, त्यसपछि भुटानी शरणार्थी र अहिले एनसेल काण्ड आएको उनले बताए।
‘एकपछि अर्को काण्ड आएका छ। एउटा काण्ड १०/१२ दिन चल्छ, सेलाउन नपाउँदै अर्को काण्ड आउँछ,’ थापाले भने, ‘काण्डहरू कुशासनसँग जोडिएका छन्। कुशासन कि त नियत कि त अयोग्यतासँग जोडिएको छ।’
कांग्रेस सरकारमा भएका बेला र प्रभावशाली भएका बेला यस्ता काण्ड आइरहेको थापाले बताए।
'सुशासन हाम्रो बाचामात्र होइन, त्यसका लागि जन्मेको पार्टी हो,’ उनले भने, ‘हामी सरकार चलाइरहेका बेला कुशासनका यति धेरै घटना किन भइरहेका छन्? समस्या केमा छ, जरासम्म पुगेर खोजौं।'
रिजाल र थापाका कुरा सुनेपछि मञ्चमा पुगेका अहिलेको सरकारका कानुन मन्त्रीसमेत रहेका उपसभापति धनराज गुरूङले पनि सुशासनका कुरा गरे।
‘नेपाली राजनीतिमा सुशासनको खडेरी परेको छ, सुशासनको रोडम्याप ल्याएर मुलुकलाई कांग्रेसले बाटो देखाउनुपर्छ,’ मन्त्री गुरूङले भने।
भ्रष्टाचारका एकपछि अर्का काण्डले 'दिक्क' भइसकेको उनले बताए।
‘जति सफा गर्न खोज्यो उति फोहोर। जति फाइल खोल्यो उति नै फोहोर! कताकता म सुन्छु- मिसन ०८४। तर म भन्छु- मिसन सुशासन,’ उनले भने, ‘चुनावमा जिताइदेऊ भन्ने मात्र मिसन बोक्दा देश बिग्रेको हो।’
उनले पार्टीभित्र वा बाहिर रोइलो नगर्न पनि आग्रह गरे। भने, ‘रोइलो गरेर हुन्न। कांग्रेस बदलिन र यसको संस्कार बदल्न आवश्यक छ। एकले अर्को पार्टीका नेतालाई गाली गर्ने र शत्रु देख्ने प्रवृत्ति गलत छ। हाम्रो साझा शत्रु- गरिबी, भ्रष्टाचार हो। अब सुध्रिएर जाऔं।’
उनले भ्रष्टाचारका काण्डैकाण्डका डंगुर रहेको बताए।
‘सरकारले एकपछि अर्को फाइल खोल्दै जान्छ, झन् ठूलो काण्ड आइपुग्छ। फोहोरको डङ्गुर कति रहेछ?,’ कानुन मन्त्री गुरूङले भने, ‘फोहोरका डङ्गुर सोर्दासोर्दै हात नै गल्छ कि भन्ने भइसकेको छ।’
उनले राजनीति शुद्धीकरण गरेर लैजान आफूले केन्द्रीय समिति र मन्त्रिपरिषदमा पनि सिधासिधा कुरा राख्ने गरेको बताए।
‘पद त आउँछ जान्छ,’ सभापति देउवातिर हेर्दै उनले भने, ‘मेरो पद पनि जान्छ, थाहा छ। हाम्रो सभापति पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, फेरि पद आउँला, जाला। पदमा जरो गाडेर बस्न जरूरी छैन, काम गर्ने हो तर आफ्नै पार्टीबाट असहयोग हो कि जस्तो अनुभूति नहोस्!’