जनकपुरधामका बासिन्दा ध्वनि प्रदूषणबाट हैरान छन्। यहाँ धार्मिक स्थलमा र सामाजिक–सांस्कृतिक कार्यमा लाउडस्पिकर (चर्को ध्वनिको माइक) बज्छ। सवारीसाधनले चर्को हर्न बजाउँछन्।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ‘कानै फुट्ने’ गरी ध्वनि प्रदूषण छ भन्ने जनगुनासो छ। सहरका भित्री बाटो र घना बस्तीमा पनि चालकहरूले चर्को हर्न बजाउँछन्।
जनकपुरधाममा सवारीसाधनको बढी चाप हुने अस्पताल रोड, जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, जनकचोक–भानुचोक सडक, मिल्स एरिया लगायत जनकपुरधामभरि बिहानैदेखि रातिर अबेरसम्म गाडीले चर्को हर्न बजाउँछन्। ठूला गाडीले प्रेसर हर्न बजाउँछन्।
चर्को ध्वनिले राति सुत्न नपाएको भन्ने जनगुनासो छ। अस्पताल र स्कुलमा असर परेको छ। जनकपुर आउने आन्तरिक र बाह्य पर्यटकहरू दिक्क मान्छन्।
सहरी क्षेत्रमा प्रेसर हर्न बजाउन कानूनले रोक लगाएको। जनस्वास्थ्य सेवा ऐन, २०७५ ले ‘ध्वनि, वायु तथा जल प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरणका लागि संघीय कानून बमोजिम नेपाल सरकारले मापदण्ड निर्धारण गर्न सक्ने’ प्रावधान छ ।
कानुन भए पनि जनकपुरधाममा ध्वनि प्रदूषण नियन्त्रणका लागि कसैले चासो देखाएको छैन, स्थानीय सरकारले न प्रहरी प्रशासनले। ट्रफिक प्रहरीले कुनै कदम चालेको छैन। प्रदेश सरकारले चासो दिएको छैन।
धनुषाका ट्राफिक प्रहरी प्रमुख रहेका प्रहरी निरीक्षक शेखरकुमार साह भने जनकपुरमा ध्वनि प्रदूषण नियन्त्रणमै रहेको दाबी गर्छन्। उनी भन्छन्, ‘हर्नले कान खायो भनेर गुनासो गर्न कोही पनि आएको छैन। मलाई जानकारी पनि छैन।’
जनकपुरधाममा व्याप्त ध्वनि प्रदूषण सम्बन्धमा सेतोपाटीले प्रहरी निरीक्षक साहसँग केही जिज्ञासा राखेको छ।
जनकपुरमा सावरीसाधनका कारण हुने ध्वनि प्रदूषणले सास्ती खेप्नु परेको जनगुनासो छ। तपाईंहरूलाई कति गुनासो आउँछ?
जनकपुरमा साधारण हर्नले भन्दा पनि प्रेसर हर्नले दुःख दियो भन्ने मौखिक गुनासो आउने गर्छ। कम्पनीले बनाएको हर्न कानूनबमोजिम स्वीकृत भएको हुन्छ। प्रेसर हर्न राख्न पाइँदैन। हामीले प्रेसर हर्न नियन्त्रण गरिरहेका छौँ।
सवारीसाधनले जथाभावी हर्न बजाउन पाइँदैन भन्ने त कानून–नियम नै छ नि होइन र? तर जनकपुरमा त जथाभावी हर्न बजाएको देखिन्छ/ सुनिन्छ नि?
ध्वनि निषेध गरेको ठाउँमा हर्न बजाउन पाइँदैन। बजारमा पहिलो पटकमा ट्राफिक प्रहरीले तत्काललै पाँच सय रुपैँया जरिवान गर्छ। दोस्रो पटकमा एक हजार रुपैयाँ र तेस्रो पटकमा पन्ध्र सय रुपैँया जरिवाना गर्छ। ‘ट्राफिक भ्वाइलेन्स सिस्टम’ कसुर र जरिवानाको रेकर्ड हुन्छ।
कानून–नियम अन्तर्गत कहिल्यै कसैलाई कारबाही गर्नुभएको छ?
ट्राफिक नियम उल्लंघन गर्ने र प्रेसर हर्न बजाउनेलाई कारबाही भइरहेको छ। प्रेसर हर्न बजाएको कसुरमा दैनिक चार–पाँच जना कारबाहीमा पर्ने गरेका छन्।
ध्वनि प्रदूषणमा पटके कारबाहीमा पर्ने चालकहरू कति हुन्छन्?
एकपटक कारबाहीमा परेको चालक फेरि पर्ने कमै भएको छ। हामी सम्झाएर पठाउँछौँ। सम्झाउँदा पनि नमान्नेलाई जरिवाना गर्छौं।
जनकपुरधाममा ट्राफिक लाइट राखेका छौँ। लाइटको जाममा पर्दा हर्न बजाउनेलाई कारबाही गर्ने गरका छौँ। अटोरिक्साले जथाभावी रोक्ने र हर्न धेरै बजाउने गरेका छन्। हामीले रोक्ने प्रयास गरेका छौँ । ट्राफिक व्यवस्था सुध्रिँदै गएको छ।
कानूनले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गर्न हुँदैन भनेपछि तपाईंहरूले कार्यान्वयन गर्नुपर्ने होइन?
ध्वनि प्रदूषण नियन्त्रण गर्न सबै पक्षको समन्वय आवश्यक पर्छ। उपमहानगरपालिका कार्यालयले पनि हेर्नुप¥यो। मन्दिर, अस्पताल, विद्यालय जस्ता क्षेत्रमा हर्न निषेध गर्नुपर्यो। त्यसका लागि हामी समन्वय गर्दै छौँ। पैदलयात्री पनि सचेत हुनुपर्यो। हामीले सम्झाउँदा सम्झाउँदै पनि मान्छेहरू गाडीकै बाटोमा हिँडिदिन्छन्। यसले गर्दा दुर्घटनाको सम्भावना धेरै हुन्छ। चालकहरूले पैदलयात्रुका लागि हर्न धेरै बजाउँछन्। दुर्घटना हुन नदिन हर्न बजाउँछन्। यही क्रममा हर्नको दुरुपयोग हुने गरेको छ।
जनकपुरधाममा सबैभन्दा धेरै ध्वनि प्रदूषण कता हुने गरेको छ भन्ने तपाईंहरूको विश्लेषण छ?
जनकपुरधाममा भिडभाड धेरै छ। अहिले विवाहपञ्चमी आउन लागेको छ, धेरै भिड हुन्छ। भिडभाडमा दुर्घटना हुनुभन्दा हर्न बजाएर मान्छे जोगाउनु नै राम्रो हो। हर्न बजाउने पनि एउटा एउटा प्रक्रिया हुन्छ। बिस्तारै बजाउँदा पनि पैदलयात्रु सचेत हुन्छ, साइड लाग्छ। चालकले लगातार हर्न बजाएर हैरान पार्नु भएन।
ध्वनि प्रदूषण रोक्न अरू निकायसँग कति छलफल भएको छ?
प्रेसर हर्न हटाउनुपर्छ भनेर हामीले मधेस प्रदेशभर अभियान चलायौँ। करिब १२ सय वटा गाडीबाट प्रेसर हर्न हटायौँ। धनुषाको ट्राफिक कार्यालयले मात्र ३४० वटा हर्न निकाल्यो। जनकपुरधाममा हर्न निषध गर्न उचित हुन्छ कि हुँदैन, कसरी नियन्त्रण गर्ने भन्ने अझै पनि छलफलमै छ।
ध्वनि प्रदूषण नियन्त्रण गर्नमा आइपरेका बाधाहरू के के हुन्?
यहाँ बाधाभन्दा ठूलो सस्या जनशक्तिको छ। ट्राफिक जनशक्ति कम छ। सवारीसाधनको चाप धेरै छ। जनकपुरधाममा एक हजार अटोरिक्सा भए पुग्छ तर यहाँ त करिब ८ हजार वटा छ। जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्सा दर्ता प्रक्रिया सुरु गरेको छ। दर्ता भएपछि नियम पनि आउँछ। हामी चालकहरूका लागि अभिमुखीकरण कक्षा पनि चलाउँछौँ। यसो गरेपछि केही नियन्त्रण हुने विश्वास छ।
अहिले ट्राफिक प्रहरीमा कति जना छन्? आवश्यक जनशक्ति कति हो?
हामी अहिले धनुषा जिल्लाभरि ७०–७५ जना ट्राफिक प्रहरी फिल्डमा खट्छन्। नगरभित्र ३५ देखि ४० जना हुन्छन्। अरू हाइवे र सबैला, धनुषाधाम लगायतका ठाउँमा छन्। सवारीसधानको चाप हेर्दा अहिले जनकपुरधामा मात्र ७०—८० जना ट्राफिक प्रहरी चाहिन्छ। हामी ध्वनि प्रदूषण पूर्ण नियन्त्रण गर्ने प्रयासमा लागेका छौँ। अहिले पनि अत्यधिक प्रदूषण छैन, सामान्य छ। अत्यधिक प्रदूषण भयो भने त सबै निकायहरू मिलेर नियन्त्रण गर्नुपर्छ। यहाँ अहिले नै हर्न निषेध आवश्यक ठानिएको छैन।
अस्पताल, मन्दिर र शिक्षालय भएका ठाउँ वरिपरि पनि एकदमै चर्को हर्न बजेको सुनिन्छ, मान्छेले गुनासो पनि गरिरहेकै छन्, प्रदूषण छैन भन्न मिल्छ?
हस्पिटल र जानकी मन्दिर आसपासमा भिडभाड हुनु स्वाभाविक नै हो। भिडभाड कम गर्न बाटो फराकिलो बनाउनु पर्यो। मान्छेको संख्या बढ्यो, गाडी धेरै भए तर बाटो जस्ताको तस्तै रह्यो। यस्तो अवस्थामा पनि राम्ररी नै चलेको छ। हर्न धेरै भयो भने गुनासो आएको छैन। गुनासो आएको जानकारी मलाई छैन।
साँच्चै ध्वनि प्रदूषण बढ्यो भने सम्बिन्धत निकायसँग समन्वय गरेर हर्न निषेधित क्षेत्र घोषणा गछौँ।