नेपाली कांग्रेसका नेताहरूले समानुपातिक सूचीबाट नाम हटाइदिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।
नेता गोपालमान श्रेष्ठलगायतले समानुपातिक सूचीबाट नाम हटाउन निर्वाचन आयोगमा पत्राचार गरिदिन आग्रह गर्दै निवेदन दिएका हुन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन आकांक्षा राखेका नेताहरूले समानुपातिक सूचीबाट नाम खटाउन पार्टीमा निवेदन दिने क्रम केही दिनदेखि चलिरहेको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ।
०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ नाम समावेश भएका कांग्रेस नेताहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुनका लागि भन्दै धमाधम नाम फिर्ताका लागि निवेदन दिएका हुन्।
समानुपातिक सूचीबाट नाम फिर्ता नलिई राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाइँदैन।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले समानुपातिक सूचीबाट नाम फिर्ता गरिदिन आग्रह गर्दै नेताहरूबाट निवेदन आएको सेतोपाटीलाई बताए।
‘गोपालमान श्रेष्ठसहित नेताहरूले नाम फिर्ताका लागि आग्रहसहित निवेदन दिनुभएको छ,’ उनले भने, ‘अहिले पनि निवेदन आउने क्रम: जारी छ।’
पूर्वउपसभापतिसमेत रहेका गोपालमान राष्ट्रिय सभा सदस्यका आकांक्षी छन्।
यस्तै अनुशासन समिति संयोजकसमेत रहेका केन्द्रीय सदस्य आनन्द ढुंगाना, केन्द्रीय सदस्य अब्दुल सतार र बालकृष्ण पाण्डे लगायतले समानुपातिक सूचीबाट नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन्।
केन्द्रीय सदस्य अब्दुल सतारले समानुपातिक सूचीबाट नाम फिर्ताका लागि पार्टीमा निवेदन दिइसकेको सेतोपाटीलाई बताए। ‘समानुपातिक सूचीबाट नाम फिर्ता लिइदिन पार्टीमा निवेदन दिएको हुँ। राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विभिन्न तयारी पनि गर्दैछौं,’ उनले भने।
मुख्यसचिव पौडेलका अनुसार सबैको निवेदन प्राप्त भइसकेपछि यसबारे केन्द्रीय समितिमा छलफल र आवश्यक निर्णय हुन्छ। ‘केन्द्रीय समितिले पारित गरेपछि मात्रै नाम फिर्ताका लागि निर्वाचन आयोगमा लेखी पठाउँछौं,’ उनले भने।
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार कुनै सदस्यको नाम फिर्ता लिनुपरे पार्टीले पत्र लेखेर आयोगलाई आग्रह गर्ने व्यवस्था छ। ‘....सम्बन्धित दलले कुनै उम्मेदवारको नाम हटाउन लेखी पठाएमा आयोगले बन्द सूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्नेछ,’ निर्देशिकाको २८ औं बुँदामा उल्लेख छ।
राष्ट्रिय सभा चुनावलाई कांग्रेसको तयारी के छ?
कांग्रेसले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धनलाई कायमै राख्ने भएको छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारमा सामेल गठबन्धन दलहरूबीच राष्ट्रिय सभा चुनावमा पनि तालमेल हुने बताए।
राष्ट्रिय सभामा ६ वर्ष पदावधि भएका २० जना सांसदको कार्यकाल आउँदो फागुनमा सकिँदैछ।
‘सत्ता गठबन्धनबीच राष्ट्रिय सभा चुनावमा पनि तालमेल गर्ने समझदारी छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले सेतोपाटीसँग भने, ‘अहिले कसले कति सिट लिने भन्ने सन्दर्भमा छलफलमा पुगिसकेका छैनौं, समय छ।’
फागुनमा कार्यकाल सकिने २० सांसद कुन दलका कति?
फागुनमा कार्यकाल सकिने राष्ट्रिय सभाका सांसदहरूमा नेकपा एमालेका सबैभन्दा बढी छन्। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९ जना सांसदको पदावधि सकिँदैछ।
एमालेबाट इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरूङ, दिलकुमारी रावल थापा, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको पदावधि फागुनमा सकिन्छ।
यस्तै नेपाली कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजंग रायमाझीको पदावधि सकिँदैछ।
नेकपा माओवादी केन्द्रका महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरीको पदावधि फागुनमा सकिन्छ।
नेकपा (एकीकृत समाजवादी) का सिंगबहादुर विश्वकर्मा र नन्दा चपाईंको पदावधि सकिँदैछ भने शिक्षा राज्यमन्त्रीसमेत रहेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारीको पनि फागुनमा पदावधि सकिँदैछ।
साथै स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि फागुनमा सकिन्छ।
गठबन्धनले कसरी गर्छ भागबन्डा?
सत्ता गठबन्धनभित्र कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे औपचारिक छलफल भइसकेको छैन। कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पदावधि सकिने २० जना सांसदमध्ये नेकपा (एमाले) का ९ सिटमा मात्र दलहरूबीच भागबन्डा हुने बताए।
‘अहिले जसको जति जना सांसद बाहिरिन्छन् त्यति नै संख्या सम्बन्धित पार्टीले लिने र बाँकी रहने एमालेका ९ सिटमा सत्ता गठबन्धनका दलबीच कसले कति लिने बैठक गरेर टुंगो लगाउने समझदारी छ,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि सिट संख्या दाबी गरेको छैन, त्यसरी छलफल नै भएको छैन।’
अध्यक्षमा कृष्णप्रसाद सिटौलाको चर्चा
अहिलेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि पनि फागुनमा सकिँदैछ। राष्ट्रिय सभा सदस्यमध्येबाट नयाँ अध्यक्ष चयन गर्नुपर्ने हुन्छ। अध्यक्षका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ।
सिटौलाले गत फागुनमा राष्ट्रपति पदमा पनि आकांक्षा देखाएका थिए।
‘सभापति शेरबहादुर देउवाले त्यसबेला सिटौलालाई तपाईंलाई पछि हेरौंला, अहिलेलाई रामचन्द्र पौडेलजीलाई छाडिदिनुस् भन्नुभएको थियो,’ एक पदाधिकारीले भने, ‘सिटौला राष्ट्रिय सभा सदस्य चुनावमा उम्मेदवार हुनुभयो वा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनुभयो भने अध्यक्ष हुन पनि सक्नुहुन्छ।’
सिटौला संविधान जारी भएपछि भएका दुई चुनाव हारिसकेका छन्। उनले 'संविधान जारी गर्न आफूले सक्दो भूमिका खेले पनि त्यसपछि भएका चुनावबाट आफू संसदमा उपस्थित हुन नसकेको' गुनासो गर्दै आएका छन्।
अध्यक्षका लागि कांग्रेस पूर्वउपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठले पनि सभापति देउवासँग दाबी गरिरहेको ती पदाधिकारी बताउँछन्। ‘प्रधानमन्त्री र सभापतिसहित गठबन्धनका शीर्ष नेताहरूको समझदारीमै अध्यक्ष चयन गरिन्छ,’ ती नेताले भने।
सिटौलाका सहयोगी किरण सिटौलाले भने राष्ट्रिय सभा अध्यक्षका लागि भन्दै बाहिर चर्चा भएजस्तो नेताहरूले छलफल गरिनसकेको बताए।
‘अध्यक्षमा उहाँ (कृष्ण सिटौला) को नाम बाहिर चर्चामा सुनिन्छ। तर नेताहरूले यसबारे उहाँसँग केही छलफल गरेजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सभापति देउवासँग भने बारम्बार कुराकानी भइरहेको छ।’
कांग्रेसबाट यसपालि राष्ट्रिय सभामा उम्मेदवार हुन पार्टीका काठमाडौं अध्यक्ष सबुजकृष्ण बानियाँ, नीर शाह, अनिल रूङ्गटालगायत पनि आकांक्षी छन्।