जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा तीन दिनसम्म भएको सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका छन्। रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का सूचना अधिकारी गोविन्दप्रसाद अधिकारीले मंगलबार सुनुवाइ सकिएको बताए।
सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका छन्। ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका छन्।
अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए। तीमध्ये एक जनाले बहस नगरेको उनले जानकारी दिए। २४ मध्ये १७ जना वादीतर्फका र ७ जना प्रतिवादीतर्फका थिए।
बहस सकिए पनि फैसला आउनेबारेमा भने टुंगो लागेको छैन।
‘बहस सकियो, फैसला आज वा अर्को दिन कहिले आउँछ भनेर भन्न सकिएन,’ अधिकारीले भने।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो।
उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।
घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।