'कतारमा विश्वकप फुटबलको ओपनिङ सेरोमनी हुँदा संसारका राष्ट्रपति, ठूला सेलिब्रिटी, कलाकारहरू पुगे। ओपनिङ भइसकेपछि गए। तर फुटबल त चलिरह्यो नि, पछि विश्वकप टुंगिएर गयो।'
यो भनाइ मेडिकल व्यवसायी दुर्गा प्रसाईंको हो।
व्यवस्था परिवर्तन नभएसम्म र बैंक, लघुवित्त तथा सहकारीबाट लिएको ऋण मिनाहा नभएसम्म आन्दोलन चर्काउने बताउँदै आएका प्रसाईंले प्रदर्शनका लागि भनेर ल्याइएका नागरिकहरू आआफ्नो थातथलो फर्किएपछि र आन्दोलन उनले चाहेझैं ‘प्रभावकारी’ नभएर शिथिल बन्दै गएपछि यस्तो बताएका हुन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नाम दिएर मंसिर ७ गते बल्खुमा प्रसाईंले प्रदर्शन गरेका थिए। राजसंस्था फर्काउने, लघुवित्त र सहकारीबाट लिइएका २० लाखभन्दा कम ऋण मिनाहा गर्नुपर्नेलगायत माग राखेर उनले बल्खुमा प्रदर्शन गरे।
यद्यपि प्रदर्शनमा आएकामध्ये धेरैले आफूहरूले लघुवित्तबाट लिएको ऋणको ब्याज मिनाहा हुन्छ भनेर आफूहरूलाई प्रदर्शनका लागि ल्याइएको त्यसै दिन बताएका थिए।
उनीहरूलाई लिन दुर्गा प्रसाईंको पक्षमा लागेका स्थानीयहरू घरघरसम्मै पुगेका थिए। विशेषगरी कोशी प्रदेश र मधेसका जिल्लाहरूबाट प्रदर्शनकारीहरू ल्याउन संयोजक नै खटाइएको थियो।
राजतन्त्र र राजाको पक्षमा रहेका कतिपय त्यस दिनको आन्दोलनमा सहभागी भएका थिए।
यद्यपि संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापन पक्षले उनको आन्दोलनलाई खुलेर साथ दिएन। राप्रपाकै एउटा खेमा भने उनलाई समर्थन गर्न बल्खुको प्रदर्शनमा पुगेको थियो।
८ गतेपछि भने प्रसाईंले राजावादीहरूको आंशिक साथ पनि पाउन छोडे भने ऋण मिनाहा हुने अपेक्षासहित काठमाडौं ल्याइएका नागरिकहरूले विस्तारै काठमाडौं छोड्न थाले।
प्रसाईं पक्षधरहरूले मंसिर ७ गतेदेखि अनिश्चितकालका लागि आन्दोलन गर्ने बताएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि त्यसैलाई मध्यनजरमा राखेर तयारी गरेको थियो, सुरक्षा व्यवस्था र निगरानी मजबुद बनाएको थियो।
उनीहरूले मंसिर ८ गते शुक्रबार समेत प्रदर्शनका लागि काठमाडौं उपत्यकाका तीनवटै प्रशासन कार्यालयबाट अनुमति लिएका भने थिएनन्। तर विज्ञप्ति निकालेर प्रसाईंले समर्थकहरूलाई तीनकुनेमा भेला हुन भनिसकेका थिए।
अनुमति नलिई तीनकुनेमा भेला भएकाहरूलाई भने प्रहरीले समाउँदै भ्यानमा हालेर लैजाँदै गरेको थियो।
शनिबार काठमाडौंको सिफलचौरमा प्रदर्शन गर्न प्रसाईंले अनुमति पाए।
त्यहाँ पुगेर पनि उनले अराजक अभिव्यक्ति दिन भने छाडेनन्। उनले केही व्यक्तिहरूलाई लक्षित गर्दै आफ्नै समर्थनमा आएका महिलाहरूलाई संकेत गर्दै तुच्छ अभिव्यक्ति समेत दिए।
सोमबार काठमाडौंको गौशालामा पनि उनले प्रदर्शन गरे। गौशालामा भएको प्रदर्शनमा विवादास्पद छवि भएका श्रीनिवास आचार्य समेत पुगे। तर त्यहाँ पनि अराजक अभिव्यक्ति र ढुंगामुढा भएपछि प्रहरीले १५ जनालाई पक्राउ गर्यो।
श्रीनिवास आचार्य, दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित ८ जनाविरूद्ध प्रहरीले मुद्दा चलाएर अनुसन्धान अघि बढाएको छ।
त्यतिमात्रै होइन अघिल्लै दिन बल्खुमा प्रसाईंले बैंकका सिइओ र नेताहरूलाई जहाँ भेट्यो, त्यहीँ भकुर्नुपर्ने बताएका थिए।
प्रशासनले भने केही दिन अघिदेखि नै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर तथा विभिन्न भिभिआइपी निवास आसपास निषेधित क्षेत्र तोकेको थियो।
प्रसाईंको तामझाम र प्रशासनको तयारीका कारण उनले गर्ने भनेको आन्दोलन थप लम्बिने आकलन थियो, तर त्यसो भएन।
हप्तादिनमै कार्यक्रममा आएका ती मानिसहरू फर्किसकेका छन्। फेरि पनि आवश्यक परेमा उपस्थित हुन आउँछौं भन्ने वाचा गरेर फर्किएको प्रसाईंको दाबी छ।
‘मंसिर ७ गते सबै मान्छे आए। अब आ-आफ्नो काममा लागे। उनीहरू साथ सहयोग जनाउन आएका थिए। फेरि हामी परेको खण्डमा उपस्थित हुन्छौं भनेर फर्किएका हुन्,’ उनले बुधबार एक अन्तर्वार्तामा भनेका छन्, ‘काठमाडौं आएका नागरिक सबै फर्किसके। अब काठमाडौंमा हार्डली ३-४ हजार छन् होलान्। ती पनि आज जाँदैछन्।’
प्रसाईंले यसो भनिरहँदा उनको समर्थनमा आन्दोलन गर्न भनेर आएकाहरू बसेका पार्टी प्यालेस भने खाली-खाली भइसकेका थिए। बुधबार दिउँसो सेतोपाटी उनीहरू बसेको गौशालाको विजयचोकस्थित पार्टी प्यालेसमा पुग्दा ती पार्टी प्यालेसहरूमा कोही पनि थिएनन्।
उनीहरू केही मंगलबार र केही बुधबार बिहानै फर्किएका हुन्।
यसरी प्रहरी र प्रशासनले दबाब दिन थालेपछि प्रदर्शनमा आएकाहरू फर्किए। यसरी फर्किएसँगै दुर्गा प्रसाईंले पनि प्रदर्शनको ‘मोडेल’ फेरेका छन्। उनले अब लघुवित्त र सहकारीहरूलाई गाउँ-गाउँबाटै लखेट्ने भनेर पनि अभिव्यक्ति दिएका छन्।
‘अब गाउँ-गाउँबाट नागरिक सरकार बनाउँदैछौं। जनयुद्ध कालमा माओवादीले जनसरकार बनाएको थियो नि। हामीले नागरिक सरकार बनाउँदैछौं,’ उनले भनेका छन्, ‘अब गाउँबाट लघुवित्त र सहकारीहरूलाई लखेट्दैछौं। हाम्रो टिमले खेद्छ अब! किनभने टिम एक्सनमा गएको थिएन। एक्सन र्यापिड टोली बन्छ।’
उनले यसैबीच शुक्रबार भक्तपुर र शनिबार ललितपुरमा पनि प्रदर्शन गर्न लागेको छ। दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले आन्दोलन विकेन्द्रिकृत गर्न लागेको बताए।
‘अब स्थानीय तहबाटै आन्दोलन हुन्छ। हामीले आन्दोलनलाई विकेन्द्रिकृत गर्न लागेका हौं। केही समय त्यसरी गरेर फेरि एकीकृत गरी काठमाडौंमै केन्द्रित गर्ने निर्णय भएको छ,’ उनले भने।
काठमाडौं उपत्यकामा पनि नियमित रूपमै कार्यक्रमहरू सञ्चालन गरिहने उनले जानकारी दिए।
यस्तै, आफूहरूले कार्यक्रम गर्दा प्रहरी प्रशासनले धरपकड गर्ने गरेको पनि उनले बताए।
‘धरपकड भयो। साथीहरू जहाँ जहाँ बस्नुभएको थियो त्यहाँ घेराउ गर्ने, यहाँ जा त्यहाँ जा भन्ने, थ्रेट दिने खालको भयो,’ उनले भने, ‘साह्रै निर्मम तरिकाले प्रशासन प्रस्तुत भएको छ।’
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापाले प्रदर्शन गर्नेहरूमाथि आफूहरू निर्मम नभएको बताए। शान्तिपूर्व र अनुमति लिएर गरिने र गरिएका प्रदर्शनमा प्रहरी प्रशासनले कुनै पनि धरपकड नगरिएको उनको भनाइ छ।
‘ढुंगामुढा, तोडफोडमा लागेपछि त हामी सुरक्षाकर्मीले हेरेर बस्यौं भने निलम्बनमा पर्छौं। हामीले आफ्नो कर्तव्य पूरा गर्यौं, उनीहरूले आफ्नो काम गरेका हुन्,’ उनले भने, ‘उनीहरूले शान्तिपूर्वक प्रदर्शन गरेको दिन हामीले केही गरेनौं। सिफलमा कार्यक्रम शान्तिपूर्वक तरिकाले सफल भयो। न उताबाट ढुंगामुढा भयो, न प्रहरीले बल प्रयोग गर्न पर्यो। हामी निर्मम बनेका छैनौं।’
अबका दिनहरूमा पनि स्वीकृति लिएर गरेका कार्यक्रमहरूलाई त्यसअनुसार नै सुरक्षा दिएर कर्तव्य पूरा गर्ने उनी बताउँछन्।
कानुन हातमा लिएर प्रहरीमाथि ढुंगामुढा गर्ने, निषेधित क्षेत्र तोड्नेलगायत कार्यहरू भने गर्न नपाइने उनले बताए।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी