मुख्यमन्त्री र स्वास्थ्यमन्त्री समेत नभएको बेला लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालका अध्यक्ष नियुक्त गरेको छ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल निजी कामको शिलशिलामा नेपाल बाहिर रहेको बेला कार्यवाहक मुख्यमन्त्री धनबहादुर मास्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पतालका विकास समितिहरूमा अध्यक्ष नियुक्त गरेको हो।
यसअघिको मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पताल विकास समितिका अध्यक्षहरूलाई गत कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयले हटाइएको थियो।
कात्तिक १ गते बसेको लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति गठनको गठन आदेश खारेज गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समितिहरूको गठन आदेश खारेज गरेको थियो।
२४ दिनदेखि खाली रिक्त रहेका अस्पताल विकास समितिका अध्यक्षहरूमा यही कात्तिक २३ गते बसेको कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले नियुक्ति गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले प्रादेशिक र जिल्ला गरी १३ वटा अस्पतालहरूमा राजनीतिक भागबण्डा लगाउँदै अध्यक्षहरू नियुक्त गरेको हो। जसमध्ये दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा र रूकुम पूर्वको जिल्ला अस्पतालमा माओवादी केन्द्रका कार्यकर्तालाई अध्यक्ष नियुक्त गरिएको छ भने बाँकी अस्पतालमा नेपाली कांग्रेस र अन्य साना दललाई अध्यक्ष दिइएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेले मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएको भए पनि उहाँहरूसँग सहमति लिएर नियुक्त गरिएको दाबी गरे।
‘क्याबिनेटले गर्ने निणर्यमा मुख्यमन्त्री वा विभागीय मन्त्री नभए पनि फरक पर्दैन तर पनि, मुख्यमन्त्री र स्वास्थ्यमन्त्री विदेश भएकोले उहाँहरूको सहमति लिएर कार्यवाहक मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकबाट नियुक्त गरिएको हो,’ पाण्डेले भने।
अध्यक्षहरूको नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित अस्पताललाई बोदार्थ पठाइएको छ।
नियुक्त गरिएका अध्यक्षहरूमा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलका जीवनप्रसाद ओझा नियुक्त भएका छन्।
बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका ओझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका संस्थापक अध्यक्ष हुन्। अहिले पनि वझा आम्दाको स्थायी बोर्ड सदस्य रहेका छन्।
त्यसैगरी, प्युठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल र अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा नियुक्त गरिएको छ।
यस्तै, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा.अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रूकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई नियुक्त गरिएको छ।
यस्तै, कार्यवाहक मुख्यमन्त्री मास्कीले आफ्नै भान्जीज्वाइँ नाता पर्ने कर्णाली प्रदेशका दीपक शाहलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा नियुक्त गरेका छन्।
कर्णाली प्रदेशको सल्यानमा घर भएका शाह २०७९ सालमा शारदा नगरपालिका वडा नंं १५ को वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेका थिए। वडा अध्यक्षमा पराजित भएका शाहलाई हाल दाङको बबई गाउँपालिका वडा नं. ४ को ठेगाना तोकेर नियुक्ति पत्र दिएका छन्।