फेवाताल किनारमा आमा अम्बिका सुनारसँगै चटपट र पानी बेचिरहेकी नाबालिग लोकमायालाई बुधबार प्रहरीले कुटपिट गर्यो। नगर प्रहरी र नेपाल प्रहरी मिलेर उनको पेटमा लात्ता हाने। लछारपछार गरे।
‘मेरी ममीलाई पुलिसले लछारपछार गरेर फालिदियो, अनि मैले मेरी ममीलाई यस्तो नगर्नू भन्न जाँदा मलाई लात्ताले हाने, ढाड दुखेको छ, घुँडामा निलो डाम बसेको छ,’ कक्षा १० मा अध्ययनरत १५ वर्षीया लोकमायाले भनिन्।
फेवातला किनारमा चटपट, पानी, चियालगायत खुद्रा सामग्रीसँगै अचले फोटोग्राफी व्यवसाय पनि चलेको छ। डिएसएलआर क्यामराले ताल किनार घुम्न आउने स्वदेशी र विदेशीको फोटो र भिडिओ खिचेर उनीहरूलाई दिने र त्यसबापत केही रकम लिने व्यवसाय केही युवाले गरिरहेका छन्।
बुधबार नगर प्रहरी र नेपाल प्रहरीले नाबालिग लोकमायालाई लछारपछार गरेर कुटपिट गरेको भिडिओ एक युवकले खिचेका थिए। प्रहरीले ताल किनारमा फोटोग्राफी गरिरहेका युवालाई पनि बाँकी राखेनन्।
‘भिडिओ डिलेट गर् नत्र तँलाई पनि गाडीमा लगेर थुनिदिन्छु भनेर मलाई प्रहरीले थर्कायो,’ ती युवाले भने, ‘भिडिओ डिलेट गरेपछि मात्र मलाई छाडिदियो।’
फेवाताल किनारमा चटपट, चिया, पानीलगायत खुद्रा सामग्री बेचेर जीविकोपार्जन गरिरहेकाहरूका आ–आफ्नै दु:ख छन्। उनीहरू रहरले ताल किनारमा आइपुगेका हैनन्, यहाँ आइपुग्न उनीहरूले जीवनमै नमेटिने पीडा बेहोरेका छन्।
प्रहरीको कुटाइ खाएकी नाबालिग लोकमायाकी आमा अम्बिका ५ वर्षअघि रामेछापबाट छोराछोरी बोकेर पोखरा आएकी थिइन्। उनका श्रीमान ७ वर्षअघि गाउँमै काम गर्दागर्दै बिते। त्यसपछि उनी छोराछोरी हुर्काउन र पढाउन सहरतिर अवसरको खोजीमा निस्किएकी थिइन्।
जीवनमा कहिल्यै पोखरा नआएकी अम्बिका रामेछापबाट हिँड्दा आफन्तले कामको खोजी गरिदेलान् भनेर काठमाडौं हानिएकी थिइन्। काठमाडौंमा रहेका आफन्त र चिनजानका मान्छेले वास्ता नगरेपछि छोराछोरी बोकेर पोखरा आएको बताइन्।
‘पोखरा गएर दु:ख गरें भने छोराछोरीले भात खान त पाऊलान् भनेर आएकी हुँ,’ उनले भनिन्, ‘काठमाडौंमा चिनजानका कसैले वास्ता गरेनन्, पोखरामा कसैले नचिनेका ठाउँमा बसेर दु:ख गर्छु, छोराछोरी पढाउँछु भनेर यहाँ आएकी थिएँ।’
पोखरा आएर उनले सुरूआतमा ज्यामी काम गरिन्। घर बनाउने ठाउँमा ढुङ्गा, गिटी, बालुवा बोकिन्।
२ छोरा र ४ छोरीकी आमा अम्बिकाले विस्तारै घर बनाउने ठाउँमा पनि काम पाउन छाडिन्। त्यसपछि ताल किनारमा चटपट व्यापारमा लागेकी हुन्।
उनलाई छोरी लोकमायाले व्यापारमा सघाउँछिन्। स्कुल भएका दिन लोकमाया चटपट बेच्न आमासँग ताल किनार आउँदिनन्। अहिले स्कुल बिदामा आमालाई सघाउन आएकी थिइन्। आफ्नै आँखा अगाडि प्रहरीले आमालाई लछारपछार गर्दै चटपटका सामान लुट्न थालेपछि उनले सहन सकिनन्। मेरो आमालाई यस्तो नगर भन्दा उल्टै कुटाइ खानुपरेको उनले बताइन्।
फेवाताल किनारमा चटपट बेचेर परिवार पालेकी सेतुमाया विश्वकर्माको पीडा पनि कम दर्दनाक छैन। फेवाताल पारि पामेकी सेतुमायाका ३ छोरा, १ छोरी छन्। साना छोराछोरी पढाउन उनले चटपट बेच्नुपरेको बताइन्।
उनका श्रीमान पनि पोखरामै काम गर्थे। गाउँमा खेतीपातीले नपुगेपछि यता आएर श्रीमानश्रीमती नै काम गर्न थालेको उनले बताइन्।
पोखरामा असार ८ र ९ गते चिनियाँ बोट रेस फेस्टिभल आयोजना भएको थियो। त्यतिबेला ताल किनारमा चटपट बेच्न महानगरपालिकाले प्रतिबन्ध लगायो।
त्यही बेला सेतुमाया र उनका श्रीमान गाउँमा कोदो रोप्न गए।
‘चाइनिज डुङ्गा चलाउन यहाँ चटपट बेच्न रोक लगाएपछि हामी कोदो रोप्न गयौं, असार ९ गते राति खाना खाएर सुत्न लाग्दा बुढा (श्रीमान) ले ढोका लगाउन लाग्नुभएको थियो, त्यही बेला चट्याङ परेर ढोकामै हान्यो,’ गहभरी आँसु लिएर सेतुमायाले भनिन्।
बुधबार फेवाताल किनारमा प्रहरीले लखेट्न थालेपछि उनी पनि साथीहरूसँगै भागिन्। पछिपछि प्रहरीले लखेट्न थाल्यो। अर्काको घरको कम्पाउण्डभित्र जाँदा पनि प्रहरीले छाडेनन्। लखेटेर सामान लुटे। त्यतिबेला सेतुमायाले रुँदै आफ्नो दु:ख पोखेकी थिइन्।
फेवाताल किनारमा साँझपख सेकुवा बेच्ने सुकमाया सुनारको बुधबार सबै सामान नगर प्रहरीले उठाएर लगेको छ। उनले चाबी लगाएर राखेका सामान पनि फुटालेर प्रहरीले लगेको बताइन्।
उनी पनि नातिनीहरूलाई हुर्काएर पढाउन फेवाताल किनार आइपुगेको बताउँछिन्।
‘मेरो जेठी छोरी छैन, ३ जना नातिनी छन्,’ उनले भनिन्, ‘यिनीहरूलाई पढाउने, हुर्काउने जिम्मा मेरो हातमा छ, म रहरले यहाँ आएकी त होइन नि।’
नगर प्रहरीले ताल किनारमा बेच्न राखेको १३ बोतल पानी, झिर पोल्ने भाँडासहित सामग्री लुटेर लगेको उनले बताइन्।
नगर प्रहरी र नेपाल प्रहरी मिलेर केही दिनयता ताल किनारका फुटपाथ व्यवसायीलाई दिनहुँजसो दु:ख दिइरहेका छन्। प्रहरीको हुलले फुटपाथ व्यवसायीका सामग्री लुट्नेदेखि कुटपिटमा उत्रिने गरेका छन् ।
घर, परिवार, आफन्त, समाज र राज्य सबैतिरबाट बहिस्कृत भएका नागरिक र उनका परिवारले देशमै केही काम गरेर खान पाउने वातावरण बनाइदिन माग गरेका छन्।
नगर प्रहरी र नेपाल प्रहरीले दिनहुँजसो लुटपाट र कुटपिट गर्न थालेपछि फेवाताल किनारका फुटपाथ व्यवसायी बिहीबार पोखरा महानगरपालिका पुगे। तर उनीहरू महानगरपालिकाभित्र पनि छिर्न पाएनन्। नगर प्रहरीले बाहिरै रोकिदिए।
‘हामीलाई महानगरपालिकाभित्र जान पनि दिएनन्, नगर प्रहरीले आदेश छ, भित्र जान पाइँदैन भनेपछि हाम्रा कुरा राख्न पनि पाइएन,’ अर्का व्यवसायी हिरा नेगीले भनिन् ।
फुटपाथमा खुद्रा सामग्री बेचेर जीविका चलाइरहेका व्यक्ति र तिनका परिवारका कुरा सुन्ने धैर्यता पोखरा महानगरका मेयर धनराज आचार्यले देखाएनन्। उनी कार्यालय आएर गए, तर पीडितको गुनासो सुन्न पनि चाहेनन्।
पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले आफूलाई जानकारी समेत नदिइकन प्रहरी आएर लछारपछार गरेको बताए। लुटिएका सामग्री फिर्ता दिन आफूले नगर प्रहरीलाई भनेको वडाध्यक्ष भट्टराईले बताए ।
महानगरमा आफ्ना समस्या राख्न आएका पीडित महिलाहरू भने महानगरको गेटबाटै फर्कन बाध्य भएको पीडित हिराले बताइन्।
हेटौंडाबाट एक छोरा र एक छोरीसहित पोखरा आएकी हिराको खुट्टामा समस्या छ। रोगका कारण प्रहरी आउँदा उनी भाग्न सक्दिनन्। भाग्न नसकेकै कारण बुधबार नगर प्रहरीले उनका सामग्री लुटेर लगिदियो। उनले आफ्ना सामान फिर्ता माग्न महानगरपालिका आउँदा भित्र जान पनि नदिएको बताइन्।
फेवाताल किनारमा हिँड्ने विदेशी/नेपाली पर्यटकहरू चटपट, पानी, चिया, झिर लगायत खानेकुरामा झुमेका हुन्छन्। उनीहरूले किनेर खाइदिँदा विभिन्न परिस्थितिले फुटपाथमा आइपुगेका व्यक्तिहरुको जीविका चल्छ। उनका सन्तानले शिक्षा हासिल गर्न पाउँछन्।
नगर प्रहरी र नेपाल प्रहरीले लुटपाट र धरपकड गर्दा देशमा सरकार नै नभएको अनुभूति भएको पीडित महिला हिराले बताइन्।
‘हामीलाई किन नागरिकता दिएको, हामी यो देशको मान्छे होइन,’ महानगर गेटमा उनले भनिन्, ‘हामीलाई गरिखान दिनुपर्छ।’
सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मिटरसम्मका सम्पूर्ण संरचना भत्काउन आदेश दिएको छ। ताल मिचेर आफ्नो नाममा पारेका १६ सय रोपनीभन्दा बढी जग्गा दर्ता खारेज गर्न भनेको छ। यसका लागि तीनै तहका सरकारलाई समय सीमासहित सर्वोच्चले आदेश दिएको छ।
फेवाताल मिचेर बनाइएका ठूला ठूला व्यवसायीका संरचना हटाउन दिइएको उक्त आदेश कार्यान्वयन गर्न बेवास्ता गर्ने महानगर ताल किनारमा खुद्रा व्यवसाय चलाएर जीविका चलाएका परिवारमाथि खनिएको छ।
महागनरपालिका र प्रहरीले ठूला व्यवसायीलाई छुनै नसक्ने कमजोर देखेर आफूहरूलाई भने लछारपछार पारेको खुद्रा व्यवसायीहरू बताउँछन्।
‘सरकारले ६५ मिटर हटाओस् न, हामी त त्यसै छाडिदिन्छौं, हाम्रो जग्गा भनेर बसेका हौं र,’ हिराले भनिन्, ‘धनीमानीले लुटेर बस्दा पनि केही नगर्ने, हामी बाटोमा हिँड्नेलाई पानी बेच्दा लुट्न आउने ?’
घर, परिवार र समाज छाडेर फुटपाथमा आइपुग्ने अधिकांश महिला र बालबालिका छन्। उनीहरूले यहाँ आइपुग्न अनेक दु:ख, संघर्ष र अपमानको बोझ बोकेका छन्। फुटपाथ सफा राख्ने नाममा महानगरले उनीहरूलाई धपाउने र उनीहरूका सामग्री खोस्ने गरिरहेको छ।
महानगरका मेयर आचार्यको आदेशमा नगर प्रहरीले फुटपाथ व्यवसायीलाई दसैं अघिदेखि लखेट्न थालेका हुन्। यसमा नेपाल प्रहरीले पनि उत्तिकै साथ दिएको छ।
बुधबार नाबालिग कुटपिटका घटनामा पनि नेपाल प्रहरी संलग्न थिए।
यसबारे वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्रकुमार श्रेष्ठले नगर प्रहरीलाई साथ मात्र दिएको बताए।
‘फुटपाथका विषय हाम्रो क्षेत्राधिकारको विषय होइन, हामीले नगर प्रहरीलाई साथ मात्र दिएका हौं,’ उनले भने, ‘कुटपिटमा हाम्रो संलग्नता छैन।’
पोखरा महानगरका मेयर धनराज आचार्यले फुटपाथ व्यवसायीलाई रोक्न नगर प्रहरी परिचालन गरेको बताए।
गाउँगाउँमा फलेका तरकारी, दूधलगायत खाद्यान्न बेच्न आउनेहरूलाई पनि नगर प्रहरीले उस्तै व्यवहार गर्दै आएको छ। नगर प्रहरीले लुटेका अधिकांश व्यक्तिका सामग्रीसमेत फिर्ता दिएका छैनन्।
मेयर आचार्यले फुटपाथ व्यापार रोक्न आफूले निर्देशन दिएको बताए। तर उनीहरूको उचित व्यवस्थापनबारे बोलेनन्।
‘फुटपाथमा व्यापार गर्न पाइँदैन, हामीले रोकेकै हो,’ उनले भने, ‘कहीँकतै हातपात भएको छ भने प्रमाण देखाउनुस्, दोषीलाई कारबाही गर्छौं।’
फेवाताल अतिक्रमण गरी दर्ता गरेका १६ सय रोपनी र हजार बढी संरचना भत्काउन सर्वोच्च अदालतको आदेश पालनामा भने मेयर आचार्यले उदासिनता देखाए।
यसबारे प्रश्न गर्दा उनले भने, ‘अदालतको आदेश अनुसार अतिक्रमण हटाउँछौं, समय लाग्छ।’