बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल सरूवा भएर आएको डेढ महिना नबित्दै बुटवलबाट फिर्ता भएका छन्।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको कार्यशैलीप्रति असहमति जनाउँदै प्रमुख प्रशासकीय अधिकृत भुसाल मंगलबार साँझ अचानक बुटवलबाट फिर्ता भएका छन्।
प्रमुख प्रशासकीय अधिकृत भुसालले बुटवलबाट सरूवा नै नभइसकेको भए पनि उपमहानगरपालिकाका प्रमुख पाण्डेयको कार्यशैलीसँग आफू 'फिट' नभएकोले मंगलबार काठमाडौं आएको बताए।
‘सबैका कार्यशैलीसँग सबै फिट नहुन सक्छ, म पनि बुटवलका प्रमुखको कार्यशैलीसँग फिट हुन सकिनँ,’ भुसालले सेतोपाटीसँग भने।
यसअघि उद्योग मन्त्रालयमा रहेका भुसाल गत असोज ७ गतेमात्रै बुटवल उपमहानगरपालिकामा सरूवा भएर आएका थिए। त्यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका टेकराज पन्थीको सरूवा पछि उपमहानगरपालिका प्रमुख पाण्डेयकै रोजाइमा भुसाल बुटवल गएका थिए। भुसालले पनि यसअघि उपमहानगरपालिका प्रमुख पाण्डेय र आफ्नो सहमतिमै बुटवल गए पनि काम गर्दै जाँदा असहमति उत्पन्न भएको बताए।
आजको लागि तय गरिएको उपमहानगरपालिकाको कार्यपालिका बैठकका कतिपय एजेण्डाप्रति उपमहानगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच असहमति उत्पन्न भएपछि उपमहानगरपालिका प्रमुख पाण्डेयले तत्काल बुटवल छोडेर जान दबाब दिएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार उपमहानगरपालिका प्रमुख पाण्डेयले करारका कर्मचारी हटाएर आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न र आफू निकटकै व्यक्तिहरूलाई अनुदान वितरण गर्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यपालिका बैठकबाट पारित नगरी कर्मचारी नियुक्ति र अनुदान वितरण नगर्ने अडान लिएपछि भनाभन समेत भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत भुसालले नगरप्रमुखका योजनामा सहयोग गर्ने भनेर नै बुटवल गए पनि आफू कानुन, विधि र सिस्टममा चल्न खोज्दा फिट हुन नसकेको बताए।
‘म ब्युरोक्रेसीको सिस्टम अनुसार काम गर्ने मान्छे हो, अहिले धेरै स्थानीय सरकारहरू कानुन, विधि र पद्धतिविपरीत चल्ने गरेका समाचार सार्वजनिक भइरहेका छन्, मेरो भनाइ त्यसो नगरौं भन्ने मात्र हो,’ उनले भने।
स्थानीय सरकार संचालनका आफ्नै ऐन नियम रहेको र ऐन नियम अनुसार सरकार सञ्चालन नगर्दा आफैं अप्ठ्यारोमा पर्न सक्ने जोखिम हुने भएकोले कार्यशैली फिट नभएपछि त्यही बसिरहनुभन्दा अन्यत्र जानु नै उपयुक्त हुने उनले बताए।
‘सबैलाई सबै ठाउँको हावापानी सुट नहुन सक्छ, मलाई पनि बुटवलको हावापानी सुट भएन,’ भुसालले भने।
प्रमुख प्रशासकीय अधिकृत भुसालले कार्यशैली नमिलेपछि उपमहानगर प्रमुखसँगकै सहमतिमा बुटवल छोडेर हिँडेको बताए।
‘मेयर साबले तत्काल बुटवल छोडेर जान भनेपछि म काठमाडौं आएपछि यसलाई सहमतिमै आएको मान्नुपर्ला,’ भुसालले भने।
उपमहानगरपालिकाका प्रमुख पाण्डेयले भने प्रमुख प्रशासकीय अधिकृत भुसाललाई कुनै पनि निर्णयमा दबाब नदिएको दाबी गरे।
‘ऐन, नियम विपरीतका कुनै पनि कार्य गर्न मैले दबाब दिएको छैन, मंगलबार कार्यालयमै हुनुहुन्थ्यो, साँझ साढे ६ बजेतिर म काठमाडौं आएँ भन्दै फोन गर्नुभएको थियो। यसअघि पनि १५ दिन काठमाडौं गएर बस्नुभएको थियो, अहिले किन जानुभयो मलाई थाहा भएन,’ पाण्डेयले भने।
उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले भने मंगलबार आफू कार्यालयमा नभएकोले त्यस विषयमा जानकारी नभएको बताइन्।
‘मंगलबार म कार्यालय बाहिर थिएँ, आज बिहान कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि मात्रै उहाँ नभएको जानकारी पाएँ,’ अर्यालले भनिन्।