कर्णाली प्रदेशका बालबालिकाले आफ्नो विद्यालयमा भएको समस्या समाधान गरिदिन मुख्यमन्त्री राजकुमार शर्मालाई चिठी लेखेका छन्।
प्रदेशका ५८ वटा स्थानीय तहका विभिन्न विद्यालयमा पढिरहेका ३१२ जना बालबालिकाहरूले आफ्नो विद्यालयमा भएका समस्याका चाङसहित मुख्यमन्त्रीलाई चिठी पठाएका हुन्।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिको पहलमा संकलन गरिएका बालबालिकाका चिठीहरूमा भौतिक पूर्वाधारदेखि शिक्षक अभावसम्मका समस्या उल्लेख गरिएका छन्। शिक्षा पत्रकार समूहले बालबालिकाले पठाएका चिठीहरूको सारंश पुस्तक तयार पारेर कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको छ।
बालबालिकाहरूले मुख्यमन्त्रीलाई लेखेको चिठीमा विशेषगरी सात प्रकारका समस्याहरू उल्लेख गरेका छन्। अधिकांश बालबालिकाले आफूले अध्ययन गरिरहेको विद्यालयको भवन, कक्षाकोठा, खेल मैदान, शौचालय लगायतका पूर्वाधार राम्रो नभएको उल्लेख गरेका छन्। भएका पूर्वाधारहरू पनि बाल तथा अपांगतामैत्री नभएको गुनासो बालबालिकाको छ।
विद्यालयमा समयमै पाठ्यपुस्तक नपुगेको, कोर्स पूरा नभएर परीक्षा दिनुपरेको, विद्यालयको लामो दूरी, छात्रामैत्री शौचालयको अभाव, सेनेटरी प्याडको व्यवस्था नभएको उल्लेख उनीहरूले गरेका छन्।
मुख्यमन्त्रीलाई लेखेको चिठीमा बालबालिकाहरूले सामाजिक कुप्रथाका विषय पनि जानकारी गराएका छन्। उनीहरूले छाउपडी प्रथाका कारण बालिका र महिलाले भोग्नुपरेका समस्या चिठीमा उल्लेख गरेका छन्। चिठीमार्फत प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा प्राथमिकता दिन उनीहरूले मुख्यमन्त्रीलाई आग्रह गरेका छन्।
बालबालिकाका चिठी ग्रहण गर्दै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्रमा कर्णालीको आवश्यकता अनुसार बजेट पर्याप्त नभएको बताए। ठूलो र विकट भूगोल, सरकारसँग अपर्याप्त बजेट, जस्ता कारणले आवश्यकता अनुसारको बजेट विनियोजन गर्न नसकिएको उनले बताए।
मुख्यमन्त्री शर्माले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि लागि प्रदेश सरकारले कर्णालीका १० जिल्लाबाट एकएक वटा विद्यालय छनोट गरी शिक्षण सिकाई केन्द्र स्थापना गर्ने तयारी गरिएको बताए।
बालबालिकाले पठाएको चिठीमा उल्लेख गरेका विषयले आफूलाई गम्भीर बनाएको बताउँदै शर्माले बालबालिकाका माग सम्बोधन गर्न प्रदेश सरकार निरन्तर लाग्ने प्रतिबद्धता जनाए। उनले अबको पाँच वर्षभित्र कर्णालीको शिक्षा क्षेत्र गर्व गर्न लायकको बनाईने दावी गरे।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले बालबालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको सहकार्यमा बालबालिकाले मुख्यमन्त्रीलाई पठाएका चिठीहरूको विश्लेषण गरेको थियो।
प्रदेशका १० जिल्लाका ५८ स्थानीय तहका ३१२ जना बालबालिकाले मुख्यमन्त्रीलाई चिठी पठाएको शिक्षा पत्रकार समूह कर्णाली प्रदेशका संयोजक कलेन्द्र सेजुवालले बताए। कुल बालबालिकामध्ये १७८ जना बालक र १३४ जना बालिका छन्।
कर्णालीका बालबालिकाको शिक्षाको अधिकार उपभोगबारे अवस्था बुझ्न, विद्यालयमा भोग्नुपरेका समस्या र चुनौतीहरूको पहिचान गर्न, भोग्नुपरेका समस्याहरू सुझावमार्फत प्रदेश सरकारसमक्ष पुर्याउन र प्रदेश सरकारलाई बालमैत्री र बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि ठोस नीति तथा कार्यक्रम ल्याउन खबरदारी गर्ने उद्देश्यले बालबालिकाको चिठी संकलन गरिएको उनले बताए।
चिठीहरूको विश्लेषण गर्नेक्रममा कर्णालीका बालबालिकाहरू आधारभूत बालअधिकारबाट समेत वञ्चित रहेको पाइएको सेजुवालले बताए। प्रतिकुल परिस्थितिका कारण बालबालिकाले शिक्षाको अधिकार सुलभ रूपमा पाउनका लागि पनि संघर्ष गरिरहनुपरेको उनले बताए।
मुख्यमन्त्रीलाई चिठी लेखेका ३१२ जना बालबालिकामध्ये १५.३८ प्रतिशतले बालविवाहको समस्या उल्लेख गरेका छन्। यस्तै ९.६१ प्रतिशतले छाउपडी प्रथाको समस्या, ५.७६ प्रतिशतले घरेलु हिंशाको समस्या उल्लेख गरेका छन् भने ३.८४ प्रतिशतले विद्यालयमा सुरक्षा चुनौती भएको उल्लेख गरेका छन्।
शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समन्वय समितिले बालबालिकाले सरकारलाई पठाएका यी समस्या, सरोकार तथा चिन्तालाई कर्णाली प्रदेश सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ। बालबालिकाको शिक्षासम्बन्धी अधिकार कार्यान्वयनका लागि प्रदेश सरकारले कम्तीमा २० प्रतिशत बजेट विनियोजन गरेर काम गर्नुपर्ने सुझाव दिइएको छ।
चिठी पठाउनेमध्ये १८ जना बालबालिका अपांगता भएका छन्। मुख्यमन्त्रीलाई १–१२ कक्षासम्मका बालबालिकाले समस्या उल्लेख गरेर चिठी लेखेका छन्।