गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार) बाट सुरू भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनको उद्घाटन गरेका छन्।
नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनएले बताएको छ।
उद्घाटन समारोहपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ। वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा सरकार र सरोकारवालासहितको सत्रको आयोजना गरिएको एनआरएनएले जानकारी दिएको छ।
कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ। संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ।
समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन्।
गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा रुसबाट बद्रि केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रविना थापाको उम्मेदवारी रहेको बताइएको छ। त्यस्तै कतारबाट आरके (राजेन्द्र कुमार) शर्माले पनि आकांक्षा राखेका छन्।