नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता शेखर कोइरालाले बालुवाटारमा गरेको सम्झौताप्रति प्रश्न उठाएका छन्।
धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीसहित सोमबार साँझको बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा शनिबार तीन नेताबीच भएको 'चिर्कटो सम्झौता'प्रति प्रश्न उठाए।
सभापति देउवाले कोशीमा विकसित राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखेका थिए।
उक्त बैठक अधिकांश समय कोशी घटनामै केन्द्रित थियो।
‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन्?,’ महामन्त्रीद्वय गगन र विश्वको एकै स्वर थियो, ‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ। सभापतिजी गठबन्धन दलको ठूलो दलको नेता, गठबन्धन बलियो बनाउन भन्दै किन चिर्कटोमा हस्ताक्षर गर्नुपरेको हो?’
सभापति देउवाले भने गठबन्धन जोगाउनका लागि सहमति गर्नुपर्ने अवस्था आइपरेको बताएका थिए।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपासहित यो गठबन्धनलाई नै निरन्तरता दिने कांग्रेसले संस्थागत निर्णय पहिले नै गरिसकेकोले भन्दै चिर्कटो सम्झौताको औचित्यबारे सभापति देउवालाई प्रश्न सोधेका थिए।
‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’ महामन्त्री शर्माले भने।
शनिबार बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाले कोशीमा नयाँ मुख्यमन्त्री बनाउने र संघीय गठबन्धन जोगाइराख्ने महत्वपूर्ण सहमति एउटा चिर्कटोमा उतारेर त्यसैमा हस्ताक्षर गरेका थिए। ।
‘आज मिति २०८० आश्विन २७ गतेका दिन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति सम्माननीय शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता माननीय शेखर कोइरालाकाबीच निम्न लिखित सहमति भएको छ। (क) हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौं,’ चिर्कटो सम्झौतामा लेखिएको थियो।
तर यो सम्झौताले कोशीमा औपचारिकता भने पाएन। नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार मन्त्रिपरिषद गठन गर्दा संघमा गठबन्धनमा नरहेको एमालेलाई पनि मन्त्री बनाएका थिए। गठबन्धनप्रति दृढ र बलियो बनाउन कोरेको चिर्कटो सम्झौताविपरीत मुख्यमन्त्री कार्कीले एमालेलाई पनि मन्त्री बनाएका थिए।
यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सुदूरपश्चिम पुगेर थप कुरा बोलेका छन्।
कोशीमा नेकपा एमालेले गरेको चलखेल रोक्न आफू, देउवा र शेखरले सहमति गरे पनि मुख्यमन्त्री कार्कीले एमालेबाट एक जनालाई मन्त्री बनाएर अर्को चलखेल गरेको प्रधानमन्त्रीको भनाइ छ।
‘म, देउवा र शेखर बसेर गठबन्धनमा दृढ छौं, कमजोर पार्न दिने छैनौं भनेर हस्ताक्षर गरियो। यति गरेपछि एमालेले गरेको चलखेल त्यहीँ रोकियो भनेको त हिजो फेरि अर्को चलखेल भयो,’ समाजवादी मोर्चाले सुदूरपश्चिममा गरेको सन्देश सभामा दाहालले भने, ‘हामीले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुअघि कांग्रेसको एक मात्रै मन्त्री बनाउनु भनेको त फेरि एमालेको मन्त्री त्यहाँ छिराइहालेछन्।’
बालुवाटारमा गरेको 'चिर्कटो सम्झौता'को उल्लङ्घन भएको प्रधानमन्त्री दाहालको आशय थियो।
‘कोशीमा हामी करेक्सन गर्दैछौं, जित्नलाई यही गठबन्धनले जित्छ,’ प्रधानमन्त्री दाहालले भने।
कांग्रेस नेता शेखर कोइरालानिकट कोशी कांग्रेस सांसद केदार कार्कीसहित ८ जना र नेकपा एमालेका ३९ जना मिलेर कोशीमा मुख्यमन्त्री बनाएका हुन्।
सत्ता गठबन्धनभित्र नेकपा माओवादी केन्द्र कोशी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय भएको थियो। सोअनुसार आङ्बोले पनि प्रदेश प्रमुखकहाँ गएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। नेता शेखर पक्षबाट कार्कीले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि संघमा सरकार बनाएको गठबन्धनबाटै कोशीमा दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।
गठबन्धनमा फुट आउन सक्ने भएपछि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले नेता कोइरालालाई बालुवाटार बोलाएर 'गठबन्धनमा दृढ रहने' सम्झौतामा हस्ताक्षर गराएका थिए भने आङ्बोलाई मुख्यमन्त्री दाबीबाट पछि हटाएका थिए।
प्रधानमन्त्री दाहालले कार्की गठबन्धनबाटै मुख्यमन्त्री बनेकोसमेत बताइसकेका छन्।
यसैबीच माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताइसकेको छ। कार्कीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
कार्कीलाई कांग्रेसले पनि विश्वासको मत दिने तयारी गरेको छ। कार्कीलाई मुख्यमन्त्री बनाउँदा २९ मध्ये २१ जना सांसदले हस्ताक्षर गरेका थिएनन्। तर विश्वासको मत दिँदा भने सबै सांसदले दिने तयारी गरेका छन्।
कार्कीलाई विश्वासको मत दिने निर्णय भने कांग्रेस कोशी संसदीय दल बैठकबाट औपचारिक निर्णय हुन बाँकी छ। दल नेता उद्धव थापा र उपनेताले राजीनामा दिएका छन्।
कोशी घटनाबारे कांग्रेसभित्र गम्भीर आत्मसमीक्षा हुनुपर्ने आवाज पनि महामन्त्रीद्वय थापा र शर्माको छ।
‘सभापतिजीले कोशी घटनाबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्छ,’ महामन्त्री शर्माले भने, ‘कोशीबारे महामन्त्री, सहमहामन्त्रीलगायत कसैसँग पनि सभापति र नेता कोइरालाले संस्थागत रूपमा छलफल गर्नुभएको थिएन।’
उनले सत्ता गठबन्धनभित्र सबै प्रदेशमा सम्मानजनक रूपमा आलोपालो मुख्यमन्त्री हुने पूर्ववत सहमति रहेको बताए। ‘कोशीमा नहुनुपर्ने द्वन्द्व भयो, यसले डढेलोको रूप लिन हुन्न,’ शर्माले भने, ‘संयमतापूर्वक अघि बढ्नुपर्छ।’
यो पनि:
कोशीमा फेरि अर्को चलखेल भयो, एमालेका मन्त्री छिराइहालेछन्: प्रधानमन्त्री दाहाल
प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन बलियो बनाउने बालुवाटारमा सहमति, कोशीमा 'उल्लङ्घन'
‘चिर्कटो’ सम्झौताको भविष्य
कोशी घटनाले तरङ्गित कांग्रेस