नेपाली कांग्रेसको १४ औं महाधिवेशन भएको २२ महिना भएको छ।
यतिका समय हुँदा पनि कांग्रेसका ४१ जिल्ला कार्यसमितिले महासमिति सदस्यको नामावली केन्द्रीय कार्यालय सानेपामा पठाएका छैनन्।
केन्द्रीय महाधिवेशन हुनुअघि नै महासमिति सदस्य छानिइसक्नुपर्ने हो। महाधिवेशन प्रतिनिधिले आफूहरू मध्येबाट महासमिति सदस्य चुन्न सक्ने विधानको व्यवस्था छ।
कांग्रेसले २०७८ मंसिरमा नेतृत्व चुन्न महाधिवेशन गरेको थियो। त्यसबेला ३६ जिल्लाले मात्र महासमिति सदस्यको नामावली पठाएका थिए।
पाँचथर, इलाम, संखुवासभा, धनकुटा, सप्तरी, सिरहा, रसुवा, नुवाकोट, काभ्रे, चितवन, भक्तपुर, मकवानपुर, गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासी, गुल्मी, रूकुमपूर्व, रोल्पा, प्युठान, बाँके, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, अछाम, दार्चुला, बैतडी र डडेल्धुराबाट मात्रै महासमिति सदस्यको नामावली प्राप्त भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।
केही जिल्लाहरूमा महासमिति सदस्य छान्न अधिवेशन भइसके पनि नामावली केन्द्रमा पठाउन बाँकी छ।
तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रूपन्देही, बाजुरामा महासमिति सदस्यका लागि निर्वाचन भइसके पनि नामावली केन्द्रमा पठाइएको छैन।
बर्दिया क्षेत्र नम्बर १ बाट १० जना र क्षेत्र नम्बर २ बाट १२ जनाको नाम प्राप्त भएकोले सच्याएर पठाउन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।
झापा, ताप्लेजुङ, भोजपुर, मोरङका केही क्षेत्र, सुनसरीका केही क्षेत्र, सोलुखुम्बु, खोटाङ, ओखलढुंगाबाट पनि महासमिति सदस्यको नाम आउन बाँकी छ।
उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, दोलखा, सिन्धुली, धादिङ, ललितपुर, काठमाडौंबाट पनि महासमिति सदस्यको नामावली प्राप्त नभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए। १० प्रतिनिधि सभा क्षेत्र रहेको काठमाडौंमा क्षेत्र नम्बर ८ ले बाहेक अन्यत्र महासमिति सदस्य चयन भएको थिएन।
साथै रामेछाप, लमजुङ, म्याग्दी, पर्वत, बागलुङ, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, दाङ, दैलेख, सल्यान, डोटी, कञ्चनपुर, कैलाली र जुम्ला कार्यसमितिले पनि महासमिति सदस्यको नामावली केन्द्रीय कार्यालयलाई उपलब्ध गराएका छैनन्।
केन्द्रीय महाधिवेशन हुँदा यी जिल्लामा महासमिति सदस्य निर्वाचन हुन सकेको थिएन। केन्द्रीय निर्वाचन समितिले असोज २९ गतेभित्र महासमिति सदस्य छानेर केन्द्रमा जानकारी गराउन आग्रह गरेको थियो। केही जिल्लामा हिजोआज महासमिति सदस्यका लागि अधिवेशन भइरहेका छन्।
कांग्रेसले नीति अधिवेशनसहितको काम गर्ने गरी मंसिरमा महासमिति बैठक आह्वान गरेको छ। महासमिति बैठक तयारीमा केन्द्रीय कार्यालय जुटे पनि बैठकमा सहभागी हुने प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन।
कांग्रेसले मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महासमिति बैठक गर्दैछ। बैठकमा पार्टीले लिने नीतिबारे छलफल हुनेछ। बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन भइसकेको छ।
महासमितिमा पेश गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन भइसकेको छ। यो समितिमा केन्द्रीय पदाधिकारी र प्रवक्ता प्रकाशशरण महत सदस्य छन्।
महासमितिमा सांगठानिक प्रतिवेदन महामन्त्री गगन थापाले पेश गर्नेछन्। समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्नेछन्।
महासमिति बैठकमा कति हुन्छन् प्रतिनिधि?
प्रतिनिधि सभा क्षेत्रीय समिति अधिवेशनबाट २५ जना महाधिवेशन प्रतिनिधि र तीमध्येबाट ११ जनाका दरले महासमिति सदस्य चयन भई केन्द्रमा आउँछन्।
महासमिति सदस्यको मुख्य काम पार्टीको नीति बनाउने हो।
१६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले एक हजार आठ सय १५ जना महासमिति सदस्य आउँछन्।
महासमिति बैठकमा केन्द्रीय पदाधिकारीदेखि सदस्यले भाग लिन पाउँछन्।
कांग्रेसमा अहिले १६६ जना केन्द्रीय सदस्य छन्। सभापति देउवाले महासमिति बैठकका लागि १५ जनालाई मनोनीत गर्न पाउने विधानको व्यवस्था छ।
नेपाली जनसम्पर्क समितिबाट महासमिति सदस्य आउने व्यवस्था छ। एउटा देशबाट बढीमा छ जना महासमिति सदस्य आउन मिल्छ।
निवर्तमान केन्द्रीय सदस्य पनि एक पटकका लागि स्वत: महासमिति सदस्य हुने विधानको व्यवस्था छ।
भ्रातृ संघसंस्थाबाट तीन जनाका दरले प्रतिनिधि सहभागी हुन पाउनेछन्। करिब दुई हजार दुई सय प्रतिनिधि महासमिति बैठकमा सहभागी हुनेछन्।