नेकपा (एमाले) गण्डकीको आगामी अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्।
शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।
दुवै पक्षबीच प्रतिस्पर्धा हुने देखिए पनि सहमतिका लागि भन्दै अझै केही नेता कार्यकर्ता प्रयासरत छन्। सहमति नभए आजै विद्युतीय प्रविधीबाट निर्वाचनमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन्।
प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका शर्मा एमाले गण्डकीको संगठन कमिटीका पनि अध्यक्ष हुन्। अर्का उम्मेदवार अधिकारी एमाले केन्द्रिय कमिटी सदस्य छन्। दुबै जना विद्यार्थीकालदेखि एमालेको राजनीतिमा सक्रिय भएका थिए।
शर्मा म्याग्दीको विममा जन्मिएका हुन् भने अधिकारी लमजुङको भारतेमा। अध्यक्षका उम्मेदवार बनेका दुबै जना एमालेभित्र इमान्दार नेताका रूपमा परिचित छन्।
विद्यार्थी राजनीति गर्दा गर्दै शर्मा २०४२ सालमा अनेरास्ववियु म्याग्दीको अध्यक्ष बने। विद्यार्थी राजनीतिमा रहँदै उनले २०५४ सालको जिल्ला विकास समिति सभापति निर्वाचन जिते।
लमजुङका अधिकारी भने विद्यार्थी राजनीति हुँदै पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर काभ्रे पुगे। २०४४ सालमा पार्टीको काभ्रे प्रमुख बने ।
२०४६ सालको आन्दोलनमा शर्माले म्याग्दीमा बसेर तत्कालीन धौलागिरी अञ्चलमा सक्रिय थिए भने अधिकारी काभ्रेबाट सरुवा भएर सिन्धुपाल्चोकमा पार्टी प्रमुख र बागमती कमिटीको सदस्य बने। २०४६ सालको आन्दोलन पूरा भएपछि मात्र अधिकारी गण्डकीको भूगोलमा राजनीति गर्न आइपुगेका थिए ।
एमाले गण्डकीको सदस्य बनेर अधिकारी मनाङ इन्चार्ज र लमजुङको सचिवालय सदस्य बने। २०४८ मा एमाले लमजुङको पहिलो सम्मेलन आयोजक समितिका संयोजक बनेका अधिकारी सम्मेलनमार्फत जिल्ला उपसचिवमा निर्वाचित भए।
जिल्ला विकास समिति सभापतिको भूमिका पाएपछि शर्मा पार्टी राजनीतिमै सक्रिय भए। धौलागिरीका चार जिल्ला पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा उनी पार्टी संगठन निर्माण गर्दै हिँडे। पार्टी काम गर्दागर्दै उनले २०७० को संविधान सभा निर्वाचन जिते।
यता, लमजुङका अधिकारी २०५४ सालमा एमाले लमजुङ प्रमुख बने। त्यसपछि लगातार तीन कार्यकाल उनी एमाले लमजुङका प्रमुख बने। २०६४ को पहिलो संविधान सभा निर्वाचन लडे पनि अधिकारीले चुनाव जित्न सकेनन् ।
तत्कालीन एमालेभित्र सधैं माधव नेपाल निकट रहेका अधिकारी २०७१ सालमा भएको एमाले अधिवेसनबाट केपी ओली गुटमा प्रवेश गरेका थिए। लमजुङबाटै उदाएका एमाले नेता पृथ्वीसुब्बा गुरूङले उनलाई ओली गुटमा लगेर केन्द्रिय सदस्य उम्मेदवार बनाए।
उनी त्यसयता केन्द्रीय सदस्य छन्।
२०७४ को संसदीय निर्वाचनमा एमाले गण्डकीको समानुपातिक सांसद निर्वाचित भएका अधिकारी संसदीय दलका प्रमुख सचेतक बनेका थिए। गत मंसिरमा भएका निर्वाचनमा भने अधिकारी र शर्मा दुबै उम्मेदवार बनेनन्। संविधान सभा सदस्य बनेपछि शर्माले कुनै पनि निर्वाचनमा भाग लिएका छैनन् ।
‘पार्टीलाई जिताउनुपर्छ भनेर मैले चुनाव लडिन, साथीहरूलाई अघि सारेको छु,’ शर्माले भनेका थिए ‘म आफूअगाडी बढ्ने भन्दा पनि पार्टीलाई अघि बढाउने अभियानमा छु।’
यता, अधिकारीले पनि पार्टीलाई नै सुव्यवस्थित र प्रभावकारी बनाउन आफूले प्रदेश अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
‘पार्टीका नेता कार्यकर्ताको सुझाव अनुसार म उम्मेदवार बनेको हुँ,’ उनले भने, ‘प्रदेश अध्यक्षको जिम्मेवारी निकै महत्वपूर्ण भएकाले उक्त जिम्मेवारी परा गर्न म अग्रसर भएको छु ।’
एमाले गण्डकी अधिवेशनमा अध्यक्ष प्रत्यासी शर्माको प्यानलमा उपाध्यक्षमा स्याङ्जाका मीनबहादुर गुरूङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा पर्वतकी मञ्जु अधिकारी र कास्कीका दामबहादुर बिकले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी अधिकारीको प्यानलको उपाध्यक्षमा नवलपुरका बाबुराम बिक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र कास्कीकी मीना गुरूङलाई अघि सारेका छन् ।