नेकपा एमालेले प्रदेश अधिवेशनमा प्रत्येक पालिकाबाट ४० वर्षभन्दा तलका युवालाई प्रतिनिधि छान्न कोटा तोकेको छ। पार्टीले लिएको लाइन अनुसार गण्डकीका ८५ वटै पालिकाबाट युवा प्रतिनिधि चुनिएका छन्।
पार्टीले तोकेका कोटामा मात्र होइन, खुला र अन्य क्लष्टरबाट पनि युवा प्रतिनिधि अधिवेशनमा सहभागी छन्। बन्दसत्र सकेर मंगलबार नेतृत्व छनोट प्रक्रिया थाल्ने नेतृत्वको तयारी छ। एमालेमा शक्तिशाली संगठन रहेको गण्डकीको नेतृत्व छनोटमा नेताहरूको पनि शक्ति परीक्षण हुँदैछ।
एमाले गण्डकीको नयाँ नेतृत्व चयन गर्न उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षबीच प्रतिस्पर्धा हुँदैछ।
उपमहासचिव गुरूङले अध्यक्षमा नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई अगाडि सारेका छन् भने स्थायी कमिटी सदस्य अधिकारीले प्रदेश अध्यक्षमा मायानाथ अधिकारी र सचिवमा रश्मी आचार्यलाई अघि सारेका छन्।
एमाले गण्डकीको अधिवेशनमा देखिएका दुइटा गुटमा गुरूङ पक्षले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन छ भने अधिकारी पक्षलाई महासचिव शंकर पोखरेल पक्षको समर्थन छ।
नेताहरू एकले अर्कोलाई निषेध गरेर गुटबन्दीमा लागेको देख्दा युवा प्रतिनिधि भने सन्तुष्ट छैनन्। उनीहरू गुट हेरेर मतदान नगर्ने पक्षमा देखिएका छन्।
गण्डकी अधिवेशनमा सहभागी हुन आएका ४० वर्षभन्दा तलका प्रतिनिधिहरू विचार, सिद्धान्त र नीतिका आधारमा नेताहरूमा गुटबन्दी हुने स्वाभाविक बताउँछन्। तर, गण्डकीमा देखिएको एउटा नेताविरूद्ध अर्कोको व्यक्तिगत निषेध मन पराएका छैनन्।
पोखराबाट छानिएका युवा प्रतिनिधि सुजन लामाले नेताहरूको व्यक्तिगत इगोले जन्माएको गुटबन्दीका पक्षमा आफू नरहेको बताए।
‘विचारका आधारमा गुटबन्दी, फरक मत ठिक हो, व्यक्ति नै सिध्याउनुपर्छ भनेर लाग्नु गलत छ,’ उनले भने, ‘नेताहरूको व्यक्तिगत इगो पार्टी हितमा छैन, हामी त्यसविरूद्ध मतदान गर्छौं।’
एमालेको नेतृत्व केपी ओली र उनकै नीतिमा पार्टी चलेको भन्दै उनले प्रदेश अधिवेशनमा व्यक्ति हेरेर गरिने निषेध गलत हुने उनले बताए।
प्रदेशमा नेताहरूबीच व्यक्तिगत गुटबन्दी बनेको भन्दै उनले भने, ‘अधिवेशनमार्फत् व्यक्तिगत गुटबन्दी परास्त गरिन्छ, विचारका पक्षमा मतदान गरिन्छ।’
कास्कीबाटै छानिएकी युवा प्रतिनिधि शोभा गुरूङले नेतृत्व योग्य र दक्ष हुनुपर्ने बताइन्।
आफूलाई गुटबन्दी मन नपर्ने भन्दै उनले भनिन्, ‘नेताका पक्षमा होइन, पार्टी र जनताका पक्षमा काम गर्न सक्ने योग्य हुनुपर्छ, हामी गुट हेर्दैनौं, नेता हेर्छौं।’
एमालेले प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवालाई कोटा दिएको भन्दै पार्टी कमिटीमा पनि युवालाई अवसर दिनुपर्ने अर्का प्रतिनिधि भरतमान गुरूङले बताए।
पार्टीले १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्ने भनिए पनि गुटबन्दीका शिकार युवा हुन नसक्ने उनले बताए।
‘गुटबन्दीले पार्टी हित गर्दैन, संगठनलाई उत्साही पार्न सक्ने नेता छानिन्छ,’ उनले भने, ‘नेताको गुटबन्दीमा हामी प्रयोग हुँदैनौं।’
नेतृत्वमा उम्मेदवारी दिनेहरूले पार्टीका विगत, वर्तमान र भविष्यका योजनासहित स्पष्ट विचार दिनु सक्नुपर्ने उनले बताए।
‘नेताहरूले विचार देओस्, हामी त्यही हेरेर मत दिन्छौं,’ उनले भने, ‘स्वार्थ केन्द्रित गुटबन्दी हामी निषेध गर्छौं।’
अधिवेशनमा नेतृत्वका लागि आफू पनि उम्मेदवार हुने उनले बताए।
पोखराबाटै छनोट भएका अर्का युवा प्रतिनिधि सुशिल बस्नेतले पनि नीति र विचारमा प्रतिस्पर्धा गर्न नेतृत्वलाई आग्रह गरे।
व्यक्तिगत रूपमा एकले अर्कोलाई निषेध गर्नु गलत भएको भन्दै आफूहरू यस्ता प्रवृत्तिलाई पार्टीबाट पराजित गर्न चाहेको बताए।
‘नेताहरूले विचारमा प्रतिस्पर्धा गरून्, पार्टीका विगत, वर्तमान र भविष्य हेरून्,’ उनले भने, ‘हामी सही नीति र नेतृत्व छनोट गर्छौं, गलतलाई पराजित गर्छौं।’
एमालेको प्रदेश अधिवेशनले हिमालदेखि तराईसम्मको भूगोल, संस्कृति र जनजीवन बुझ्ने हुनुपर्ने अर्का प्रतिनिधि शान्तामाया परियार बताउँछिन्।
मनाङबाट युवा प्रतिनिधि बनेकी शान्तामायाले अबको नेतृत्व विचार सक्रियता दुबै हुनुपर्ने बताइन्।
‘नेकपा एमाले गण्डकीको अबको नेतृत्व ११ वटै जिल्लाको भूगोल र क्लष्टर बुझ्ने हुनुपर्छ, संगठन बनाउने प्यासन हुनुपर्छ,’ उनले भनिन्, ‘परिपक्व नेता छनोट गर्न सक्नुपर्छ, युवालाई प्राथमिकता दिनुपर्छ।’
अधिवेशनले नेतृत्व हस्तान्तरण गर्ने भन्दै उनले युवा पुस्ता चुनाव लड्न पछाडि नहट्ने बताइन्।
प्रदेश अधिवेशनले युवालाई अगाडि बढ्ने ढोका खोलेको भन्दै उनले सर्वसम्मतका नाममा विचारविहीन व्यक्ति हाबी हुन नहुने बताइन्।
‘अधिवेशन भनेको नेतृत्व हस्तान्तरण हो, युवाका लागि अवसर हो,’ उनले भनिन्, ‘सर्वसम्मतका नाममा विचारविहीन व्यक्तिलाई टीका लगाउँदा संगठन चल्दैन।’
एमाले गण्डकीको राजनीतिमा अधिवेशनसम्म आइपुग्दा नेताहरूको समीकरण फेरिएको छ।
उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका अधिकांश नेताहरू अर्का नेता खगराज अधिकारीको पक्षमा पुगेका छन्। यसरी एउटा क्याम्पबाट अर्कोमा जानुलाई कतिपय कार्यकर्ताले ‘दक्षिणपन्थी अवसरवाद’ भनेका छन्।
पृथ्वीसुब्बाका पक्षमा रहेका केन्द्रीय सदस्य मायानाथ अधिकारी अहिले खगराज पक्षबाट अध्यक्षका उम्मेदवार छन्। लमजुङकै मायानाथलाई अध्यक्षको उम्मेदवार बनाउँदा लमजुङबाटै राजनीति गरेका पृथ्वीसुब्बा पक्षलाई हराउन सकिने खगराज पक्षको विश्लेषण छ।
उपमहासचिव गुरूङ पक्षमा रहेका केन्द्रीय सदस्यहरू राजीव पहारी, गोविन्द्रबहादुर नेपाली लगायत नेताहरू पनि अहिले गुट परिवर्तन गरेर खगराज समूहमा प्रवेश गरेका छन्। पृथ्वीसुब्बातिर रहेकी सचिव पद्मा अर्याल पनि खगराज पक्षतर्फ ढल्किएको कतिपय कार्यकर्ताको आशंका छ।
लमजुङबाट प्रदेश अधिवेशनमा प्रतिनिधि बनेका मोहनहरी पौडेलले नेताका टाउका जतातिर जठजोड भए पनि पार्टीलाई फरक नपर्ने बताउँछन्।
‘नेताहरू कता धेरै, ककस्ले क्याम्प बनाए, कस्ले फेरे भनेर अर्थ राख्दैन,’ उनले सेतोपाटीलाई भने, ‘युवा प्रतिनिधि विचार, नीति र नेतृत्वमा प्रष्ट छन्, कसैको व्यक्तिगत गठजोडले केही फरक पार्दैन।’
प्रदेशमा पृथ्वीसुब्बा मात्र नभई कोही पनि नेतालाई एक्ल्याउने र सिध्याउने राजनीति पार्टीका लागि घातक भएकाले अधिवेशनमार्फत् सच्याउने उनले बताए।
यता, खगराज पक्षका नेताहरू भने उपमहासचिव पृथ्वीसुब्बाको कार्यशैली गलत भएको बताउँछन्।
उनको गुटमा बसेर खगराज गुटमा प्रवेश गरेका एक नेताले पृथ्वीसुब्बाले आफूहरूलाई कहिल्यै अवसर नदिएको र नसुनेको बताए।
‘पृथ्वीसुब्बालाई सधैं समर्थन गरियो तर उहाँले हामीलाई बुझ्न र अवसर दिन चाहनुभएन,’ ती नेताले नाम नलेख्ने शर्तमा भने, ‘यसपटक पृथ्वीसुब्बालाई साथ दिन सकिएन।’