नेकपा एमाले गण्डकीका इन्चार्ज गोकर्ण विष्टले सोमबारदेखि सुरू हुने प्रदेश अधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई नभएको बताए।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै उनले प्यानल बनाए उम्मेदवारी नै खारेज हुने चेतावनी समेत दिए।
गण्डकीमा एमाले राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सदाबहार प्रतिस्पर्धी हुन्।
स्थानीय निर्वाचनमा होस्, वा संसदीय निर्वाचनमा उनीहरूबीच प्रतिस्पर्धा हुँदै आएको छ।
उपमहासचिव गुरुङलाई बाँया र स्थायी कमिटी सदस्य अधिकारीलाई दाँया राखेर इन्चार्ज विष्टले भने– ‘पार्टी अध्यक्षको निर्देशन विपरित प्यानल बनाएर जाने छुट कसैलाई छैन, सकेसम्म सर्वसम्मत गर्ने हो, नभए कमरेडली प्रतिस्पर्धा गर्ने हो।’
अधिवेशनको तयारी सकिएपछि आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले त्यसो भनिरहँदा सहभागी कार्यकर्ता नै विश्वस्त थिएनन्। चुनाव हुने पक्कापक्की भएको उनीहरूले खासखुस गरिरहेका थिए।
विष्टले चुनावमा प्यानल बनाएर प्रतिस्पर्धा मात्र रोक्न खोजेनन्, उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारीबीच कुनै मनमुटाव र प्रतिस्पर्धा नभएको समेत जिकिर गरे।
दुई नेतासँग आफुले घण्टौं कुरा गरेको भन्दै उनले यस्तो जिकिर गरेका थिए। उनको जिकिर विपरित गुरुङ र अधिकारी निकट नेता कार्यकर्ता प्यानल बनाएरै चुनावमा जाने तयारी गरेका छन्।
हाललाई अध्यक्ष र सचिवमा दुई जना नेता निकट उम्मेदवारी पेश हुने देखिए पनि सदस्यसम्मै प्यानल बन्ने दुबै पक्षका कार्यकर्ताको दाबी छ।
‘अहिले अध्यक्ष र सचिव पदमा दुई नेताका निकटहरू प्रतिस्पर्धामा देखिएका छन्, टाउको देखिएपछि ज्यान पनि देखिएला नि,’ एक नेताले भने।
एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सारेका छन्। अध्यक्ष र सचिवबाहेक अन्य पद बाँडफाँट गरेर सहमति गर्न सकिने गुरुङ पक्षको जोड छ।
उता, अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेका छन्। अधिकारीले सर्वसम्मति गर्न केन्द्रीय सदस्य कृष्ण थापालाई अध्यक्ष बनाउन पनि प्रस्ताव गर्दैछन्।
थापा गत स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित उम्मेदवार हुन्। प्रदेश सांसद त्यागेर उनी मेयर उम्मेदवार बनेका थिए।
यसबाहेक एमाले गण्डकीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामशरण बस्नेत, राजिव पहारी, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, सोभियत ढकाल, हिराबहादुर केसी पनि प्रदेश अध्यक्षका दाबेदार छन्।
एमालेले प्यानल बनाएर चुनाव लड्न नपाउने भने पनि २०७८ पुसमा भएको कास्की जिल्ला अधिवेशनमा दुई नेता निकट प्यानल बनेको थियो। कास्की अधिवेशनमा उपमहासचिव गुरुङ निकट मनबहादुर गुरुङ निर्वाचित भएका थिए भने अधिकारी निकट दामोदर पौडेल ‘बैरागी’ पराजित हुन पुगेका थिए।
प्रदेश अधिवेशनमा छनौट भएका प्रतिनिधि कसका पक्षमा को भन्दै अहिले गुरुङ र अधिकारी निकट नेता कार्यकर्ता हिसाबकिताब गर्दैछन्।
दुबै पक्षले आफुहरू बहुमतमा रहेको दाबी गरिरहेका छन्। अधिकारी पक्षधर नेता कार्यकर्ताहरू आइतबार पोखरामा बैठक नै बसेर विश्लेषण गरेको बताइएको छ।
गण्डकीमा एमाले भित्र गुरुङ र अधिकारी पक्षबीच देखिएको गुटबन्दी एमालेको केन्द्रीय राजनीतिकै परिणाम भएको कार्यकर्ताहरू बताउँछन्। एमालेभित्र हुर्कदै गरेको शंकर पोखरेल पक्षले स्थायी कमिटी सदस्य अधिकारीलाई समर्थन गरेका छन् भने विष्णु पौडेल पक्षले गुरुङलाई समर्थन गरेका छन्।
सोमबारदेखि सुरू हुने एमाले गण्डकीको अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनका लागि महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नेता पोखरा आइसकेका छन्। अधिवेशनको उद्घाटन समारोहमा एमालेले ५० हजार बढी समर्थक सडकमा उतार्ने उद्घोष गरेको छ।
अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको एमाले गण्डकीका इन्चार्ज विष्टले बताए। उनका अनुसार पोखराको हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्ध चोक र बसपार्कबाट झाँकीसहित जुलुस निकाल्नेछ। जुलुसमा सहभागी गराउन जिल्ला-जिल्लाबाट पनि एमालेले कार्यकर्ता उतार्ने तयारी गरिरहेको छ। अधिवेशनमा ११ जिल्लाका ८५ वटा पालिकाबाट ९ सय ७ जना प्रतिनिधि छनौट भएका छन्।
गण्डकीका ८५ वटा पालिकामध्ये कास्कीको रुपा गाउँपालिकाबाहेक अन्य पालिकाहरूबाट सर्वसम्मत प्रदेश प्रतिनिधि छनौट भएका छन्। रुपा गाउँपालिकाबाट ९ जना प्रतिनिधिका लागि १८ जनाले उम्मेदवारी दिएपछि चुनाव भएको जनाएको छ। अधिवेशनले हाल ५ सय ५९ जना रहेको प्रदेश कमिटी घटाएर १६५ सदस्यीय कमिटी निर्वाचित गर्ने इन्चार्ज विष्टले जानकारी दिए।