चिल्ला सडक र व्यवस्थित ढल निकासले पछिल्लो समय जनकपुरको रूप फेरिएको छ। बजार क्षेत्रका सडक फराकिला र चिल्ला भएपछि स्थानीयले धुलो र दुर्गन्धबाट राहत महसुस गरेका छन्।
देश-विदेशबाट बर्सेनि लाखौं पर्यटक घुम्न आउने जानकी मन्दिर बजारको बीचैमा छ। त्यसको तीनतिरको बाटो कालोपत्रे गरेर चिटिक्क पारिएको छ। मन्दिरको ठिक पछाडिको बाटो भने अहिले पनि जीर्ण छ, जहाँ हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्छ। घरभित्रैसम्म धुलो पस्छ।
जनकपुरको कोर एरियामा पर्ने यो ठाउँमा सडक निर्माणका लागि सम्बन्धित निकायहरू उदासीन बनेको स्थानीयको गुनासो छ।
किराना पसल चलाइरहेका बलिराम ठाकुर दिनमा तीनपटक सामानमा जमेको धुलो सफा गर्दा हैरान हुन्छन्।
‘सफा गरेलगत्तै गाडी चलेपछि फेरि धुलो उड्छ अनि कपडाले सफा गर्नुपर्छ। वर्षामा पानी जमेर बिजोगै हुन्छ। यो एरियालाई जनकपुरको मुटु भन्छन्। तर चारैतिर सडक बनिसक्दा पनि यहाँ बनाउन कसैले चासो देखाएको छैन,’ उनले भने, ‘हामीले वडाध्यक्ष, नेताहरूलाई भनेर थाकिसक्यौं तर कसैले सुनिदिएनन्।’
जानकी मन्दिरको ठीकपछाडिको यो जीर्ण सडकलाई रहिमान पथ भनिन्छ।
२०४९ सालमा तत्कालीन जनकपुर नगरपालिकाले यो सडक कालेपत्रे गरेको थियो। २०७४ सालमा ढल निकासका लागि ह्युम पाइप ओछ्याउन कालोपत्रे उक्काइयो। एकीकृत सहरी विकास परियोजनाअन्तर्गत् एडिबीको ऋण सहयोगमा ह्युम पाइप राखिएको थियो। त्यस क्रममा भताभुंग पारिएको सडक छ वर्ष बित्दा पनि बनाउने सुरसार छैन।
सडक जीर्ण, फोहोर र अव्यवस्थित बनेपछि यहाँका स्थानीय मात्र होइन, पर्यटकसमेत दिक्दार छन्।
‘जानकी मन्दिर आउने पर्यटक वरिपरि पनि घुम्छन्। मन्दिरपछाडि मस्जिद देखेर धेरैलाई यसबारे जिज्ञासा हुन्छ। उनीहरू यसको इतिहास र अवस्था बुझ्न आउँछन्,’ स्थानीय असगर अलि भन्छन्, ‘जानकी माताको ठाउँमा आउने पर्यटक वरिपरिको दुरावस्था देखेर खिन्न भएर जान्छन्। उनीहरूको मनमा जनकपुरबारे नकरात्मक भावना उत्पन्न हुन्छ।'
उनले अगाडि भने, 'यहाँको मस्जिदमा देश-विदेशबाट मुस्लिम धर्मावलम्बीहरू आउँछन्। उनीहरू सबैले यो सडकका बारेमा सोध्छन्, नराम्रो भन्छन्।’
यो मस्जिदको नाम हनफिया जामे मस्जिद हो। जानकी मन्दिर निर्माण भएकै समयमा यो मस्जिद बनेको थियो।
सडक निर्माणका लागि स्थानीयले झन्डै पाँच वर्षदेखि जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएका छन्। अघिल्ला मेयर लालकिशोर साह र अहिलेका मेयर मनोज साहलाई ज्ञापनपत्र बुझाएर सडक निर्माण गर्न माग गर्दा पनि चासो नदेखाएको स्थानीय नसरूल कवारीले बताए।
‘यहाँ पछाडि पारिएका वर्गहरूको बस्ती छ। यो बस्तीमा पावर र पहुँच पुग्ने ठूला मान्छे छैनन्। त्यसैले यो सडक बनेको छैन,’ उनले भने।
जानकी मन्दिरकै पछाडि पर्ने मस्जिदको दक्षिणर्फ निर्माण सुरू भएको तीन सय मिटर कालेपत्रे सडक पनि अलपत्र छ।
संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख प्रदीप खनालका अनुसार एडिबीको ऋण सहयोगमा पाँच वर्षअघि जनकपुरको झन्डै १० किलोमिटर सडक र ३२ किलोमिटर ढल निकासका लागि ह्युम पाइप बिछ्याउने काम सम्पन्न भएको थियो। त्यसलगतै दोस्रो चरणको काम सुरू हुने भनिए पनि अहिलेसम्म सुरू भएको छैन।
‘मन्दिरपछाडिको ठाउँ पनि ऐतिहासिक क्षेत्र भएकाले चौडा गर्न मिलेन। मन्दिरको संरचना भत्काउन पनि मिलेन। यो सडक ढलान/पिच नगरी इन्टरलकिङ टाइल बिछ्याएर निर्माण गर्नुपर्ने प्रस्ताव छ,’ खनालले भने, ‘वातावरणीय, समाजिक प्रभाव मूल्यांकन भइसकेको छ। छिट्टै एडिबी, संघीय आयोजना कार्यान्वयन एकाइ र उपमहानगरबीच त्रिपक्षीय सम्झौता गरिनेछ।’
यो सडक बनाउन डिपिआर पुनरावलोकनको काम भइरहेको उनले जानकारी दिए। निर्माणमा ढिलाइ भएको तीन सय मिटर कालोपत्रे सडक दसैंअगावै सम्पन्न गर्ने तयारी भइरहेको पनि उनले बताए।
यो सडक जनकपुरमा सहरीकरण सुरू भएसँगै निर्माण भएको थियो। जानकी मन्दिरसँगै जोडिएर रहेकाले २०२१ सालमा पहिलोपटक इट्टा ओछ्याएर ढलान गरिएको थियो।
जानकी मन्दिर पछाडिको यो बस्तीको इतिहास झन्डै तीन सय वर्ष पुरानो छ, जति बेला जनकपुर सहर बनिसकेकै थिएन।
महन्त ऋषिहरू चतुर्भुज गिरी र सुरकिशोर दासले सीताको जन्मस्थलका रूपमा जनकपुरधाम पत्ता लगाएपछि जनकपुर एउटा धार्मिक ठाउँ मानिएको हो। अहिले निर्माण भएका जानकी मन्दिर र राम मन्दिर त्यति बेला सानातिना मठ थिए।
मठमा पूजापाठ तथा ठूला भण्डारा हुन्थे। ठूलो संख्यामा टाढा-टाढाबाट सन्त-महन्त सहभागी हुन आउँथे। उनीहरूका लागि अन्नपात र सागसब्जी जरूरी भयो। त्यस बेला सुरकिशोर दासका पाँचौं पुस्ताले तरकारी उब्जाउने पेसा गर्ने मुस्लिमहरूलाई (कवारी समुदाय) जनकपुर बोलाए। उनीहरूलाई मठको जग्गा दिएर यहाँ बसाए।
पूर्व वडाध्यक्षसमेत रहेका असगर अलिका अनुसार राम पट्टी र जानकी पट्टी गरी दुवै मठले जग्गा दिएर मुस्लिम समुदायलाई बसाएका थिए। उनी आफैं कवारी समुदायका सोह्रौं पुस्ता रहेको बताउँछन्।