नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रक्रिया अझै सुरू हुन सकेको छैन।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार बिहान ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र मध्यान्ह १२ बजेदेखि मतदान सुरु गर्ने भनिएको थियो।
दिउँसो तीन उम्मेदवारहरुको अन्तिम नामावली समेत निकालिएको छैन। अधिवेशन प्रयोजनका लागि गठन गरिएको निर्वाचन आयोगले निश्चित समयअनुसार कार्यतालिका पछ्याउन सकेको छैन।
मतदान प्रक्रिया अझै लम्बिने देखिएको छ। शनिबार बेलुकादेखि मात्र मतदान सुरु हुने सम्भावना रहेको अध्यक्ष मण्डलका एक सदस्यले बताए। ‘छलफलको प्रयास पनि जारी छ, कतिले फिर्ता लिने र कतिले निर्वाचन लड्ने भन्ने विषयमा आन्तरिक छलफल पनि टुंगिएको छैन,’ उनले भने, ‘यही समयअनुसार मतदान बेलुकादेखि मात्र सुरू हुने देखिन्छ।’
प्रदेश कमिटीका निवर्तमान अध्यक्ष विनोदकुमार शाहले भने निर्वाचन प्रक्रिया सुरु भईसकेकाले सहमतिको प्रयास नभएको बताए।
कमिटीमा जान चाहने प्रतिनिधिहरुबीचको आन्तरिक छलफल चलिरहेकाले तोकिएअनुसार तालिका कार्यान्वयन हुन नसकेको प्रदेश कमिटीका निवर्तमान सचिव टेकराज पछाईले बताए।
शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो। शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका छ।
एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ। शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन्।
कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
अब मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ। शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।