नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठकका लागि तयारी सुरू गरेको छ।
पार्टीले लिने नीति तय गर्न कांग्रेसले मंसिर १३, १४ र १५ गते महासमिति बैठक गर्न लागेको हो।
बैठक तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला सभापति, भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन्।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। नीतिबारे छलफल नगरी महाधिवेशनले नेतृत्व मात्रै चयन गरेको थियो।
त्यसबेला महाधिवेशनको छ महिनापछि नीति अधिवेशन गर्ने केन्द्रीय समितिबाटै निर्णय भएको थियो। तर नीति अधिवेशन नगरी महासमिति बैठक गर्न लागिएको हो।
१४ औं महाधिवेशनमा कांग्रेसले विधान पारित गरेको थियो भने सभापतिमा शेरबहादुर देउवासहित १३४ जना केन्द्रीय सदस्यलाई निर्वाचित गरेको थियो।
कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय रहने व्यवस्था छ।
सभापति देउवाले समावेशी सिद्धान्तअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा अहिलेसम्म ३१ जना मनोनीत गरेका छन्। सभापतिमा पराजित शेखर कोइराला स्वत: केन्द्रीय सदस्य भएका थिए।
‘पार्टीका विविध नीतिका बारेमा छुट्टै नीति महाधिवेशन गरी छलफल गर्ने वैधानिक प्रावधान राखिएकोमा नीति महाधिवेशनको काम महासमितिले नै गर्ने गरी साउनको केन्द्रीय समितिले महासमिति बैठक मंसिरमा गर्ने निर्णय गरिसकेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भनेका छन्।
महासमिति बैठकमा छलफल हुनुपर्ने एजेन्डाका विषयमा असोज ४ देखि ८ गतेसम्म चलेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सुझावसमेत दिइसकेका छन्।
महासमितिमा पेश गर्ने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति गठन भइसकेको छ। यो समितिमा केन्द्रीय पदाधिकारी र प्रवक्ता प्रकाशशरण महत सदस्य छन्।
महासमितिमा सांगठानिक प्रतिवेदन महामन्त्री गगन थापाले पेश गर्नेछन्। समसामयिक राजनीतिक प्रस्ताव भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेश गर्नेछन्। केन्द्रीय सदस्यहरूले महासमिति बैठक काठमाडौंभन्दा बाहिर आयोजना गर्न सुझाव दिए पनि कांग्रेसले काठमाडौंमै बैठक गर्ने तय गरिसकेको छ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमिति बैठकले आशाको सञ्चार गर्न सक्नुपर्ने बताएका छन्।
‘युवाहरू विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएको, लगानी वातावरण नबनेकोजस्ता विषयमा गम्भीर छलफल गरेर पार्टीले महासमिति बैठकबाट दृष्टिकोण बनाउनुपर्छ,’ उनले भने।
केन्द्रीय सदस्यहरूले महासमिति बैठकका एजेन्डाबारे सुझाव दिइसकेका छन्। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार अहिलेको निर्वाचन प्रणालीमा सुधारको समेत बहस आवश्यक भइसकेको छ।
‘समावेशीको मूल मर्मलाई नमार्ने गरी निश्चित क्षेत्रमा निश्चित लिंग र समुदायको प्रतिनिधिबीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी निर्वाचन प्रणालीलाई प्रत्यक्ष बनाउन अरू दलहरूसँग समेत संवाद गरी संविधान संशोधनका लागि पहल कांग्रेसले गर्नुपर्छ,’ शिवाकोटीले केन्द्रीय समितिमै यो प्रस्ताव राखेका थिए।
अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले मुलुकमा रोजगारीको सिर्जना, सेवा क्षेत्र विस्तार र राजश्व अवस्थामा वृद्धि गर्ने नीतिका बारेमा छलफल आवश्यक रहेको बताए।
‘के कारणले हाम्रो राजनीति अस्थिर बन्न पुग्यो, कसैले निर्वाचन प्रणालीकै कारण अस्थिरता थपियो भनेका छन्। यी मुद्दामा पार्टीले महासमिति बैठकबाट दृष्टिकोण निर्माण गर्नुपर्छ,’ घिमिरेले भने।
पार्टीले विभिन्न क्षेत्रबारे लिने नीतिका बारेमा महासमिति बैठकमा गम्भीर छलफल हुनुपर्ने केन्द्रीय सदस्य भीम पराजुली बताउँछन्।
‘देशबाट युवासँगै बौद्धिकता र सीप पनि पलायन भइरहेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीजस्ता क्षेत्रका नीतिका विषयमा कांग्रेसले गम्भीर छलफल गरी दृष्टिकोण बनाएर जानुपर्छ,’ केन्द्रीय समितिमा सुझाव दिँदै उनले भनेका थिए।
केन्द्रीय सदस्यहरूका सुझावसहित थप विषयसमेत समावेश गरी महासमिति बैठक अघि एजेन्डा तय गरिने कांग्रेसले जनाएको छ। महासमिति बैठकले नेतृत्व चयनबाहेक समग्र नीति निर्माण गर्ने विधानको व्यवस्था छ। महाधिवेशन भएको वर्षबाहेक वर्षेनी कम्तीमा एक पटक महासमिति बैठक गर्नुपर्छ।
महासमिति बैठकमा पार्टी विधानका केही बुँदासमेत परिमार्जन गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन्।
केन्द्रीय समिति बैठक हरेक २ महिनाको अन्तरालमा बस्नुपर्ने विधानको व्यवस्था छ। तर विषय खासै नहुने भएकोले दुई महिनामा बस्नुपर्ने व्यवस्था परिमार्जन गर्न केही केन्द्रीय सदस्यहरूले माग पनि गरेका छन्। पार्टी विधान समीक्षा र परिमार्जन पनि महासमिति बैठकको एक मुख्य सम्भावित एजेन्डा हो।
महासमिति बैठकमा क-कसले भाग लिन पाउँछन्?
कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय समिति अधिवेशनबाट २५ जना महाधिवेशन प्रतिनिधि र तीमध्येबाट ११ जनाका दरले महासमिति सदस्य चयन भई केन्द्रमा आउँछन्। १४ औं महाधिवेशनमा चार हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि थिए।
महासमिति सदस्यले पार्टीको नीति बनाउँछन्। १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १८१५ जना महासमिति सदस्य आउँछन्। विभिन्न २५ जिल्लामा महासमिति सदस्य चुन्न नै बाँकी छ। निर्वाचन समितिले यही असोज २९ गतेभित्र बाँकी रहेका ठाउँमा निर्वाचन गरी महासमिति सदस्यको सूची केन्द्रमा पठाइसक्न सम्बन्धित जिल्लाहरूलाई परिपत्र गरिसकेको छ।
महासमिति बैठकमा केन्द्रीय पदाधिकारीदेखि सदस्यले पनि भाग लिन पाउँछन्। कांग्रेसमा अहिले १६६ जना केन्द्रीय सदस्य छन्। सभापति देउवाले महासमिति बैठकका लागि १५ जनालाई मनोनीत गर्न पाउने विधानको व्यवस्था छ तर अहिलेसम्म देउवाले कसैलाई पनि मनोनीत गरेका छैनन्।
नेपाली जनसम्पर्क समितिबाट पनि महासमिति सदस्य आउने व्यवस्था छ। एउटा देशबाट बढीमा छ जना महासमिति सदस्य आउन मिल्छ।
निवर्तमान केन्द्रीय कार्यसमिति सदस्य पनि एक पटकका लागि स्वत: महासमिति सदस्य हुने विधानको व्यवस्था छ। भ्रातृ संस्थाबाट तीन जनाका दरले प्रतिनिधि सहभागी हुन पाउनेछन्। करिब दुई हजार दुई सय महाधिवेशन प्रतिनिधि बैठकमा सहभागी हुनेछन्।