नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्युँताउन अब सम्भव नरहेको बताएका छन्।
सुर्खेतमा बुधबार प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको बताए।
‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन। नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन्,’ ओलीले भने।
उनले कम्युनिष्ट हुँ भन्नेहरू एमालेमा आउनुपर्ने बताए।
उनले प्रदेश अधिवेशन सकेसम्म सहमतिसाथ नेतृत्व चुन्न आग्रह गरे। सहमति नभए चुनावी प्रतिस्पर्धा हुने पनि उनले बताए। तर अधिवेशन सकिएपछि जित र हारतिरभन्दा पनि पार्टीका काममा लाग्नुपर्ने उनले बताए।
उनले अहिले एमालेमाथि घेराबन्दी भइरहेको बताए। तर चुनौती सामना गरेर अघि बढ्ने उनको भनाइ छ।
‘विदेशीको इसारामा चल्नेहरूले अहिले सरकार चलाइरहेका छन्,’ ओलीको आरोप छ, ‘एमाले राजनीतिक नेतृत्व मात्र होइन विकास र समृद्धिको पनि अगुवाइ गर्न सक्ने पार्टी हो।’
अहिलेको सरकारले विपक्षीका कुरा नसुन्ने ओलीको भनाइ छ। तर आन्दोलनरत शिक्षकहरूसँग भने एमालेकै दबाबले सरकारले सहमति गरेको ओलीले दाबी गरेका छन्।
उनले गठबन्धन सरकार गैरजिम्मेवार रहेको पनि बताए। ‘यो सरकारलाई ०८४ मा एमालेले परास्त गर्छ,’ उनले भने।