नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन भोलि (बुधबार) देखि सुरू हुँदैछ।
असोज १० र ११ गते तोकिएको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कर्णाली प्रदेश कमिटीले जनाएको छ। अधिवेशनमा ६०४ जना प्रतिनिधिले भाग लिनेछन्। अधिवेशनमा ५ हजार जनालाई सहभागी गराउने नेकपा एमाले प्रदेश कमिटीको लक्ष्य छ।
पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनबाट पाँच जना पदाधिकारीसहित १३५ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरिनेछ। एमालेले कर्णाली प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने योजना बनाएको छ। छलफलका माध्यमबाट नेतृत्व चयनका लागि हरसम्भव प्रयास गर्ने योजना एमालेको छ।
कर्णाली प्रदेशको नेतृत्व गरिरहेका नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्टले नेतृत्व चयनका लागि लोकतान्त्रिक पद्धति भित्रको सहमतिको अधिकतम प्रयास गरिने बताए।
‘लोकतान्त्रिक विधिअन्तर्गत छलफल र सहमतिका माध्यमबाट नेतृत्व चयन पनि एक हो, हामीले यही विधि अपनाउँछौं,’ भट्टले भने, ‘छलफलका माध्यमबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएको खण्डमा निर्वाचनमार्फत नेतृत्व छान्ने अर्को विकल्प त छँदैछ।’
सचिव भट्टले प्रदेशको नेतृत्व तथा कमिटीमा आउन चाहनेले स्वतन्त्र रूपमा आफ्नो इच्छा जाहेर गर्नुपर्ने बताए। उनले गुट उत्पन्न हुने वातावरण सिर्जना हुनेगरि धारणा बनाउन नहुने पनि बताए।
‘स्वतन्त्र रूपमा आफ्नो इच्छा जाहेर वा मनोनयन दर्ता गर्न सबैले पाउँछन्, तर म फलानोको टिम भनेर हिँड्न मिल्दैन,’ उनले भने, ‘पार्टीको निर्देशनले पनि त्यो गर्न मिल्दैन, टिम बनाएर हिँड्दा अर्को तिर लैजान्छ, गुट निर्माणतर्फ मोडिन्छ। यसले पार्टीलाई एकता भन्दा पनि विभाजनमा लैजान्छ।’
सचिव भट्टले कर्णाली प्रदेशमा पनि गुट निर्माण हुन नदिने विषयमा आफूहरू गम्भीर रहेको बताए। पार्टीभित्र लोकतान्त्रिक अभ्यास पूर्ण रूपमा कार्यान्वयन गर्ने कुरामा भने दुई मत नरहेको उनले विश्वास व्यक्त गरे।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीका वर्तमान अध्यक्ष विनोदकुमार शाहले पनि प्रदेश कमिटीको नेतृत्वका लागि स्वतन्त्र हिसाबले प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाइएको बताए।
‘इच्छा जाहेर गरेपछि पार्टीले तपाईले प्रतिस्पर्धा गर्न पाउनुहुन्न भन्ने धारणा राख्दैन, हामी पूर्ण रूपमा प्रजातन्त्रको अभ्यास गरिरहेका छौं,’ उनले भने, ‘सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कुरामा पनि जबरजस्ती गरिँदैन, सबैको चित्त बुझाएर, छलफल गरेर सहमतिका आधारमा अघि बढ्छौं।’
उनले अहिले चर्चामा आएका भनिएका प्रतिस्पर्धी र गुटका विषयमा दलभित्र कसैले आफ्नो यकिन धारणा बनाउन नहुनेमा जोड दिए।
अहिले कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्यहरू यामलाल कँडेल र गोरख बोगटीलाई दुई समूहका रूपमा हेरिएको छ। निर्वाचन भए उनीहरूको तर्फबाट प्रतिस्पर्धीको प्यानल तयार हुने आँकलन छ। नेतृत्वमा जान चाहने आकांक्षीको भने स्पष्ट धारणा आएको छैन।
कर्णाली प्रदेश अधिवेशनका लागि पार्टी सदस्यका आधारमा जिल्लागत रूपमा ५५४ जना र मोर्चा संगठनबाट ५० जना गरी ६०४ जना प्रतिनिधि छनोट भएका छन्। प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन्। कुल अधिवेशन प्रतिनिधिमध्ये समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि छन्।
जिल्लागत छनोट भएका प्रतिनिधिहरूमा सुर्खेतबाट एक सय १२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालीकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३ र रूकुम पश्चिमबाट २३ जना छन्।
सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे गर्नेछन्। अधिवेशनको उद्घाटन सत्रमा महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।
बिहीबार बन्दसत्र हुनेछ। बन्दसत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिनेछ।