पोखरा सहरको घना बस्तीबीचबाट बग्ने फिर्के खोला 'डम्पिङ साइट' मा परिणत भएको निष्कर्ष ‘फिर्के खोला नापजाँच समिति’ ले दिएको छ।
फिर्के खोला पोखराको अँधेरी कुनाबाट सुरू भएर आठ किलोमिटर यात्रा गरेपछि फेवातालमा टुंगिन्छ। यो खोला अस्तित्व मटिने क्रममा छ। अतिक्रमणले केही ठाउँमा खोलो मासिएको छ।
मासिने अवस्थामा पुगेको फिर्के खोला जोगाएर पर्यटकीय क्षेत्र बनाउने भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यले फिर्केको धार पत्ता लगाउन साउन २ गते भूमि सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेका थिए। त्यसको भोलिपल्टै खोलाको सिमाना छुट्याउने पहिलो पिलर गाडेका थिए।
फेवातालमा मिसिएकै ठाउँमा फिर्केको सिमाना छुट्याउने पहिलो पिलर गाड्दै मेयर आचार्यले खोला मिच्ने कसैलाई नछाड्ने चेतावनी दिएका थिए।
‘फिर्के खोला अतिक्रमण भएको छ। हामी समय दिएर संरचनाहरू हटाउन लगाउँछौं,’ पिलर गाडेपछि उनले भनेका थिए, ‘अदालत, प्रहरीलगायत जुनसुकै सरकारी संरचना भए पनि हटाउँछौं, कुनै मोलाहिजा हुँदैन।’
त्यसको केही दिनपछि मेयर आचार्य फेरि खोलाको नापजाँच भइरहेको ठाउँमा पुगे। त्यहाँ पनि उनले खोला अतिक्रमण गर्नेलाई नछाड्ने चेतावनी दोहोर्याए।
‘खोलामाथि बस्नुभएको छ भने त्यसको उपचार छैन,’ उनले भनेका थिए, ‘खोलाको लालपूर्जा व्यक्तिसँग हुँदैन। कसैले खोला किनबेच गरेको छ भने त्यो अपराध हो। तिनलाई कारबाही हुन्छ।’
खोलामाथि भइरहेको अतिक्रमणको फेहरिस्तसहित शनिबार प्रतिवेदन बुझेपछि मेयर आचार्यको बोली मलीन सुनिएको छ।
प्रतिवेदन बुझ्दै उनले भने, ‘सबैसँग सल्लाह गरेर सौहार्दपूर्ण ढंगले खोला खाली गर्ने अभियान चलाउँछौं।’
पौडेल नेतृत्वको प्राविधिक टोलीले बुझाएको प्रतिवेदनमा नापी कार्यालयले उपलब्ध गराएको नक्सा अनुसार खोला तीन मिटरदेखि ४० मिटरसम्म फैलिएको उल्लेख गरिएको छ। जम्मा आठ किलोमिटर लामो खोलामाथि १६० वटा घर र संरचना बनेको प्राविधिक टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ।
सर्वेक्षक पौडेलका अनुसार कसैले खोलाको केही भागमात्र अतिक्रमण गरेका छन् भने कसैले खोला पूरै मासेका छन्।
प्रतिवेदनमा खोलो अतिक्रमण गरेर ९७ वटा अस्थायी संरचना बनेका छन्। खोला पूरै मासेर बनाइएका स्थायी संरचना १५ वटा छन्। यसरी नै बनाएका संस्थागत अस्थायी संरचना ८ वटा र संघसंस्थाका स्थायी संरचना ११ वटा छन्।
निजी, सार्वजनिक र सरकारी संरचना अस्थायी र स्थायी गरी १६० वटा छन्। यी सबै संरचनाले फिर्के खोला मिचेका छन्।
‘कतिपय संरचना शतप्रतिशत खोलामाथि नै छन्। कतिपयले केही भाग मिचेका छन्,’ पौडेलले सेतोपाटीसँग भने, ‘हामीले खोला घरको मात्र प्राविधिक अध्ययन गरेका हौं, खोलामाथि बनेका संरचना हटाउन सुझाव दिएका छौं।’
फिर्के खोला मिचेर संरचना बनाउनेहरूमा सशस्त्र प्रहरी बल तालिम केन्द्र, लिटल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज लगायतका निकायहरू छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार खोला मिच्नेमा सरकारी र सार्वजनिक संरचनाभन्दा निजी संरचना बढी छन्। प्रतिवेदनमा खोला मिच्ने व्यक्ति, सरकारी निकाय र संस्थाको नाम र ठेगाना समेत खुलाइएको छ।
फिर्के खोलामा बगेर आउने फोहोरको डंगुरले फेवातालको ११ रोपनी ४ आना भाग पुरेर चौर बनेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। नापी कार्यालयको रेकर्डअनुसार २०६० सालयता मात्र एउटा खोलाको फोहोरले पुरिएर तालको त्यति जमिन चौर बनेको हो।
दुई दशक अघिसम्म फिर्के खोलाको पानी स्थानीयवासीले पिउने गर्थे। हाल मिचिन बाँकी रहेको खोलाको भाग फोहोरले छोपिएको छ। आसपासका निजी तथा सार्वजनिक संरचनाका फोहोर सिधै खोलामा फाल्दा दुर्गन्ध फैलिएको कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
पोखरा महानगरको वडा नम्बर २, ४, ५, ७, ८, ६, १७ र १८ हुँदै बग्ने फिर्के खोलाको गहिराइ ४ देखि ९ मिटरसम्म छ। अतिक्रमणले दिनानुदिन साँघुरिएर खोलाको स्वतन्त्र बहाव गुमेको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदनमा लेखिएको छ, ‘फिर्के खोला फोहोर फालेर डम्पिङ साइटजस्तो भएको छ। खोलाले बगाएर प्लास्टिकजन्य फोहोर, सीसा र विषाक्त रसायन फेवातालसम्म पुर्याएको छ। जसका कारण प्राणीको जीवनमा संकट पर्नुका साथै मानव जीवनमा समेत घातक रोगहरू बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको छ।’
संरक्षणका लागि अविलम्ब कदम चाल्न नसके फिर्के खोलाको अस्तित्व समाप्त हुने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ।
आफ्नो प्रतिबद्धता अनुसार फिर्के खोला मिचेर बनाइएका १६० वटा संरचना हटाउनुपर्ने चुनौती मेयर आचार्यलाई छ।
खोला संरक्षणका लागि ठूलो समूहको दबाब पनि उनीमाथि छ।
पोखराका नागरिक अगुवा रामबहादुर पौडेल महानगरले गठन गरेको प्राविधिक टोलीले दिएको निष्कर्ष अनुसार काम गरेर खोलाको अस्तित्व फर्काउनु पर्ने बताउँछन्।
‘खोला मिचेर बनेका संरचना हटाउन मेयरसाबले खुट्टा कमाउन हुँदैन। हामी साथमा छौं,’ उनी भन्छन्, ‘फिर्के खोलाको अतिक्रमण हटाएपछि फेवाताल, सेती नदी लगायत अरू सार्वजनिक ठाउँको अतिक्रमण पनि हटाउने बाटो खुल्छ।’
एसियाली विकास बैंक (एडिबी) को दिगो पर्यटन कार्यक्रम अन्तर्गत फिर्के खोलाको दुबै किनारमा बनाउने भनिएको साइकल लेनका लागि फेरि अर्को प्राविधिक नापजाँच गर्नुपर्ने देखिएको छ। मापदण्डअनुसार खोलाको भाग खाली गर्न अझ बढी संरचना भत्काउनुपर्ने प्राविधिक टोलीका सदस्यहरू बताउँछन्।
‘खोला मिचेर डेढ सय वटाभन्दा बढी संरचना बनेका रहेछन्। मापदण्डअनुसार हुनुपर्ने खोलाको क्षेत्रभित्र घरैघर छन्,’ प्राविधिक टोलीका एक सदस्य भन्छन्, ‘खोलाको मापदण्ड लागु गरेर हटाउन सकियो भने साइकल लेन र पैदलमार्ग बनाउन सकिन्छ।’
तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकले २०७५ पुस ६ गते फिर्के खोलाको मापदण्ड बीचबाट दायाँ–बायाँ १०–१० मिटर कायम गरेको थियो। उक्त मापदण्ड खारेज गरी पाऊँ भन्दै खोला किनारका बासिन्दाले उच्च अदालत, पोखरामा रिट दायर गरेका थिए।
अदालतले २०७६ असार ३० गते मापदण्ड घटाउन नहुने ठहर गर्यो तर व्यक्तिका नाममा भएका घर जग्गाको उचित मुआब्जा दिएर खाली गराउन महानगरलाई आदेश दियो।
अदालतको आदेशविपरीत हुने गरी मेयर आचार्यले खोला क्षेत्रको मापदण्ड घटाउन सक्ने छैनन्।
प्राविधिक टोलीले पनि फिर्केको दायाँ–बाँया १०–१० मिटर क्षेत्र हुने मापदण्ड लागु गर्न सके मेयरले भनेझैं साइकल लेन र पैदलमार्ग बनाउन सकिनेछ।
‘फिर्के करिडोर बनाउन सक्यौं भने पोखराको पर्यटनमा फाइदा हुन्छ। खोला वरिपरिका बासिन्दालाई पनि फाइदा हुन्छ,’ नागरिक अगुवा पौडेल भन्छन्, ‘फिर्के खोला संरक्षणमा मेयरलाई हाम्रो साथ र खबरदारी दुबै रहन्छ।’
फिर्के खोला मिचेर बनाइएका संरचना हटाएर निर्धारित मापदण्डअनुसार खोलाको क्षेत्र कायम गर्न र खोलाको अस्तित्व फर्काउन भने मेयर अचार्यलाई सजिलो देखिँदैन।