नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कानुन निर्माण र जनजीविकाका सवालबारे केन्द्रित रहेर ध्यानाकर्षण गराउने भएको छ।
सोमबार सकिएको केन्द्रीय समितिको बैठकले चीन भ्रमणबाट प्रधानमन्त्री दाहाल फर्किएलगत्तै डेलिगेसन गई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
‘संविधान कार्यान्वयनका सन्दर्भमा जति कानुनहरू बन्नुपर्ने हो, ती बनेका छैनन्। कानुन बनाउन सरकारले पहल लिनुपर्छ,’ महामन्त्री गगन थापाले भने, ‘जनजीविकाका सवालबारे र आर्थिक संकटका बेला फजुल खर्च नगर्न पनि प्रधानमन्त्री र सरकारलाई पार्टीले आग्रह गर्ने निर्णय भएको छ।’
कांग्रेसले गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले गरेका केही निर्णय सरकारले लागु नगरेको पनि समीक्षा गरेको छ।
‘योभन्दा अघिल्लो केन्द्रीय समितिबाट सरकारसँग राखेका केही माग छन्। हामीले गराएका ध्यानाकर्षण छन्, ती कयैं कुरा पूरा भएका छैनन्,’ थापाले भने, ‘ती निर्णय लागु गर्न प्रधानमन्त्रीलाई भ्रमणबाट फर्केपछि भेटेरै आग्रह गर्ने कुरा भएको छ। सरकारसँग सम्बन्धित सुशासन, सेवा प्रवाह र राहतका विषयमा प्रधानमन्त्री र सरकारलाई ध्यानाकर्षण गराउँछौं।’
प्रदेशहरूमा मन्त्रालय थप गर्ने र संघदेखि प्रदेशसम्म सल्लाहकार राख्दा फजुल खर्च हुने गरेको निष्कर्ष कांग्रेसको छ।
साथै कांग्रेसले संघ र प्रदेश सरकारका कामकारबाहीको गम्भीर समीक्षा गर्ने भएको छ।
‘सरकार सञ्चालनबारे धेरै साथीहरूको चासो, सुझाव र आलोचना छ। सरकारमा गएका साथीहरूका पनि हामीसँग बताउने कुरा होलान्,’ थापाले भने, ‘मन्त्रीहरूसँग बसेर कामकारबाहीबारे समीक्षा गर्ने समझदारी भएको छ।’
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिलेको सरकार पनि जनताको नजरबाट आलोचनाको केन्द्रमा रहेको बताए।
‘यो गठबन्धनको सरकार हो, भनेजस्तो काम गर्न सकेन,’ उनले भने, ‘मूल्यवृद्धि भएको छ। अर्थतन्त्र उकासिएको छैन। शान्ति सुरक्षाका विषयमा पनि केन्द्रीय समितिमा आवाज उठेको छ। यो कुरालाई हामीले सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।’
केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीका दृष्टिकोण सरकार प्रमुखसँग राख्ने निर्णय गरिएको बताए।
‘कुन विषयमा के काम गर्न जरूरी छ, हाम्रो पार्टीले राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र ती काम अविलम्ब गर्नका निम्ति अनुरोध र दवाव दिने निर्णय भएको छ,’ उनले भने, ‘कांग्रेस सम्मिलित सरकारलाई जनताका पक्षमा काम गर्न पार्टीका निर्णय बुझाउने कुरा भएको छ।’
कांग्रेसभित्र केन्द्रीय समितिको निर्णय कार्यान्वयन नभई अलपत्र परेकोमा आलोचना हुँदै आएको थियो।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा सरकारका कामकारबाहीबारे उठेका विषयमा प्रधानमन्त्री दाहाल स्वदेश फर्केपछि कुराकानी गरिने बताए।
‘प्रधानमन्त्रीज्यू असोज १३ गते फर्कनुहुन्छ, त्यसपछि यहाँ उठेका विषयबस्तु टिम संयोजक नाताले हामी कुराकानी गर्छौं,’ उनले भने, ‘हाम्रो पार्टीबाट मन्त्री हुनुभएका साथीहरू पनि बेलाबेला सामूहिक रूपमा छलफल गरिरहेका छौं। केन्द्रीय समिति र संसदीय दलप्रति उत्तरदायी हुँदै परिस्कृत ढंगले प्रभावकारी रूपमा काम गर्नेछौं।’
उनले अनुभव र व्यवहारबाट केही सुधार गरी नयाँ सोचबाट जाने पनि बताएका थिए।