प्राय: समसामयिक राजनीतिक घटनाक्रमबारे गरमागरम बहस हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हिजोआज फरक विषयमाथि केन्द्रित हुन थालेको छ।
मुलुकको आर्थिक अवस्था खस्केको, युवा विदेश पलायन भएको र जनतामा निराशा देखिएको विषयमाथि गत असोज ४ गतेदेखि जारी केन्द्रीय समितिमा नेताहरूले धारणा राखिरहेका छन्।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले दैनिक हजारौं युवा विदेश पलायन भइरहेको बताए। आइतबार केन्द्रीय समिति बैठकमा बोलेका उनले युवा विदेशिएको र त्यसको नैराश्यता कांग्रेसमाथि आइरहेको बताए।
‘कांग्रेसले रोजगारीको सिर्जना, सेवा क्षेत्र विस्तार र राजश्व अवस्थामा वृद्धि गर्नमा महत्व दिनुपर्छ,’ घिमिरेले भने, ‘देशमा रोजगारी अवस्था सिर्जनाका लागि नीति नै सुधार गर्नुपर्ने खाँचो छ।’
उनले युवा विदेश पलायन हुनुमा राजनीतिक अस्थिरता पनि एक कारण रहेको बताए।
‘के कारणले हाम्रो राजनीति अस्थिर बन्न पुग्यो, कसैले निर्वाचन प्रणालीकै कारण अस्थिरता थपियो भनेका छन्। यी मुद्दामा पार्टीले आगामी महासमिति बैठकबाट दृष्टिकोण निर्माण गर्नुपर्छ,’ उनले भने।
अबको आमचुनाव सम्भवत: (२०८४) मा करिब २० लाख युवा नयाँ मतदाता हुने बताउँदै अर्का केन्द्रीय सदस्य विनोद चौधरीले सोधे, ‘नयाँ सोच र दृष्टिकोण भएका युवालाई पार्टीमा आकर्षित गर्ने रणनीति के छ?’
चौधरीले दिनहुँ तीन हजार हाराहारीमा युवा विदेश गइरहेको बताए।
‘ती युवाहरू विदेश पलायन भएका छन् र विदेश पुगेर पुराना पार्टीहरूलाई गाली गरिरहेको देखिन्छ,’ उनले भने, ‘स्वदेशमै केही गर्छु भन्ने सोच राखेका मानिसलाई स्वार्थको द्वन्द्वका नाममा पाखा लगाउने काम बन्द गरियोस्। यस्तो प्रवृत्ति रहिरहे अझै पलायन हुने बढ्छन्।’
अबको १० वर्षमा मुलुक कस्तो बन्छ भन्नेबारे पार्टीहरूसँग दस्तावेजसमेत नभएको चौधरी बताउँछन्।
‘नेपाल भन्दा बाहिर रहेका नेपालीलाई स्वदेश कसरी फर्काउन सकिन्छ भन्नेबारे पनि अब छलफल गर्नुपर्छ,’ उनले भने, ‘रोजगारी सिर्जना गर्न सकियो भने केही मानिस स्वदेश फर्कन सक्छन्।’
उनले केन्द्रीय समिति बैठकमा कम्तीमा दुई दिन आर्थिक मुद्दाबारे बहस गरिनुपर्ने बताए।
‘हामीले उद्यमीका मर्म बुझ्न सकेका छैनौं,’ उनले भने, ‘फराकिलो दृष्टिकोणबाट पार्टी पुनर्निर्माणमै जुट्नुपर्छ।’ पलायन भएका युवाहरूलाई स्वदेश फर्काउने विषयमाथि पनि गम्भीर ढंगबाट छलफल हुनुपर्ने चौधरीले बताए।
केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीले प्रजातन्त्र र अर्थतन्त्र एकअर्काका परिपुरक भएको बताए।
‘कृषि नै मुख्य रोजगारको क्षेत्र हो,’ उनले भने, ‘पर्यटनको पनि मुलुकमा प्रचुर सम्भावना छ, यतातर्फ पनि युवाहरूलाई सरिक गराऔं।’
उनले मुलुकको साधन र स्रोतको उच्चतम प्रयोग गरी युवालाई स्वदेशमै राख्नुपर्ने बताए। ‘युवालाई मुलुकमै राख्न सकिएन भने भोलिका दिनमा झन् चुनौतीहरू थपिँदै जान्छन्,’ उनले भने।
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राज्यका हरेक निकाय र संस्थाहरूप्रति मानिसको भरोसा खस्कनु पनि युवाहरू पलायन हुनुको कारण रहेको तर्क गर्छन्।
‘नेतृत्वप्रति आशा निराशामा परिणत भइसकेको छ,’ उनले भने, ‘महँगीले नागरिक पिल्सिएका छन्। हरेक नागरिक आफ्ना सन्तानलाई कक्षा १२ कहिले पास गराउने र विदेश पढाउने भनेर सपना देखिइरहेका छन्।’
मानिसहरूले आफैँलाई दाउमा राखेर सन्तानलाई विदेश पठाइरहेको उनको भनाइ छ।
‘विद्यार्थीहरू कक्षा १२ पास गरेपछि विदेश जानुपर्छ भन्ने मनोविज्ञानमा छन्,’ उनले भने, ‘विद्यार्थी विदेश, शिक्षकमा सडकमा अनि मतदुरी गर्ने मलेसिया जाँदैछन्। विदेश जानेहरूको भिड विमानस्थलमा देख्दा हरकोहीको आँखा रसाउँछ।’
विगतमा काम गर्न नसकेकोमा क्षमायाचना गरी नयाँ शिराबाट राजनीतिलाई अघि बढाउन उनले नेतृत्वलाई आग्रह गरेका छन्।
केन्द्रीय सदस्य विद्या तिमिल्सिनाले लाखौं नेपाली विदेश पलायन भएको बताइन्।
‘सहरका कलकारखाना बन्द छन्, गाउँमा विकास हुन सकेको छैन,’ उनले भनिन्, ‘लाखौं नेपाली विदेश पलायन भइसके।’
नेताहरूले आफ्नोभन्दा पनि मुलुक र जनताकै चिन्ता गर्नुपर्ने उनले बताइन्। ‘विदेशिने मन भएका नेपाली युवालाई स्वदेशमै राखेर रोजगारी दिनुपर्यो,’ उनले भनिन्।
मुलुकमा व्यवस्थासँगै अर्थतन्त्र पनि राम्रो हुनुपर्ने केन्द्रीय सदस्य कल्याणी रिजाल बताउँछिन्।
‘मुलुकमा अर्थतन्त्र खस्कँदो छ,’ उनले भनिन्, ‘जीविकोपार्जनका लागि पनि युवाहरू विदेशिनु परेको छ, विद्यार्थी भौतारिएर अर्काका देशमा पुग्नु परेको छ।’
जनताले स्वदेशमै रोजगारी खोजेको उनले बताइन्।
‘जनताका ठूला आशा र भरोसा छैनन्, यही मुलुकमा जागिर खान पाऊँ भन्ने छ,’ उनले भनिन्, ‘महँगी नियन्त्रण होस्, प्रशासनिक क्षेत्रले समयमै काम गरिदिऊन् भन्ने छ।’
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका समस्या समाधान गर्न नसक्ने हो भने सरकारमा बसिराख्नुको औचित्य नहुने बताए।
‘हाम्रो मुलुकमा लगानीको वातावरण बन्न किन सकिरहेको छैन?,’ उनले प्रश्न गरे, ‘दुबईमा संसारभरबाट लगानी ओइरिएको छ, हामी लगानी वातावरण बनाउन किन सक्दैनौं?’
लगानी वातावरण बनाउन सके रोजगारी सिर्जना र पुँजी पलायन पनि रोक्न सकिने पौडेल बताउँछन्।
‘यस्ता विषयमा के-कस्तो नीति लिने भनेर महासमिति बैठकबाट दृष्टिकोण बनाऔं,’ उनले भने, ‘त्यो दृष्टिकोण अहिलेको सरकारले लागु नगरे समर्थन फिर्ता लिनुपर्छ।’
केन्द्रीय सदस्य भीम पराजुलीले देशबाट युवासँगै बौद्धिकता र सीप पनि पलायन भइरहेको बताए।
‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारीजस्ता क्षेत्रका नीतिका विषयमा अब कांग्रेसले गम्भीर छलफल गरी दृष्टिकोण बनाएर अघि बढ्नुपर्छ,’ उनले भने।
यो पनि: प्रचण्ड सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न कांग्रेसमा माग