नेपाली कांग्रेसका तीन जना नेता; शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइराला एकै परिवारका हुन्।
विराटनगरका यी तीनै जना नेताहरू अहिले पनि केन्द्रीय सदस्य छन्। शशांक यसअघि महामन्त्री भइसके भने शेखर र सुजाता भने अहिलेसम्म केन्द्रीय सदस्य मात्रै भएका छन्।
०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा शेखर सभापति उम्मेदवार भए पनि उनलाई आफ्नै परिवारका सदस्यहरू शशांक र सुजाताले सहयोग गरेका थिएनन्।
त्यसबेलादेखि राजनीतिक कार्यक्रममा कोइराला परिवारका यी तीन नेता एकै मञ्चमा देखिएका थिएनन्।
शेखर आफ्नै प्यानल खडा गरी महाधिवेशनमा सभापति उठेर शेरबहादुर देउवासँग पराजित भए। सुजाता नेता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठेर पराजित भइन् भने शशांक केन्द्रीय सदस्यमा निर्वाचित भए।
विभिन्न कालखण्डमा गरी कोइराला परिवारबाट मातृका, बिपी, गिरिजा र सुशील गरी चार जना प्रधानमन्त्री बनेका थिए। एक पटक गृहमन्त्री र ०१५ सालमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका बिपीको कांग्रेस र नेपाली राजनीतिक वृत्तमा अहिले पनि धेरै चर्चा हुने गर्छ।
कांग्रेस केन्द्रीय कार्यालयले यसपालि गरेको बिपी साहित्य महोत्सवमा 'परिवारले बुझेका बिपी' शीर्षकमाथि शेखर, सुजाता र शशांकले बिपीबारेका केही कुरा खोलेका थिए।
महाधिवेशनमा बढेको एकै परिवारको राजनीतिक तिक्तता कांग्रेसकै मञ्चबाट माझामाझ भएको छ। अब १५ औं महाधिवेशनमा एकढिक्का भएर जाने तीनै जना नेताहरूले प्रतिबद्धता जनाएका छन्।
साहित्य महोत्सवमा बिपीबारे सबैभन्दा धेरै उनका छोरा शशांकले रोचक कुरा सुनाए। उनी खुलेर प्रस्तुत भएका थिए। शेखर र सुजाताले शशांकको दाँजोमा बिपीसँग कम संगत गर्न पाएका थिए।
आफ्ना बुवा बिपीबारे शशांकले सुनाएका रोचक कुरा:
'प्रधानमन्त्री पद भनेको फाटेको जुत्ताजस्तै हो'
बिपीले हामीसँग भन्नुहुन्थ्यो- प्रधानमन्त्री पद भनेको फाटेको जुत्ताजस्तै हो। अहिले एउटाले लगाउँछ, एकैछिन पछि अर्कोले लगाउँछ। त्यसको महत्व हुँदैन। प्रधानमन्त्री बनेर के-के काम गर्नुहुन्छ भन्ने महत्वपूर्ण हो।
प्रधानमन्त्री हुँदा जनताको सेवा गरियो कि गरिएन? पार्टीतर्फ फर्केर हेरियो कि हेरिएन? यो महत्वपूर्ण छ। जनताका काम केही नगर्ने भए प्रधानमन्त्री मात्रै बनेर के गर्ने?
'साथीहरूले मलाई तेरो बा ठग हो भनेपछि रोएँ'
मेरो पिता बिपी कोइरालाको परिचयबारे मैले पहिलो पटक भारतको पटनास्थित सेन्ट जेभियर्स स्कुलमा कक्षा २ मा पढ्दा थाहा पाएँ। मेरा साथीहरूले तेरो बा के गर्छन्, कहाँ छन् भनेर सोधेका थिए। मैले बा जेलमा हुनुहुन्छ भनेको थिएँ। यो कुरा सुनेपछि साथीहरूले मलाई भने- यो त ठगको छोरा रहेछ। यो कुरा सुनेर मलाई पीडाबोध भयो, म रोएँ।
केहीबेरमा प्रिन्सिपल (फादर) आउनुभयो। शशांक, के भयो तिमीलाई भन्दै काखमा बसाउनुभयो। साथीहरूले भनेका कुरा मैले उहाँलाई सुनाएँ। उहाँले भन्नुभयो- तिम्रो बुवा चोर डाँका भएर जेल बसेको होइन, तिमीहरू (नेपालीहरू) को अधिकार स्थापित गर्न जेल बसेको हो। कसैलाई कुटपिट गरेर उहाँ जेल गएको होइन भनेर प्रिन्सिपलले भन्नुभएपछि मैले पहिलोचोटि बिपी को हो भनेर परिचय पाएँ। यो कुरा साथीहरूले पनि थाहा पाए।
'बिपीले १०० रुयैयाँको नोट झारेर हामीलाई परीक्षण गर्नुभयो'
बिपीले हामी (छोराछोरी) लाई बेलाबेला परीक्षा लिनुहुन्थ्यो। एक दिन उहाँले दराज खोल्नुभयो, जानीबुझिकन एक सय रुपैयाँको नोट दराजमुनि पुग्ने गरी खसाल्नुभयो। हामी नजिकै बसेर हेरिरहेका थियौं।
त्यसपछि उहाँ बाहिर जानुभयो। मेरो बहिनी चेतनाले त्यो नोट टिपिन्। ओहो!, बाले पैसा यसै छाड्नुभएछ भनिन्। पछि बा आउनुभयो। त्यसपछि भन्नुभयो- मेरा छोराहरू वाहियात रहेछन्, यही एउटी छोरी बाठी रहिछ भन्नुभयो।
'बिपीले दिएको ६० रुपैयाँ फालिदिएँ'
यो कुरा म दार्जिलिङ पढ्दै गर्दाका बेलाको हो। मलाई काठमाडौं जान मन लाग्यो। आमालाई यो कुरा भनें। तर उहाँसँग खर्च (पैसा) थिएन, बासँग माग भन्नुभयो। मैले बासँग पैसा मागेको जम्मा ६० रुपैयाँ दिनुभयो, मैले हुर्याइँदिएँ पैसा। ६० रुपैयाँले काठमाडौं जान सकिन्छ? भनें।
बिपीले कागजको टुक्रा ल्याउनुभयो र लेख्न थाल्नुभयो। रिक्सा भाडा यति, बस चढ्न टिकटको यति, खाना र बासको यति भन्दै ५५ रुपैयाँ ६० पैसामा काठमाडौं पुग्न सकिने गरी विवरण निकाल्नुभयो। अनि भन्नुभयो- तँलाई झन् ६० रुपैयाँ दिइराखेको छु।
त्यहाँ नजिकै केशव नाम गरेका व्यक्ति पनि हुनुहुन्थ्यो। उहाँ अहिले शहीद भइसक्नुभयो। त्यसबेला केशव काठमाडौं बाक्लो गरी आउजाउ गर्नुहुँदो रहेछ। उहाँलाई बिपीले सोध्नुभयो- केशव काठमाडौं जान कति खर्च लाग्छ? उहाँले पनि जवाफ दिनुभयो- ५५ रुपैयाँ ६० पैसा।
केशवका कुरा सुनेपछि बिपीले भन्नुभयो- छोरा भनेर मैले झन् तँलाई दुई/तीन रुपैयाँ बढी दिइरहेको छु।
'निल आर्मस्ट्रङ चन्द्रमा जाने बेला बिपी छतमै बस्नुभयो'
त्यसबेला अमेरिकाले निल आर्मस्ट्रङ चन्द्रमा पठाउने चर्चा थियो। एक महिनादेखि बिपी छतमै बस्नुभएको थियो। हामी पनि उहाँसँगै छतमै बसियो, सुतियो। निल आर्मस्ट्रङ कसरी चन्द्रमा जान्छन् भन्ने विषयमा एक महिनादेखि बिपीले परिवारका सदस्यहरूलाई भन्दै आउनुभएको थियो।
जुन दिन निल आर्मस्ट्रङ चन्द्रमामा जाँदै थिए- त्यो दिन अर्धचन्द्र देखिएको थियो। 'हाफ मुन' देखेपछि आमा (सुशीला) ले बिपीलाई भन्नुभयो- त्यत्रो सानो जुन भएका बेलाभन्दा त पूरा चन्द्र देखिएका बेला गएको भए बस्न सजिलो हुन्थ्यो नि!
यो कुरा सुनेर बिपीले भन्नुभयो- हे भगवान्! मैले झन् चन्द्रमामा मानिस जाने सारा प्रक्रियाबारे एक महिनादेखि भन्दै आएको थिएँ, केही बुझेनौं तिमीहरूले?
'बिपीले रोटी बेरेर पठाएको पात पनि जतनसाथ राख्नुभयो'
बिपीको स्मरण शक्ति एकदमै राम्रो थियो। उहाँ ३०/४० वर्ष पहिले भेटेका मानिसलाई पनि ठ्याक्क-ठ्याक्क चिन्न सक्नुहुन्थ्यो। भेटेका मानिसलाई अत्यन्तै माया गर्नुहुन्थ्यो।
उहाँ एकपटक पश्चिम जानुभएको रहेछ। त्यहाँ फापरको रोटी खान दिएका रहेछन्। उहाँलाई त्यो रोटी मन परेछ, मीठो लागेछ। मलाई फापरको रोटी काठमाडौंमै पठाइदिनू भनेर उहाँ आउनुभएछ।
त्यो बेला सडक थिएन। काठमाडौं आउन ७ दिन हिँड्नुपर्थ्यो। पश्चिमका ती मानिसले बिपीलाई पठाएको रोटी घरमा आइपुग्यो। पकाएको धेरै दिन भएकोले होला रोटी मक्किसकेको थियो। दुई पातमा बेरेर पठाइएको रोटी खान मिल्ने खालको थिएन। बिपीले रोटी फालेर पात भने पखालेर राख्नुभयो।
मैले बा, के गर्नुभएको यो? रोटी फालेर पात किन राख्नुभएको भनेर सोधेँ। उहाँले भन्नुभयो- ती मानिसले मलाई यति श्रद्धा र माया गरेर रोटी पठाए, त्यसको सम्मान गरेको हुँ। रोटी आइपुगेको प्रमाणका लागि मैले यी पात श्रद्धापूर्वक राखेको हुँ भन्नुभयो।
'बिपी ह्यान्सम हुनुहुन्थ्यो, केटीहरू पछि पर्थे'
मेरी आमा नपढेकी, काली र पुड्की हुनुहुन्थ्यो। बिपीको आत्मवृत्तान्तमा पनि यो कुरा समावेश छ। तर बा भने अग्लो, गोरो हुनुहुन्थ्यो। ह्यान्सम हुनुहुन्थ्यो, केटीहरू उहाँका पछि पर्थे। तर बिपीको गर्लफ्रेन्ड थिए कि थिएनन् त्योचाहिँ थाहा भएन।
'दसैंमा पाइन्ट किनिदिनु न बा भनेको, बजार घुमाएर रित्तै घर ल्याउनुभयो'
म त्यसबेला बनारसमा पढ्दै थिएँ। दसैं आइरहेको थियो। मैले बिपीलाई भने- बा, मलाई पाइन्ट चाहियो, किनिदिनू।
बिपीले सोध्नुभयो- तँसँग कति पाइन्ट छन्? मैले भनें- ५/६ वटा होला। अनि ६ वटै पाइन्ट एकैपटक लगाउँछस् भन्नुभयो।
एकछिनपछि रिक्सामा हामी बजार गयौं। बाले पसलमा झुण्डाएर राखेका पाइन्ट देखाएर भन्नुभयो- यो सबै पाइन्ट मेरै हो भन्ठान्। उहाँले पाइन्ट किनिदिनु भएन। हामी त्यसै घर फर्कियौं। किताब किन्नमा उहाँलाई रूची थियो, कपडामा थिएन।
सुजाताले पनि बिपीसँगका केही कुरा सुनाइन्।
'कोइराला निवासमा बिहानै चिया'
बिपीका पालामा कोइराला निवासमा बिहान ४ बजे नै चिया तयार हुन्थ्यो। उठ्ने, चिया खाने, देश र दुनियाँबारे छलफल गर्ने र दिनभरि ती कुरा कार्यान्वयन गर्ने गरिन्थ्यो।
अहिले बिहान ४ बजे नै चिया त पाक्दैन। ६ बजेतिर तयार हुन्छ। समयअनुसार हामी (कोइराला परिवार) पनि परिवर्तन भएका छौं। तर हाम्रो सिद्धान्तमा कुनै फरकपन आएको छैन। पार्टी र प्रजातन्त्र बचाउँदै जनताका लागि काम गर्दै जाने हो।
चिया खानु, गफ गर्नु र एकता देखाउनुभन्दा पनि हामी मिलेरै बसेका छौं भन्ने हो। अहिले हाम्रो आ-आफ्नो परिवार छ, घर छ। हामीहरू बेलाबेला एकैठाउँमा बसेर पनि चिया खाइरहेका हुन्छौं। हामीहरूबीच कुनै पनि विवाद छैन।
कोइराला परिवारमा बेमेल छ भनेर बाहिर हल्ला छ, त्यस्तो होइन। हामी एकै ठाउँमा छौं।
'भारतमा गान्धी र नेपालमा कोइराला परिवार'
भारतमा गान्धी र नेपालमा कोइराला परिवारका तेस्रो पुस्ता संघर्ष गर्दैछन्। कतिपयले यसलाई जोडेर पनि हेर्ने गरेको पाइन्छ।
गान्धी परिवारको धेरै ठूलो संघर्ष छ। यसलाई कसैले होइन भन्न सक्दैन। केही समय ओझेल पर्दैमा बिलिन भएर कोही जाँदैन भन्ने लाग्छ। इतिहास, लिगेसी र संघर्ष गरेको परिवार फेरि माथि आउँछ। राहुल गान्धी पनि अहिले आइरहनुभएको छ।
'बिपीले छोरी-बुहारीलाई पढाउनुभयो, पौडिन र घोडा चढ्न सिकाउनुभयो'
कोइराला परिवारमा महिलालाई सम्मान गरिन्थ्यो। तर त्यसबेला शिक्षा नपुगेर हो कि किन हो महिलालाई तल्लो स्तरबाट हेर्ने गरिँदै रहेछ। मैले यो कुरा राजनीतिमा आएपछि मात्रै थाहा पाएको हुँ।
तर कोइराला परिवार फरक थियो। बुहारीलाई पनि छोरीसरह सम्मान थियो।
बिपी बाबाले सुशीला आमालाई बिहे गरेर ल्याउँदा उहाँ पढ्न, लेख्न जान्नु हुँदैनथ्यो। बिपीले नै पढ्न र लेख्न सिकाउनुभएको हो। बिपीले उहाँलाई अंग्रेजी पनि सिकाउनुभयो। मलाई र शशांकलाई बिपीले अंग्रेजीमै चिठी पठाउनुहुन्थ्यो।
बिपीले छोरी-बुहारीलाई पौडी खेल्न लगाउनुभयो। घोडा चढ्न भन्नुभयो। घोडा चढेर मनमोहन दाजुको घर गएर चिठी दिन र त्यहाँबाट पनि चिठी लिएर आउन भन्नुहुन्थ्यो।
बिपीले लेखेका धेरै चिठीबारे मलाई सम्झना छैन। तर सुन्दरीजल जेलभित्रको रूखमुनि बसेर लेख्नुभएको चिठीको कुरा भने याद गर्न सक्छु। उहाँले त्यो चिठीमा चराले गुँड बनाएकोजस्ता कुरा लेख्नुभएको छ। जेलको साँघुरो ठाउँमा बसेर पनि उहाँले प्राकृतिक वर्णन गरिएका चिठी लेख्न सक्नुहुन्थ्यो।
शेखरले भने आफूले बिपीसँग एकदमै कम समय कुराकानी र संगत गर्न पाएको बताए।
'बिपी भन्नुहुन्थ्यो- गिरिजा ६ दिनसम्म घर आएन'
मैले सानोदेखि नै गिरिजाप्रसाद कोइरालालाई देखेको हुँ। उहाँको काम गर्ने शैली, मेहनत, अथक प्रयास थियो जस्तो लाग्छ मलाई।
बिपी भन्नुहुन्थ्यो- गिरिजा आइतबार गाडी (त्यसअघि साइकल) चढेर घरबाट निस्केपछि ६ दिनसम्म आउँदैन।
उहाँ घरबाहिरै हुनुहुन्थ्यो। साथीभाइहरूसँग असाध्यै घुलमिल रहेछ उहाँको।
गिरिजामात्र होइन, बिपीकै डायरी पढ्दा पनि उहाँ पनि चलायमान हुनुहुन्थ्यो भन्ने देखिन्छ। उहाँले कांग्रेसको संगठन कसरी बन्यो भन्ने प्रश्नमा पूर्वबाट काठमाडौं जाँदा संगठन बन्दै गयो भन्नुभएको छ।
'विदेशीसँग पैसा लिए विकास हुँदैन, भुइँफुट्टा जन्मिन्छन् भन्नुहुन्थ्यो'
बिपीले भुइँफुट्टा वर्ग जन्मिन्छन् भनेर भन्नुहुन्थ्यो। विदेशी शक्तिहरूबाट पैसा लिएर विकास गर्न खोजियो भने त्यसको कमिसन भुइँफुट्टा वर्गमा जान्छ र त्यसले न विकास हुन्छ न त जनतालाई फाइदा हुन्छ भनेर उहाँले भन्नुभएको थियो। अहिले यही कुरा त भइरहेको छ।
'बिपीको स्मरण शक्ति तगडा थियो'
बिपी क्यान्सरबाट पीडित भइसक्नुभएको थियो। त्यसबेला लमजुङ वा तनहुँ कहाँबाट हो एक जना साथी आउनुभएको थियो।
उहाँले सान्दाजु, मलाई चिन्नुभयो भन्नुभयो। बिपीले, ठ्याक्कै नाम बिर्से। तपाईंको घर १२/१३ सिँढी चढेपछि पुगिन्छ, घरको देब्रेपट्टी पिपलको बोट छ भनिदिनुभयो।
ती मानिस बिपीका जवाफ सुनेर अवाक् भए। उहाँ २०१५ सालको चुनावअघि टिकट बाँड्न जाँदा त्यो घरमा पुग्नुभएको रहेछ।