जनकपुरधाम उपमहानगरपालिका–२५, केउटानी टोल शोकमग्न छ। टोलका रञ्जित मुखिया र पुनिताका १७ महिने छोरा रोहनको एक हप्ताअघि आफ्नै घरअगाडिको ढलान नालीको चेम्बरमा डुबेर मृत्यु भएपछि पुनिताको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।
छोराको वियोगमा मुर्छित पुनितालाई लगातार स्लाइन पानी चढाउनु परेको छ। सडकको चेम्बरमा ढक्कन नलगाउँदै सबै काम सकिएको भनेर भुक्तानी दिने संघीय आयोजना कार्यान्वयन इकाइ धनुषा र काममा लापरबाही गर्ने उपभोक्ता समिति भने केही नभएको जसरी चुपचाप छन्।
मृतक बालक रोहनकी हजुरआमा आनन्दीदेवीका अनुसार उपभोक्ता समितिका सदस्यहरूले घटना नउछाल्न र समाजमै छलफलबाट मिलाउन दबाब दिएका छन्।
‘उपभोक्ता समितिका मान्छेले पैसा खाए, ढक्कन लगाएनन्। अहिले मिल्नुपर्छ भन्दैछन्। उनीहरूले मेरो नाति ल्याएर दिन्छन् र म मिल्नु? उनीहरूले भ्रष्टाचार गर्दा मेरो नातिको ज्यान गयो, भोलि अरूका बच्चा पनि मर्लान्,’ आनन्दीदेवी प्रश्न गर्छिन्, ‘गल्ती गर्नेलाई कहिले हुन्छ कारबाही? कसले सुरू गर्छ कारबाही?’
उनले आफ्नो नातिको ज्यान जानमा जिम्मेवार सबैलाई कडा कारबाही होस् भन्ने आफूले चाहेको बताइन्। भक्कानिएको स्वरमा उनले भनिन्, ‘मेरो परिवारमा बोल्ने पुरूष मान्छे छैन। म महिलाको कुरा कसैले सुन्दैन। समाजका मान्छेहरू मिल्नुपर्छ भन्छन्। हाम्रो कुरा बोलिदिने कोही पनि छैन।’
उनका अनुसार उपभोक्ता समितिका मान्छेहरूले प्रहरीमा उजुरी नगर्न भनेका छन्। उजुरी गरेको अवस्थामा उल्टै फसाइदिने धम्की दिएका छन्।
बालकको मृत्युको भोलिपल्ट टोलवासीहरू घटनाको विरोधमा वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। पीडित परिवारलाई राहत दिनुपर्ने र खुला चेम्बरमा ढक्कन लगाउनुपर्ने माग राखेको केउटानी टोलका बासिन्दा रामबाबु मण्डलले बताए।
‘हामी गरिब मान्छे, दिनभर बच्चा पक्रेर राख्न सक्दैनौँ। नालीको खुला चेम्बरमा मोटरसाइकल दुर्घटना पनि भएको छ। टेम्पो पनि पल्टेको छ। अरू बच्चा पनि चेम्बरमा परेका छन्,’ रामबाबु भन्छन्, ‘बच्चा नमेरको मात्रै हो, धेरै जना खाल्डो (चेम्बर) मा खसिसके। तुरून्तै ढक्कन लगाउनुपर्यो। पैसा खाएर काम नगर्नेलाई मुद्दा चलाउनुपर्यो।’
वडा नम्बर २५ का वडाध्यक्ष चन्देश्वर साहले टोलबासी र उपभोक्ता समितिका सदस्यहरू बीच शनिबार छलफल गर्ने तयारी गरेका छन्।
साहका अनुसार मौखिक रूपमा बोलाउँदा उपभोक्ता समितिका सदस्यहरू छलफलमा सहभागी हुन तयार नभएर पछि वडा कार्यालयले उपस्थितिका लागि पत्र पठाएको छ।
‘कानूनी कारबाही हुन बढी समय लाग्न सक्छ। गाउँमै छलफल गरेर पीडित परिवारलाई राहत दिलाउन र सडकको बाँकी कामका लागि छलफल बोलाइएको हो,’ उनले भने, ‘उपभोक्ता समितिका सदस्यहरू विभिन्न बहानामा घरबाट भागेको भन्ने बुझ्नमा आएको छ।’
आर्थिक वर्ष २०७७/७८ मै बनेको सडकमा अहिलेसम्म चेम्बरको ढक्कन लगाइएको छैन। संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयले ५१ वटै चेम्बरको ढक्कन लगाएर सबै निर्माण कार्य सम्पन्न भइसकेको ठहर गरी उभभोक्ता समितिलाई भुक्तानी दिएको थियो।
चेम्बरमा लगाउनुपर्ने ढक्कन ठेकेदारले आफ्नो घरको छतमा थन्क्याएर राखेका छन्। आफूले कामको पैसा पाउन बाँकी रहेको ठेकेदारको भनाइ छ।
सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत केउटानी टोलमा साढे तीन सय मिटर सडक ढलान भएको थियो। संघीय आयोजना कार्यान्वयन इकाइको धनुषा कार्यालयको ५० लाख रुपैयाँ बजेटमा सडक ढलान भएको थियो।
चेम्बरसहित १६ फिट चौडाइ र साढे तीन सय मिटर लम्बाइ भएको उक्त सडक निर्माणको लागि स्थानीयवासी शम्भु मण्डलको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको थियो। उपभोक्ता समितिले ठेकेदारमार्फत् काम गराएको थियो।
समितिका अध्यक्ष शम्भुका भाइ इन्जिनियर अजित मण्डलले ठेक्का लिएका थिए। उनले आफूले ठेक्का लिएर काम गरेको स्वीकार गरे पनि ठेक्काको रकम खुलाएका छैनन्।
उक्त बजेटमा उपभोक्ता समितिमै विवाद छ। समितिका सदस्य कौशल किशोर चौधरीले साढे तीन लाख रुपैयाँ लिएको ठेकेदारको आरोप छ। चौधरीले आरोप अस्वीकार गर्दै आएका छन्।
उपभोक्ता समितिमार्फत् हुने काम निर्माण कम्पनीलाई ठेक्कामा दिन नपाइने नियम छ। निर्माण भएको तीन वर्ष नपुग्दै सडक समेत ठाउँठाउँमा फुट्न थालेको छ। ठेकेदारले इस्टिमेटबमोजिम काम नगर्दा सडक फुट्न थालेको स्थानीयवासीको आरोप छ।
टोलका एक बासिन्दाले भने, ‘सिमेन्ट थोरै राखेर रातारात ढलान गरे। हामीले विरोध गर्दा झगडा पर्यो, मारपिटै भयो। ढक्कन पनि लगाएनन्। काम पनि गुणस्तरहीन भयो।’
संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय, धनुषाका प्रमुख प्रदीप खनालले उपभोक्ता समितिको बदमासीले बालकको मृत्यु भएको बताए।
उनले भने, ‘उपभोक्ता समितिले ठेक्कामा काम गरायो। ठेकेदारले पैसा नपाएको भनेर ढक्कन लगाएन। हामीले सबै पैसा उपभोक्ता समितिको खाताका पठाइसक्यौं।’
उपभोक्ता समिति र ठेकेदारबीच पैसाको विवाद मिलेको छैन। चेम्बरमा परेर एक बालकको मृत्यु भयो, त्यस्तै अर्को घटना हुन सक्नेतर्फ उपभोक्ता समितिले आँखा चिम्लेको छ। पीडितले परिवारले न्याय पाएको छैन।