नेपाली कांग्रेसका तीन जना नेताहरू- शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइराला बुधबार एकै मञ्चमा देखिए।
बिपी साहित्य महोत्सवमा ‘परिवारले बुझेका बिपी’ छलफलमा वक्ताका रूपमा उनीहरूलाई निम्त्याइएको थियो।
छलफलको अन्तिमतिर कोइराला परिवार नै एकजुट नभएको प्रसंग उठ्यो। ०७८ को १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक एकजुट भएनन्।
शेखर सभापति पदमा उठे पनि शेरबहादुर देउवासँग पराजित भए। सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठे पनि पराजित भइन्।
महामन्त्री भइसकेका शशांक केन्द्रीय सदस्य मात्रै उठेर लोकप्रिय मतसहित जिते।
दाजु शेखर सभापति उठे पनि उनका पक्षमा शशांक खुलेका थिएनन् न त उपसभापति उठेकी सुजाताकै पक्षमा खुले, उनी मौन बसिदिए।
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। अब ०८२ मंसिरभित्र १५ औं महाधिवेशन गर्नुपर्ने विधानको बाध्यकारी व्यवस्था छ। महाधिवेशन आउन समय धेरै भए पनि अब सभापति को उठ्ने भन्ने चर्चा र तयारी कांग्रेसभित्र भइसकेको छ।
बिपी साहित्य महोत्सवमा कोइराला परिवारका तीन जना नेता एकै मञ्चमा देखिएपछि भावी सभापतिको पनि खोजी भयो।
केही कार्यकर्ताहरूले कोइराला परिवार एकजुट हुन्छ कि हुँदैन, भयो भने को हो सभापति उम्मेदवार भन्ने जस्ता प्रश्न उठान गरेपछि शेखर, सुजाता र शशांकले आफूलाई लागेका कुरा सुनाएका थिए।
शशांकले १४ औं महाधिवेशनको प्रसंग निकाले।
‘म त्यसबेला मिलाउन लागेको थिएँ। म सबैलाई मिलाउन सक्ने व्यक्ति पनि हुँ, अरूलाई मिलाउने तर आफू परिवर्तन नहुने स्वभाव छ,’ उनले भने, ‘१४ औं महाधिवेशनमा म शेखर दातिर पनि लागिनँ, शेरबहादुरजीतिर पनि लागिनँ।’
शेरबहादुर र शेखरलाई मिलाउन आफूले उत्प्रेरकको भूमिका खेलेको दाबी शशांकको थियो। ‘उहाँहरूलाई मिलाउन लागेको थिएँ। मचाहिँ एक्लै केन्द्रीय सदस्य उठेँ,’ उनले भने।
शशांकले सभापतिमा आफू उपयुक्त पात्र भएको बताए। तर १५ औं महाधिवेशनअघि देशैभर घुमेपछि मात्रै यो विषयमा निचोडमा पुगिने उनको भनाइ छ।
‘१५ महाधिवेशनअघि म देशैभर जान्छु। साथीहरूका भावना के छन्, मलाई सभापतिमा देख्न चाहन्छन् कि चाँहदैनन् त्यो बुझ्छु,’ उनले भने, ‘राजनीतिमा आफूले चाहेर मात्रै हुन्न। साथीहरूले के भन्छन्। युगअनुसारको नेता आवश्यक पर्छ।’
उनले कोइराला परिवार एक ढिक्का रहेको बताए। ‘हामी एक छौं, एक भएर जाने कुरा शेखर दा र सुजाताले पनि भन्नुपर्यो,’ उनले भने, ‘हामी तीनै जना एकै ठाउँमा बस्ने हो। एउटा परिवारको सदस्य मिलाउन सक्दैनौं भने देश र पार्टी मिलाउने कसरी?’
सुजाताले अब आउने महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन्।
‘अबको महाधिवेशनमा हामी एक हुन्छौं, हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन्, ‘कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु।’
शेखरले आफू सधैं एकताकै पक्षमा रहेको बताए।
‘म सधैं एक भएर जानुपर्छ भन्नेमै छु, बिगारेको त उहाँहरू (सुजाता र शशांक) ले हो, नत्र समस्या नै आउँदैनथ्यो,’ शेखरले भने, ‘मैले पाउने सम्मान त तपाईंहरूबाट पाइरहेकै छु, तर दु:ख त कार्यकर्ताहरूले हामीहरूले भन्दा धेरै पाउनुभएको छ।’
उनले ९० सिट हाराहारी भएको कांग्रेसले सरकारको नेतृत्व लिन नसकेको बताए। ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री महत्वपूर्ण हो। मन्त्रीहरू केही होइन। सरकारमा कांग्रेसका नौ जना मन्त्री छन् तर कहाँ छन् खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अहिले अराजकताबाट देश चलिरहेको छ।’
उनले १५ औं महाधिवेशनमा सभापति को लड्ने कुनै परिवारको सल्लाहबाट भन्दा पनि कार्यकर्ताहरूले नै निर्णय लिनुपर्ने बताए।
‘उहाँहरू (सुजाता र शशांक) ले नेतृत्वका लागि हामी प्रयास गर्दैछौं त भन्नुभयो तर १४ औं महाधिवेशनमा त प्रयास गर्नुभएन,’ उनले भने, ‘१५ औं मा एक ठाउँमा उभिने कुरा ठिक छ।’
उनले सुशासनका पक्षमा कोइरालाहरू एक रहेको बताए। ‘पदका लागि लडाइँ हुन्छ। लडाइँ राम्रो कि नराम्रो मूल्यांकन हुँदै जाला,’ उनले भने, ‘सुशासन हुनुपर्छ भन्नेमा कोइरालाहरू एक छन्, यसमा ढुक्क हुनुहोस्।’