नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ल्याएको वार्षिक कार्यतालिकाअनुसार पार्टीले कार्यक्रमहरू गर्न थालेको छ।
साउन २ गतेको केन्द्रीय समितिमा महामन्त्री थापाले पेश गरेको कार्यतालिका साउन १० को बैठकबाट पारित भएको थियो।
कार्यतालिकामा मिति किटान गरिएका कार्यक्रमहरू कांग्रेस केन्द्रीय कार्यालयदेखि पार्टीका तल्ला समितिले लागु गर्न थालेका छन्।
विधान कार्यान्वयन र पार्टी सुदृढीकरणबारे थापाले कार्यतालिका ल्याएका थिए। कार्यतालिकाअनुसार पार्टी चल्छ कि चल्दैन प्रश्न कांग्रेसभित्रै थियो। कार्यतालिकाअनुसार कार्यक्रम कार्यान्वयन चरणमा गएको हो।
प्रत्येक दुई महिनाको अन्तरालमा केन्द्रीय समिति बस्नुपर्ने विधानको व्यवस्था छ। तर सभापति शेरबहादुर देउवाले एक वर्षपछि गत साउनमा केन्द्रीय समिति बैठक गरेका थिए।
कार्यतालिकाले पनि दुई महिनाको अन्तरालमा केन्द्रीय समिति बस्नुपर्ने किटान गरेको छ। सोहीअनुसार यही असोज ४ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
कार्यतालिकाअनुसार मंसिर, माघ, चैत, जेठ, साउनमा पनि केन्द्रीय समिति बैठक बस्नेछ। वर्षमा कम्तीमा दुई वटा केन्द्रीय समिति बैठक भने काठमाडौं उपत्यकाबाहिर हुनेछ।
मंसिरमा हुने महासमिति (नीति अधिवेशनको समेत काम गर्ने) बैठक बस्दैछ। त्यसका लागि तयारी गर्न केन्द्रीय समितिमा छलफल हुन लागेको हो। साथै पार्टीका आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन्।
कार्यतालिकामा भनिएका कतिपय विषय भने पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन।
भदौ १५ गतेभित्र सबै विभाग गठन गरिसक्ने भनिए पनि सभापति देउवाले ७० मध्ये जम्मा १६ विभाग प्रमुख मात्रै तोकेका छन्। विधानअनुसार सभापतिले विभागमा मनोनीत गर्न पाउँछन्।
महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानको व्यवस्था छ।
कांग्रेसले ०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। महाधिवेशन भएको १९ महिनासम्म देउवाले विभागलाई पूर्णता दिन सकेका छैनन्। साउन १० को केन्द्रीय समितिले २२ विभाग थपेकोले पनि विभाग गठनमा ढिलाइ भइरहेको छ।
अवधि सकिएका भ्रातृ संस्थाका तदर्थ समिति भदौ १५ भित्र गठन गरिसक्ने कार्यतालिका थियो। देउवाले गत साउन २२ गते सात सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका थिए। त्यसअघि गत असार १४ मा देउवाले तरूण दल चार सय १ सदस्यीय बनाएका थिए।
बाँकी भ्रातृ संस्थामा पनि नेतृत्व र समितिलाई पूर्णता दिने काम भएका छन्। तदर्थ समितिलाई छ महिनाभित्र महाधिवेशन गर्न भनिएको छ।
कार्यतालिकाअनुसार नीति अधिवेशनसमेत गर्ने गरी महासमिति बैठक मंसिरमा बस्दैछ। त्यसका लागि तयारी भइरहेका छन्। विभिन्न कारणले अधिवेशन रोकिएर महासमिति चयन हुन बाँकी रहेका करिब २५ ठाउँमा असोज २९ गतेभित्रै महासमिति चयन गरेर पठाउन केन्द्रीय निर्वाचन समितिले निर्देशनसमेत दिइसकेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य आउँछन्। कांग्रेसमा करिब दुई हजार महासमिति सदस्य छन्। महासमिति सदस्यहरूले मुख्यगरी कांग्रेसको नीति बनाउने काम गर्छन्।
कार्यतालिकाअनुसार साउन २० देखि ३० गतेसम्म केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाएर कांग्रेसले संगठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान चलाएको थियो। गत भदौ १० देखि २४ गतेसम्म संगठन सुदृढीकरणका लागि राष्ट्रव्यापी अभियान गर्ने भने पनि बर्खा नसकिएको भन्दै उक्त कार्यक्रम भने स्थगित छ।
कांग्रेसले यो वर्ष ५ देखि ७ लाखसम्म नयाँ सदस्य पार्टीमा थप गर्ने लक्ष्य राखेको छ। ०७८ को महाधिवेशनमा क्रियाशील सदस्य मात्रै ८ लाख ४६ हजार सात सय २९ पुगेको थियो। यसबीचमा कांग्रेसले अनलाइनबाटै साधारण सदस्यता लिन सकिने बनाएको छ।
साथै केन्द्रीय कार्यालय पनि व्यवस्थित गरिएको छ। भवनको रङ्गरोगनदेखि विभिन्न शाखा राख्ने गृहकार्य पनि भइरहेका छन्। अभिलेख तथा अनुसन्धान, सूचना सञ्चार तथा प्रेस, प्रशासन, कार्यक्रम व्यवस्थापन, कानून र अन्तर्राष्ट्रिय, समन्वय र अनुगमन शाखासमेत केन्द्रीय कार्यालयमा रहनेछन्। साथै पार्टी कार्यालयमै पुस्तकालय पनि सञ्चालन गर्न लागिएको छ।
कार्यतालिकाअनुसार भदौ ५ मा कांग्रेस केन्द्रीय कार्यालयले प्रदीप गिरिको स्मरणमा कार्यक्रम गरेको थियो।
यस्तै भदौ २४ मा बिपी कोइरालाको जन्मजयन्तीको अवसरमा 'बिपी साहित्य महोत्सव' भएको थियो। तीन दिन चल्ने यो महोत्सव एमाले नेता सुवास नेम्वाङको निधनपछि स्थगित भएकोमा असोज ३ गते पुन: सञ्चालन गर्ने तयारी छ।
संविधान दिवसमा असोज ३ गते देशैभर दीप प्रज्ज्वलन गर्ने र 'संविधान कन्सर्ट' गर्ने तयारीमा कांग्रेस जुटेको छ।
कांग्रेसले गत भदौमा पोलिसी ह्याकाथनसमेत गरेको थियो। 'गिग इकोनोमी' र क्लाइमेट एक्सनमा पोलिसी ह्याकाथन गरिएकोमा दुई सय २७ समूहले नीतिपत्र बुझाएका थिए।
अब कात्तिक २४ गते सुवर्ण शमशेर स्मृतिमा पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने कन्क्लेभ सञ्चालन गर्ने तयारी पनि छ। महिलामाथि हुने हिंसाविरूद्ध मंसिर २४ मा मंगलादेवी सिंह एक महिने अभियान सञ्चालन हुनेछ।
मंसिर दोस्रो साता महासमिति बैठक र भीमबहादुर तामाङ स्मृतिका अवसरमा मंसिर १६ मा पहिचान र विविधताबारे नीति संवाद गर्ने तयारी कांग्रेसको छ।
मंसिर १७ मा लोकतान्त्रिक अपांग महासंघको संयोजनमा विचार गोष्ठी गर्ने तयारी छ। मंसिर २५ मा राधाकृष्ण थारू स्मृतिमा किसानसँग भूमि र किसानका मुद्दाबारे कार्यक्रम हुनेछ।
पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवसमा राजनीतिक दलहरूलाई बोलाएर नेपालको साझा विदेश नीति र परराष्ट्र सम्बन्धसँग सम्बन्धित कार्यक्रम हुने कार्यतालिकामा उल्लेख छ।
पुस तेस्रो साता संघीय सांसदहरूसँग संसदको प्रक्रिया, क्रियाशीलता र प्रभावकारिता र बजेट लगायतबारे केन्द्रीय कार्यालयमा छलफल हुनेछ। लगत्तै प्रदेश सांसदहरूसँग पनि छलफल हुनेछ।
पार्टी स्थापना दिवसका अवसरमा माघ १२ मा रक्तदान, सरसफाइजस्ता कार्यक्रम हुनेछन्।
माघ १९ मा सहिद र द्वन्द्वपीडित परिवारको विवरण पुस्तक सार्वजनिक गर्ने, सम्मान र सहयोग कोष स्थापना गर्ने तयारी छ।
फागुन २० मा कृष्णप्रसाद भट्टराई स्मृति दिवस सत्याग्रहको महत्व र प्रयोगबारे सचेतना कार्यक्रम हुनेछ।
चैत ७ मा गिरिजाप्रसाद कोइराला स्मृतिमा देशैभरि शान्ति पदयात्रा हुनेछ। नेपाल ट्रेड युनियन कांग्रेसको संयोजनमा श्रम सम्मेलन हुनेछ।
चैतमा स्थानीय तहका प्रमुख र उपप्रमुखसँग बैठक गर्दै नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ।
लोकतन्त्रसँग सम्बन्धित वृत्तचित्र बनाएर वैशाख ११ मा प्रदर्शन गर्ने, वैशाख २० मा महेन्द्रनारायण निधि स्मृतिमा अहिंसा र राजनीति विषयक प्रवचन गर्ने कार्यक्रम कार्यतालिकामा समेटिएका छन्।
आगामी वैशाखमै जिल्ला सभापति र सातै प्रदेश सभापतिहरूसँग बैठक गर्ने, जेठ १५ मा गणतन्त्र फोटो प्रदर्शनी, जेठ २२ मा नदी, तालतलैया सरफाइलगायत कार्यक्रम हुनेछ।
जेठमै किसानसँग कांग्रेस कार्यक्रम गरेर किसानका समस्या हल गर्न सहजीकरण गर्ने तयारी छ। कांग्रेसले विभिन्न गतिविधि गरेर पार्टीलाई चलायमान बनाउन लागेको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले कार्यलिकाअनुसार पार्टीले कार्यक्रम गर्दै आएको बताए। कार्यतालिकाअनुसार हुन नसकेका कतिपय कार्यक्रमबारे असोज ४ को केन्द्रीय समितिमा छलफल हुने उनले बताए।
‘बर्खायाममा पनि गर्न सकिन्छ कि भनेर तय गरिएको समुदायमा कांग्रेस अभियान स्थगित गर्नुपर्यो,’ उनले भने, ‘गाउँ सेवा दल गठन पनि केही ढिलो भयो, कार्यविधि पनि बन्दैछ।’
पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक काममा परिचालन गर्न कांग्रेसले सेवा दल गठन गर्ने तयारीमा कांग्रेस छ। वडा, गाउँ र टोल तहमा मानवीय सेवाका कार्य गर्न सेवा दल गठन गर्न लागिएको उनले बताए।