धुलिखेलमा भएको युवा सम्मेलनमा सहभागी देशका विभिन्न क्षेत्रका नौ जना युवाले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई एकपछि अर्को प्रश्न सोधे।
युवाहरूले कांग्रेस नीतिविहीन हुँदै गएकोदेखि चुनावमा टिकट परिवार र आफन्तलाई दिने गरेको भन्दै आलोचना गरे भने यस्तो किन भइरहेको छ भनेर कोइरालामाथि प्रश्न तेर्साए।
सिन्धुलीकी इन्दिरा वाइवाले सोधिन्, ‘शेखर अंकल, चुनावको टिकट नेताहरूले किन सकेसम्म आफ्नै परिवार र आफन्तलाई दिन्छन्?’
गाउँमा बसेर वर्षौंदेखि संगठनका लागि दु:ख गरेकालाई टिकटबाट बञ्चित गरिएकोमा उनले असन्तुष्टि जनाइन्।
कास्कीकी बन्दना पराजुलीले नेविसंघ र तरूण दलमै समेटिएकाहरू पनि पार्टीबाट बाहिरिँदै जान थालेकोमा चिन्ता गरिन्।
‘नेविसंघ र तरूण दलमै रहेकाहरूले पनि पार्टीबाट अलग हुन थालेका छन्, किन हामीले पार्टीमा उनीहरूलाई टिकाउन सकिएन?,’ उनको प्रश्न थियो।
धादिङकी मनिषा लामिछानेले विद्यार्थीहरू विदेशिने क्रम: नरोकिएको बताइन्। ‘विद्यार्थीहरू १२ कक्षा पास गरेपछि विदेश जाने हो भन्छन्, हामीले उनीहरूलाई स्वदेशमै राख्न किन सकिएन?,’ उनको प्रश्न छ।
विद्यार्थीलाई पढ्न राम्रा क्याम्पस र रोजगारीको व्यवस्था हुन नसक्दा विदेशिने क्रम बढेको पनि उनले बताइन्। ‘पार्टीका घोषणा पत्रमा युवाका कुरा छन् तर ती कार्यान्वयनमा आएनन्,’ उनले भनिन्।
यसपछि सातै प्रदेशको प्रतिनिधित्व गर्दै एक-एक जनाबाट प्रश्न लिइयो।
सुदूरपश्चिम प्रदेशबाट चन्द्रप्रकाश देवकोटाले कुरा राखे। ‘उमेर, विचार र प्रशिक्षणले हामी युवा छौं, तर पार्टीले कता जाने के गर्ने नीति नै लिन सकेन,’ उनले भने, ‘महाधिवेशनमा नीतिबारे पनि कुरा भएन।’
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै बोलेका नगेन्द्र आचार्यले कार्यकर्ताको पार्टीले मूल्याङ्कन गर्न नसकेको बताए।
‘हाम्रा नेताप्रति जनतामा वितृष्णा छ, बिपीको पार्टी कांग्रेसमा किन यस्तो अवस्था आयो?,’ उनले प्रश्न गरे, ‘पार्टी समयअनुसार चल्न पनि सकेन, गरेका कामको प्रचार पनि गरेको छैन।’
लुम्बिनीबाट विष्णु न्यौपानेले व्यावसायिक उद्यमशीलतासहित युवालाई कांग्रेसमा जोड्नुपर्ने बताए। ‘मानिसहरू रोजगारीका लागि विदेश गएका छन्, नेपालमै रोजगारीको सिर्जना गर्न किन सकिएन?,’ उनको प्रश्न छ।
गण्डकीबाट पशुपति पोखरेल बोले। उनले बिपीका सिद्धान्त पार्टीले भुल्दै गएको बताए। ‘मञ्चमा बस्दा नेताहरूले बिपीका कुरा गर्नुहुन्छ, बाहिरिएपछि आत्मसाथ नगर्ने प्रवृत्ति छ,’ उनले भने, ‘नेताका वरिपरि नबसी र चाकडी नगरी केही पाइँदैन भन्ने मानसिकता किन बनाइयो?’
बागमतीबाट राजेश उप्रेतीले युवाहरूमा राजनीतिप्रति नै वितृष्णा देखिएको बताए। ‘जनतासँग कांग्रेस टाढिएको छ, युवाहरूमा पनि पुराना राजनीतिक दलप्रति वितृष्णा देखिन्छ,’ उनले भने, ‘किन यस्तो भयो, बहस गरेर समाधान जरूरी छ।’
मधेशका साझिर मन्सुरले पार्टीले प्रशिक्षणका लागि स्कुल विभाग बनाउनुपर्ने बताए। ‘जनप्रतिनिधि र पार्टीकै नेता जनतालाई बुझाउने गरी अभिव्यक्ति नै दिन सक्दैनन्,’ उनले भने, ‘नेतृत्व गर्छु भन्नेहरूले विषयबस्तुलाई राम्रोसँग बुझेर जनतालाई पनि बुझाउन सक्नुपर्छ।’
कोशीबाट पारस कोइरालाले बोले। उनले युवाहरू विदेश पलायन भइरहेकोमा चिन्ता जनाए। ‘यसो समाचार हेर्छु- युवाहरू पलायन भएको कुरा आउँछ, भ्रष्टाचारका कुरा आउँछ,’ उनले भने, ‘देशमै बस्ने, यहीँ केही गर्ने गरी नेताहरूले किन कार्यक्रम ल्याएका छैनन्? किन युवालाई स्वदेशमै बस्न र लगानी गर्न प्रोत्साहन गर्दैनन्?’
मञ्चमा रहेका नेता कोइरालालाई प्रश्न गरेका यी युवाहरू बिपी स्टडी युथ सर्कलमा आबद्ध छन् भने नेविसंघ र तरूण दलमा पनि उनीहरूको प्रतिनिधित्व छ।
बिपी जयन्तीका अवसरमा बिपी स्टडी युथ सर्कलले धुलिखेलमा मंगलबार र बुधबार सम्मेलन गरेको थियो। सम्मेलनका सहभागीका प्रश्न धैर्यसाथ सुनेका कोइरालाले बोल्ने क्रममा: जवाफ पनि दिए।
कोइरालाले पनि सुरूमै सहभागीहरूलाई प्रश्न सोधे- तपाईंहरू कांग्रेसमा किन लागेको? केका लागि कांग्रेसमा लाग्नुभएको? सहभागीले आफूलाई लागेको जवाफ दिए- केहीले नेताहरूलाई देखेर भने त केहीले सिद्धान्त राम्रो लागेर र जनताका काम गर्न भने।
यसपछि कोइरालाले भने- जनतासँग जोडिनुभएको छैन भने कांग्रेसमा नलाग्नुस्।
‘तपाईंहरू जनताका सुख, दु:खमा जोडिनुस् अनि पो कांग्रेसको संगठन बढ्छ,’ कोइरालाले भने, ‘जनतासँग जोडिन सक्नुहुन्न भने कांग्रेसमा नलाग्नुस्।’ सहभागीहरूले जनताकै बीचबाट आफूहरू आएको प्रतिक्रिया दिएका थिए।
उनले देशमा सुशासन नभएको र भ्रष्टाचारका प्रकरणहरू एकपछि अर्को आइरहेको पनि बताए। ‘३२ सिटको माओवादीलाई ९० सिट हाराहारीको कांग्रेसले सरकारको नेतृत्व सुम्पनुपरेको छ,’ उनले भने, ‘निर्वाचन प्रणालीकै कारण बहुमत कसैको आएन, मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता आइपर्यो।’
उनले समावेशीता नहराउने गरी निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको र यसमा गृहकार्य गर्न पनि युवाहरूलाई आग्रह गरेका छन्।
उनले चुनावमा टिकट वितरणको प्रसंग निकाले। ‘व्यक्तिवादी प्रवृत्ति त्यागौं, नेताका इसारामा हिँड्न छाडौं,’ उनले भने, ‘नेताका इसारामा तपाईंहरू हिँड्नुभयो भने पार्टी नेतृत्व कसको इसारामा हिँड्ने?’ उनले पार्टीमा दु:ख गरेकाहरूलाई न्याय हुनुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्य मधु आचार्यले टिकट वितरण गर्दाका जस्ता विकृति हटाउन पार्टी रूपान्तरण नगरी नहुने बताए। ‘युवाहरू डर नमानी हस्तक्षेप गर्ने ढंगले अघि बढ्नुस्,’ उनले भने, ‘पार्टीलाई अहिले नै रूपान्तरण नगरी नहुने भइसकेको छ, हामी अभियानमा होमिएका छौं।’
नेता भूपेन्द्रजंग शाहीले केही नेताहरूले चाहेअनुसार देश चलिरहेको बताए।
‘केही नेताहरूले आफ्नो नियन्त्रणमा मात्र देश चलाउन खोजे। जसका कारण जनताले खान पाए कि पाएनन्, जनता के समस्यामा छन् नेतालाई मतलब छैन। युवाले रोजगारी पाए कि पाएनन् कसैले मतलब राखेको छैन,’ उनले भने, ‘कुन नेताले मन्त्री पायो पाएन, कुन नेताले प्रधानमन्त्री पायो कि पाएन मात्रै चिन्ता छ।’ यसो भन्दा नेताहरूको विरोध गरेको बुझ्न नहुने उनले बताए।
‘पार्टी बलियो बनाउन युवाका पनि दायित्व छ,’ उनले भने, ‘रूपान्तरणका लागि आफैँबाट पनि परिवर्तन हुन जरूरी छ। युवाहरू कसैको दास बन्ने र कसैको जयजयकार गर्नेमा केन्द्रित हुन हुन्न।’
जनताले रूचाउने पार्टी बनाउनुपर्ने पनि उनले बताए।
अर्का नेता गुरूराज घिमिरेले १९ महिनामा २४ लाख नेपाली विदेशिएको तथ्याङ आएको बताए।
‘कामका लागि र पढ्नका लागि यतिका धेरै युवा विदेशिए। के यो उत्सव हो? मानिस विदेशिँदा हामी गौरव गरिरहेका छौं?,’ उनले भने, ‘कांग्रेस त सरकारमा छ। देशमा सरकार नै सरकारको कीर्तिमान छ। माथि हेर्यो सरकार तल हेर्यो सरकार। मन्त्रीहरू त छन्, तर राज्यले दायित्व पूरा गर्न सकेको छैन।’
सरकारलाई हेरेर जनता सबैभन्दा धेरै निराश बनेको उनले बताए। ‘पुलिस छ, सुरक्षा छैन। अस्पताल छ, उपचार छैन,’ उनले भने, ‘सबै कुरा छ तर वास्तवमा परिणाममा केही पनि छैन। यो अवस्थाबाट नेपाली समाजलाई कसरी मुक्त गर्ने?’