सानेपामा आयोजित बिपी साहित्य महोत्सवमा 'बिपीले नपाएका १५ वर्ष' शीर्षकमा सोमबार दिउँसो एक घन्टा मन्थन भयो।
महामन्त्री गगन थापाले सहजीकरण गरेको छलफलका वक्ता थिए- हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा।
बिपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। उनी २०१५ मा प्रधानमन्त्री भएका थिए। तर २०१७ पुस १ मा तत्कालीन राजा महेन्द्र शाहले 'कू' गरेपछि उनी पदमुक्त भए। त्यसका समय बिपी निर्वासन र जेलमा रहेका थिए।
बिपीले पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन पाएनन्। उनले करिब १८ महिना शासन गरे। त्यसबेला केही विकासका कामकाज पनि सुरू भएका थिए।
काम गर्ने हुटहुटी भएका बिपीले त्यसबेला १५ वर्ष सरकारमा रहेर काम गर्न पाएको भए नेपालको अवस्था अहिलेकोभन्दा फरक हुन्थ्यो कि उस्तै रहन्थ्यो? यसबारे कांग्रेसका नेताहरूले बेलाबखत भन्ने गर्छन्- नेपाल विकसित अवस्थातर्फ लम्किसकेको हुन्थ्यो!
बिपीको ११० औं जन्मजयन्तीमा यसबारे छलफल गर्ने अवसर जुर्यो। महामन्त्री विश्वप्रकाश शर्मा र थापाबीच छलफल भएर महोत्सवमा एउटा सेसन राखियो- बिपीले नपाएका १५ वर्ष।
केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा कांग्रेसले यसपालि विज्ञहरूसमेत राखेर बिपीलाई सम्झिएको छ।
बिपीले टुँडिखेलमा गरेको एउटा भाषणका वाक्य स्मरण गर्दै महामन्त्री थापाले बहस सुरू गरेका थिए। बिपीले १५ वर्ष काम गर्न पाए नेपालीहरूको अवस्था खान लगाउन पुग्ने (आफ्नोजस्तै) बनाउन सकिने बताएको कुरा थापाले उद्धृत गरेका थिए।
‘बिपीले गुमाएको १५ वर्ष नेपालीले नै गुमाएको १५ वर्ष हो। बिपीले यी १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो? नेपाली राजनीति र समाजको अवस्था कस्तो हुन्थ्यो?,’ यो प्रश्नसहित थापाले कुराकानी सुरू गरे।
जवाफ दिँदै राजनीतिक विश्लेषक हरि शर्माले बिपी तुरून्तै आफ्ना कार्यक्रम लागु गर्न सक्ने र हुटहुटी भएको व्यक्ति रहेको बताए। बिपीले १५ वर्ष पाएको भए भन्नेचाहिँ कल्पनाका कुरा हुने शर्मा बताउँछन्। बिपीको जस्तो हुटहुटी अहिलेका नेतामा नदेखिएको उनले बताए।
यसपछि थापाले अर्थशास्त्री अच्युत वाग्लेलाई सोधे- आर्थिक कार्यक्रमको आलोकबाट हेर्दा बिपीका कार्यक्रमलाई कसरी हेर्ने? वाग्लेले २०१७ असार १३ गतेको पत्रकार सम्मेलन सम्झिए। त्यसमा दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पनाबारे जानकारी दिइएको थियो। साथै योजनाबद्ध विकास आवश्यक रहेको औंल्याइएको भए पनि आर्थिक पाटोबाट बिपीको खासै चर्चा हुन नसकेको उनले बताए।
यसपछि महामन्त्री थापाले विधिको शासनका कुरा निकाले। उनले संविधानविद् विपिन अधिकारीलाई सोधे- ०१७ सालमा 'कू' नभएको भए देशमा विधिको शासनको अवस्था कहाँ पुगेको हुन्थ्यो?
यसमा जवाफ दिँदै अधिकारीले बिपीको नेतृत्व शैली राम्रो भएको बताए। ‘बिपीका जीवन पद्दती र समाजका लागि गरेको योगदानका दृष्टिले उहाँ पुनर्जागरणको प्रतिकका रूपमा हुनुहुन्थ्यो। तर मुलुकको ठूलो ऊर्जा झ्यालखाना (जेल) मा बस्नुपर्यो।’
त्यसबेला राजाले मसँग विकल्प छन् भने पनि खासै विकल्प दिन नसकेको उनले बताए। ‘राजासँग त केही विकल्प थिएन, खालि सत्तामात्रै चाहिएको थियो,’ उनले भने।
बिपीले १५ वर्ष काम गर्न पाएको भए सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षा लगायतमा उपलब्धिमुलक कार्य हुने र त्यसले जनतालाई भविष्य दिने अधिकारीले बताए।
वक्ता मञ्चला झाले बिपी सिद्धान्त र व्यवहारमा एक भएको नेताका रूपमा अर्थ्याइन्। ‘उहाँले १८ महिना मात्रै सरकारको नेतृत्व लिँदा पनि धेरै काम गर्नुभएको थियो। त्यो बेलाको समयमा एक वर्षमा १६ सय वटा विद्यालय स्थापना गर्नु चानचुने कुरा थिएन,’ उनले भनिन्।
बिपीले त्यसबखत पूर्ण कार्यकाल काम गर्न पाएको भए अहिले नेपाल यो अवस्थाबाट गुज्रिरहनु नपर्ने स्थितिमा रहने उनले बताइन्।
‘बिपीले काम गर्न पाएको भए नेपाली युवा रोजगारीका लागि विदेशिनु पर्ने थिएन। ५ किलो मल लिन सीमा पार गरेर छिमेकमा जानु पर्ने थिएन, एसएसबीको डण्डा खानु पर्ने थिएन,’ उनले भनिन्, ‘बिपीको १५ वर्षलाई कल्पनामा भन्दा पनि म यथार्थमा हेर्न चाहन्छु।’
बिपीले २००८ सालमा बिर्ता उन्मुलन प्रस्ताव ल्याएको, २०१५ मा विधेयक नै ल्याएर संसदबाट पारित गरी कानून बनाएको र जमिन नभएका किसानलाई खेती गर्ने जमीन दिएको उनको भनाइ छ।
बिपीले समानतालाई पनि आन्दोलनसँग जोडेका थिए। तराई-मधेस र हिमाल, पहाडको साथ लिएर हिँडेका थिए। ‘बिपीले काम गर्न पाएको भए देश विकासीलतर्फ उन्मुख ४० वर्षअघि नै भइसक्थ्यो,’ उनले भनिन्, ‘बिपीलाई अंगीकार गरेको भए देशको अवस्था यस्तो हुँदैनथ्यो।’
यसपछि महामन्त्री थापा बोले। उनले बिपीलाई ‘क्रान्तिकारी र पेटमा आगो भएको’ व्यक्तिका रूपमा चर्चा गरे। बिपी थप कस्ता थिए भन्ने उनको जिज्ञासा शर्मासँग रह्यो।
शर्माले बिपी समयलाई पढ्न सक्ने व्यक्ति भएको बताए। ‘बिपीमा म दार्शनिक बढी र राजनीतिज्ञ कम भएँ भन्ने देखिन्छ, उहाँ समयको उपज हुनुहुन्थ्यो,’ शर्माले भने, ‘परिवेश र परिवर्तनलाई जोड्ने युगान्तकारी नायक बिपी हो।’
बिपी देश-विदेशको परिवेश बुझ्न सक्ने र विश्व समाजवादी आन्दोलनसँग पनि सम्बन्ध भएका नेता थिए।
‘बिपी चन्चल हुनुहुन्थ्यो, उहाँलाई परिवर्तन चाँडो चाहिएको थियो,’ उनले भने, ‘समकक्षी भारतसँगै नेपाललाई उभ्याउन चाहनुहुन्थ्यो। राजनीतिमा अरूको राम्रा कुराको नक्कल गरेर पनि अघि बढ्न सकिन्छ।’
बिपीका पालामा सोसल इन्जिनियरिङ कस्तो थियो। अहिले अवरूद्ध हुन लागेको हो कि के हो भन्ने जिज्ञासामा मञ्चला झा भन्छिन्, ‘०४७ को मर्मअनुसार देश चलेको द्वन्द्व पनि झेल्न पर्दैनथ्यो।’
समाजमा अहिले धार्मिक असहिष्णुताको वातावरण देखा परेको, मलंगवामा कर्फ्युसमेत लगाउनु परेकोजस्ता घटनालाई विश्लेषण गर्नुपर्ने उनले बताइन्। ‘बिपीले प्रजातन्त्रवादी सिद्धान्त दिनुभएको थियो। तर जनस्तरमा कांग्रेसले पुर्याउन सकेन,’ उनले भनिन्।
समय अभाव देखाउँदै सहजकर्ता थापाले फ्लोरबाट प्रश्न लिएनन्। फ्लोरको जिज्ञासा यो पनि हुन सक्छ भन्दै थापाले 'बिपीले १५ वर्ष समय पाएनन्, तिमीहरूले पायौं केही गरेनौं’ भन्ने प्रश्न आउन सक्ने बताए।
यसबारे संविधानविद् अधिकारीले भने, ‘बिपीले संविधान वा प्रजातन्त्रको कुरा गर्दा निष्ठा पनि सँगसँगै लिने गरेको पाइन्छ। निष्ठाबारे राणादेखि राजासम्मलाई उहाँले भनेको पनि हो।’
उनले अहिलेको संविधान राम्रो भएको बताए। ‘तर राम्रो संविधानले के उत्पादन गरेको छ महत्वपूर्ण हुन्छ, अहिले निष्ठाको कमी देखिन्छ। बिपीले रूपान्तरित समाज देख्न चाहनुभएको थियो,’ उनले भने, ‘ठूला कुरा गर्ने, आम मानिसका मसिना कुरा नगर्दा समस्या देखिएको छ।’
आफूले धेरै वर्ष गिरिजाप्रसाद कोइरालासँग काम गरेको बताउँदै राजनीतिक विश्लेषक शर्माले चुनाव जितेपछि जनतासँग के बाचा गरिएको थियो भन्ने कुरा नेताहरूले बिर्सने गरेको बताए।
‘राजनीति र सामाजिक काम गर्नेले २४ घन्टा काम गर्नुपर्छ। मलाई सुस्ताउन दिनुस् भन्ने होइन, काम गर्न तयारी पनि चाहिन्छ,’ उनले भने, ‘सत्तामा मात्रै पुग्ने हो भने अलग कुरा, नत्र काम गर्न सिद्धान्त र पूर्वतयारी आवश्यक छ।’
पूर्वतयारी नहुँदा सरकार सञ्चालन र कामकाज प्रभावकारी हुन नसकेको उनको भनाइ छ। ‘कुनै कामका लागि पूर्वतयारी, योजना, सोच र शान्त मन चाहिन्छ,’ उनले भने, ‘बिपीले पूर्वतयारी भएकैले १८ महिनामा काम गरेर देखाउनुभयो, अहिले २० औं वर्ष सत्ता हुँदा पनि काम हुन सकेको छैन।’
जनतालाई भनेका र बाचा गरेका कुरा नगर्ने, गफ धेरै दिने र जनताको काम नगर्ने प्रवृत्ति अहिलेका राजनीतिक नेतृत्वमा देखिएको शर्मा बताउँछन्।
अर्थशास्त्री वाग्लेले राणादेखि राजासम्म पर्खालभित्र बस्ने र बाहिर के भइरहेको छ नसुन्ने प्रवृत्तिका कारण ढलेको बताउँछन्। नेताले जनताका कुरा सुन्नुपर्ने उनले बताए।
त्रिविकी सहप्राध्यापक मञ्चलाले नयाँ पुस्ता बिपी लगायतका कुरा सुनेर सन्तुष्ट नहुने बताइन्। युवालाई अहिले के भइरहेको छ त्यसमा धेरै चासो रहने उनको भनाइ छ।
‘युवाहरू विकास र समृद्धिको मोडल विदेशमा हेरिरहेका छन्,’ उनले भनिन्, ‘अरू पार्टी पनि आएका छन् तर अहिले पनि आस्था र विश्वासको केन्द्र कांग्रेस छ। अब व्यवस्था फेर्ने होइन जनताका अवस्था फेर्नेतिर लाग्नुपर्छ।’
लगन, निष्ठा, स्थिरता र कानूनको शासन कार्यान्वयनमा लैजानुपर्ने संविधानविद् अधिकारी बताउँछन्। ‘७ प्रदेशमध्ये ४ वटामा कांग्रेसले अरूलाई मिलाएर सरकार बनाउन सक्छ, बाँकीमा एमालेले। तर त्यसो भइरहेको छैन,’ उनले भने, ‘केन्द्रले आशीर्वाद नदिँदा प्रदेशमा स्थिरता भइरहेको छैन।’
कार्यक्रम सक्नुअघि महामन्त्री थापाले बिपीबारे रूवाबासी गर्ने चाहनासहित कार्यक्रम नगरेको प्रष्टाए। ‘बिपीले आलोचनात्मक चेत चाहिन्छ, त्यसबाट हेर्ने प्रयास गर भन्नुभएको थियो। हामीले आलोचनात्मक चेतसहित हेर्न खोजेको हो,’ उनले भने।