नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेन सिङ हाङगामले प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई ज्यान मार्ने धम्की दिएका छन्।
ताप्लेजुङको फुङलिङमा शुक्रबार भएको कोण सभामा बोल्दै उनले ताप्लेजुङका प्रहरी प्रमुख र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका हुन्।
प्रदेश सांसदजस्तो व्यक्तिले गैरजिम्मेवार र उत्तेजक अभिव्यक्ति दिएको भन्दै अहिले हाङगामको आलोचना भइरहेको छ।
सामाजिक सञ्जालमा हाङगामको उक्त भाषणको क्लिप राखेर मानिसहरूले अराजक अभिव्यक्ति दिने हाङगामलाई कांग्रेस नेतृत्वले कारबाही गर्छ कि गर्दैन भनेर प्रश्न सोधेका छन्।
उक्त भाषणमा हाङगामले भनेका छन्:
तेरो (डिएसपी) बर्दी खोल्न पनि हामी तयार छौं। अबको कुनै बेला पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भयो भने कहाँ बस्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बा-आमा कहाँ छन्, छोराछोरी कहाँ छ? हामी पत्ता लगाएर मार्छौं, पानीमुनि लुकोस् कि पानीमाथि। खबरदार!
सक्छस् भने यहीँ आइज। म लुगा खोल्न तयार छु, खेल्न आइज। पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर? खेल्न सक्छस् भने आइज। तलाई म ३० सेकेन्ड बाँकी राख्दिनँ। याद गर।
तेरो बर्दी खोल। राजनीतिमा आइज, राजनीति र विकासबारे वाकयुद्ध गरौं। होइन भने युद्ध गरौं डिएसपीसँग। अहिले राजनीति तातेका बेला छ। मान्छे मार्न पनि डराउँदैनौं, मृत्युदेखि डराउँदैनौं।
जिल्लाका प्रहरी अधिकारीहरूले गल्ती गर्दा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने कानुनी बाटो छोडेर प्रदेश सांसद हाङगामले सडकबाटै प्रहरी अधिकारीलाई ज्यान मार्ने धम्की दिएका हुन्।
उनको अभिव्यक्तिको चौतर्फी आलोचना हुँदा पनि हाङगामले आफ्नो गल्ती महशुस भने गरेको देखिएन। सेतोपाटीले हाङगामलाई आइतबार टेलिफोन गरेर किन यस्तो अभिव्यक्ति दिएको भनेर सोधेको छ।
‘मैले बोलेको कुरा अझै आलोचना भइरहेको छ? मैले प्रहरीलाई गुलाबको फूल दिन खोजेको होइन, इँटाको जवाफ पत्थरले दिन खोजेको हुँ,’ उनले भने, ‘यो घटनालाई धेरै अतिरञ्जित नगरौं।’
घटनाबारे बुझ्न प्रदेश प्रहरीबाट प्रहरी उपरीक्षक ऋषिराम कँडेल आएको जानकारी आफूले पाएको उनले बताए। ‘आज बिहान एसपी आउनुभएको छ। म त बिपी जयन्तीको कार्यक्रममा छु,’ उनले भने, ‘घटना छानबिन गर्ने कुरा एसपीले गर्नुभएको थियो, के हुन्छ हेरौं।’
आफूले गल्ती नगरेको हाङगामले दाबी गरेका छन्।
‘पोखरी जसले पहिले फोहोर गरेको हो, दोष त्यसको हो,’ उनले भने, ‘मैले सिंगो प्रहरी संगठनलाई केही भनेको छैन। जसले चन्द्र र सूर्यअंकित झण्डा बिर्सेर पूर्वाग्रही भएर कसैलाई सिध्याउन र मार्न खोज्छ भने त्यो कुरा मैले स्वीकार्न सक्दिनँ।’
बर्दीबिनाका प्रहरीहरू आफ्नो घरमा बिहीबार राति आएको बताएका उनले त्यसबेला आफ्नो परिवारसमेत डराएको बताए।
‘मेरो ५ वर्षकी छोरी छन्, १४ वर्षका छोरा। सादा प्रहरी र बर्दीका प्रहरी मेरो घरमै आयो। त्यसैले मैले पनि प्रहरीका परिवारका कुरा भाषण गर्दा गरेको हुँ,’ उनले भने, ‘उनको (डिएसपी) परिवारलाई पनि मैले काँडाको जवाफ काँडाबाटै दिएको हुँ, यसलाई अतिरञ्जित नगरौं।’
यस विषयमा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले आफूसँग कुरा नगरेको उनले बताए।
‘हाम्रा कुरा डिएसपी र सिडिओले सुन्दैनन्, गल्ती कसको हो उनीहरूले भन्नुपर्यो,’ उनले भने, ‘उनीहरूले मलाई फोनसमेत गरिरहेका छैनन्।’
भएको के थियो?
ताप्लेजुङका डिएसपी राजन लिम्बूका अनुसार घटना बिहीबार बेलुकी करिब ११ बजेको हो।
ताप्लेजुङमा एक महिनादेखि लाखे जात्रा, मिनीमेला, फुटबललगायत विभिन्न कार्यक्रम भइरहेका थिए।
शुक्रबार बेलुकी करिब ९ बजेसम्म लाखे मार्ने जात्रा चलेको थियो। जात्रा सकिएपछि मानिसहरू घर गए। प्रहरी पनि नियमित गस्तीमा निस्कियो।
‘फुङलिङमा मिनी मेला लागेको ठाउँभन्दा बाहिर एक महिला र दुई जना पुरूष बसिरहेका रहेछन्। उनीहरू हो-हल्ला गरिरहेका थिए। प्रहरीले यति रातिसम्म किन यहाँ बसिरहेको? घर जानू भनेका रहेछन्,’ उनले भने, ‘केहीबेरमा मादक पदार्थ सेवन गरेका केही मानिस प्रहरी टोलीसँग जाइलागे। घम्साघम्सी पनि भएछ। त्यसमा अर्को समूह पनि थपियो। प्रहरी थोरै थिए। उनीहरूले प्रहरीहरूलाई पनि कुटपिट गरेका रहेछन्।’
केहीबेरमा फेरि त्यहाँ ८-१० जना मानिसहरू आएको र त्यो टोलीमा प्रदेश सभा सांसद हाङगाम पनि रहेको उनले बताए।
‘उहाँ (सांसद) पनि प्रहरीमाथि जाइलाग्नुभयो, कुटपिटमै उत्रिनुभएछ। प्रहरीहरू करिब एक सय मिटर दूरीमा रहेको कार्यालय फर्किए,’ उनले भने।
वीरेन्द्र चोकमा दुई टोली मानिस भेला भएका थिए। प्रहरीले उनीहरूलाई त्यहाँबाट हटायो। त्यस क्रममा पनि प्रहरी र भीडबीच झडप भएको थियो। नेविसंघ जिल्ला सभापतिले फोन गरेर प्रहरीले गर्दा साथीभाइहरू सबै डराए भनेपछि आफूले प्रहरी फिर्ता बोलाएको डिएसपी लिम्बूले बताए।
‘केहीबेरमा सांसद हाङगामले मलाई फोन गर्नुभयो, प्रहरीले कसैमाथि दुर्व्यवहार गरेको भए भोलि बसेर कुरा गरौंला भनेको थिएँ। फेरि नेविसंघ सभापतिको फोन आयो। उहाँले राति नै कोणसभा गर्न लागेको भन्नुभयो,’ उनले भने, ‘उहाँले नाराबाजी र सानो कोणसभा गर्ने भन्नुभएको थियो। मैले राति १२ बजे यसो नगरौं, मानिसहरू सुतेका छन् हल्ला हुन्छ भनेको थिएँ, तर कोणसभा गरिछाड्नुभएछ।’
कांग्रेसका कार्यकर्ताहरूले शुक्रबार बिहानै फुङलिङ बजार बन्द गराए, सवारी साधन चल्न दिएनन्। लाठी लिएकाहरू चोक-चोकमा बसेका थिए।
‘हामीले यो घटनाबारे छलफल गर्न शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा बैठक राखियो तर सांसद हाङगाम आउनुभएन। पार्टीका प्रतिनिधिहरू भने आउनुभयो,’ लिम्बूले भने, ‘बैठकमा नआउनुभएका सांसद त प्रहरी कार्यालय नजिकै भेला गर्दै हुनुहुँदो रहेछ। त्यो बेला प्रहरी गेटमा ढुंगामुढासमेत भएको थियो। लाठी बोकेकाहरूले ढुंगामुढा गरेका थिए। प्रहरी कार्यालयको सिसा फुटेपछि हवाइ फायर गरियो। त्यसपछि भीड तितरबितर भयो।’
डिएसपी लिम्बूले अहिले फुङलिङ बजारको अवस्था सामान्य हुँदै गएको बताए।
‘सांसद हाङगामले ममाथि मात्र होइन, प्रहरी निरीक्षक सुजन मोदेलमाथि पनि लक्षित गरेर भाषण गर्नुभएको रहेछ। हामीबीच व्यक्तिगत रिसइबी केही थिएन। मेरो पुर्ख्यौली घर पनि यही जिल्लामै पर्छ,’ उनले भने।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्- उहाँले ठीक बोल्नु भएन
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोशी प्रदेश सभा सदस्य हाङगामले दिएको अभिव्यक्ति ठीक नभएको प्रतिक्रिया दिएका छन्।
‘उहाँले यसरी बोल्नु ठीक भएन। तर परिस्थिति निर्माण गर्नेहरू पनि जिम्मेवार हुनुपर्छ,’ आइतबार सानेपामा सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘घटना गहिरोसँग छानबिन गर्नुपर्छ। प्रहरी होस् वा जो-सुकै होस् दोषी पाइयो भने कानुनअनुसार कारबाही हुनुपर्छ।’
जनता र सुरक्षाकर्मीका बीचमा हुने द्वन्द्व अनपेक्षित र भर्त्सनायोग्य रहेको उनले बताए।
‘राज्यको शान्ति सुरक्षाको जिम्मा लिएका प्रहरी बिनाबर्दी गएर जनताका कार्यक्रममा उत्तेजना फैलाउने र भाँड्ने गर्नु दु:खदायी छ,’ उनले भने, ‘यो घटनाप्रति कांग्रेसले निन्दा गर्छ। संयम भएर यस्ता घटना नियन्त्रणमा लिनुपर्छ।’
उनले उत्तेजनामा नआउन सबै पक्षलाई कांग्रेसले आग्रह गरेको बताए।
हाङगामको भिडिओ क्लिप र उनका भाषणबारे प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘सादा पोशाकमा प्रहरी राति घरमा गएर गुण्डागर्दी र आक्रमण गर्छ भने जनता पनि चुप लागेर बस्दैनन् भनेर उहाँले भन्न खोजेजस्तो छ, तर उहाँ उत्तेजनामा आउनुभएको छ।’
उत्तेजित जनतालाई व्यवस्थित गर्नुपर्नेमा प्रहरी आफैं नागरिक र जनतासरह उत्तेजनामा आउनु नै घटनाको मुख्य कारण बनेको विश्वकर्मा बताउँछन्।
‘कुटाइ खाएकोले पनि उहाँ उत्तेजनामा आउनुभएको हुन सक्छ,’ उनले भने, ‘सामाजिक अवस्थामा खलल पुर्याएको र उत्तेजना फैलाइरहेको प्रहरीलाई उहाँले दबाब दिन सरकारको ध्यानाकर्षण गराउन चर्को बोल्नुभएको होला, तर जे बोल्नुभयो त्यो ठिक भने छैन।’
कांग्रेसले विज्ञप्ति निकालेर मादक पदार्थ सेवन गरेका प्रहरीले कांग्रेस नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई कुटपिट र हातपात गरेको उल्लेख गरेको छ।
‘ताप्लेजुङको मेलामा सहभागी पेमा लामा तामाङमाथि प्रहरीले मुक्का प्रहार गर्नुका साथै सेटले हिर्काएको र आँखामा गम्भीर चोट लागेको छ। उहाँको चस्मा फुटेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भदौ २२ गते निकालेको विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे बुझ्न खोज्दा कोशी प्रदेश सभाका सदस्य खगेन सिङ हाङगामलाई बर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै निवासमा ढुंगामुढा समेत गरेको कांग्रेसले जनाएको छ।
‘प्रहरी प्रशासनले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ। घटनाको छानबिन गरी संलग्न दोषी प्रहरीलाई निलम्बन गर्नुका साथै कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तो छ विज्ञप्ति: