बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन्।
कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए। उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए।
त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणामअनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए।
सचिव पदमा कँडेलकै समूहका दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए।
त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी बने भने उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारूले ३९३ मत पाए।
थारूले कँडेलको समूहबाट उम्मेदवारी दिएका थिए। त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्। रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएर पराजित भइन्
गत १६ गते सुरू भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।
अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रलाई सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमै नेतृत्व छान्न निर्देशन दिएका थिए।
तर, आफूलाई बलियो ठानेका दुवै प्रतिस्पर्धीले नेतृत्व छाड्न तयार नभएपछि निर्वाचन भएको हो।
पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो।
सहमतिको नाममा अध्यक्ष ओलीले रिजालको नेतृत्वमा टिम बनाउन निर्देशन दिए पनि कँडेल पक्षले नमानेपछि निर्वाचन भएको थियो।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको थियो।
योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत प्रदेश अधिवेशनमा कँडेल र रिजाल समूहमा विभाजित देखिए।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदीले रिजालको पक्षमा मत माग्दै एकसाता अघिदेखि गोप्य भेला गर्दै आएका थिए।
अधिवेशनको अघिल्लो दिनसम्म कुनै समूहमा नखुलेका पार्टी सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी अन्तिम समयमा कँडेलको पक्षमा खुलेका थिए।
अधिवेशन प्रतिनिधीहरूसमेत नेताहरू जस्तै दुई भागमा बाँडिएर मत माग्न थालेपछि एमाले लुम्बिनीको पहिलो अधिवेशन रोचक बनेको थियो।