६० किलो सुन प्रकरणमा माओवादी लिगेसी बोकेका तीन नेताको छोराहरूको संलग्नताको आशंकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।
माओवादी केन्द्रका पूर्वसैन्य डेपुटी कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा र नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापा व्यावसायिक साझेदारसमेत थिए।
बादलका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि फरार छन्।
राहुल माओवादीको युवा संगठन वाइसिएलका उपमहासचिव हुन भने दीपेश विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव हुन्।
बादलपुत्र प्रतीक अहिले मुलुकबाहिर रहेको प्रहरी उच्च स्रोतको भनाइ छ।
महराका छोरा राहुललाई गत बुधबार प्रहरीले उनकै निवास खुमलटारबाट प्रकाउ गरेको थियो। पक्राउ परिसकेपछि उनले सिआइबीलाई सघाउनका लागि आफैं सिआइबी कार्यालय उपस्थित हुन लागेको स्ट्याटस फेसबुकमा लेखेका थिए।
भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा उनलाई पक्राउ गरिएको भनिए पनि राहुलको संलग्नता ६० किलो सुन प्रकरणमा समेत देखिएको सिआइबी स्रोतको भनाइ छ।
चिनियाँ समूहले भेपमा लुकाएर भित्र्याएको ९ किलो सुनबारे बुझ्न राहुलले पटक-पटक विमानस्थलस्थित भन्सार प्रमुखसँग सम्पर्क गरेका थिए। पूर्वसभामुख महराले समेत उक्त भेपको लिलामी प्रक्रिया बुझ्न भन्सार प्रमुखसँग कुराकानी गरेका थिए।
सिआइबीको अनुसन्धानबाट महरा बाबु-छोराको सम्पर्क सुन भित्र्याउने गिरोहसँग भएको देखिएको थियो। सिआइबीले अनुसन्धान प्रतिवेदनमा लिंक चार्ट बनाएर महरा बाबु-छोराको संलग्नताबारे उल्लेख गरेको थियो।
भेपको ९ किलो सुन प्रकरणमा विमानस्थलको भन्सारबाट सुन चोरी गर्नेहरू पक्राउ परे पनि भित्र्याउने समूह भने पक्राउ परेको छैन।
यस्तै नक्कली शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकको ६० किलो सुन भित्र्याउने समूहसँग निकट रहेको र यसअघि पनि यी तीन नेतापुत्रहरूले गिरोहसँग मिलेर सुन भित्र्याएको तथ्य सिआइबीले फेला पारेको छ।
पक्राउ परेका राहुललाई सिआइबीले अनुसन्धान गरिरहेको छ भने पुनले सोमबार सिआइबीमा गएर तीन घन्टा बयान दिएका छन्।
बयानका क्रममा उनले सुन प्रकरणमा आफ्नो संलग्नता इन्कार गरेका छन्।
‘बयान लिँदा उहाँले सुन प्रकरणमा संलग्नता नरहेको बताउनुभएको छ,’ सिआइबी स्रोतले सेतोपाटीसँग भन्यो,‘तर यो प्रकरणमा पुनको संलग्नता देखिने महत्वपूर्ण आधार भएपछि हामीले बोलाएका हौं।’
साउन १४ गते सुन प्रकरणमा सबैभन्दा उच्च तहका भनिने बेल्जियन नागरिक दावा छिरिङलाई राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो। त्यसबेला राजश्वको टोलीले दावाको एउटामात्रै मोबाइलबाट भएका सम्पर्कका आधारमा पक्राउ गरेको थियो।
त्यतिबेलासम्म राजश्वले राजनीतिक कनेक्सनबारे भेउ पाइसकेको थिएन। त्यसपछि दावाले चलाउने अरू पनि मोबाइल र उनको कम्पनीमा अरूको पनि साझेदारीबारे बुझ्दै जाँदा तीन नेताका पुत्रहरूको कनेक्सनको आधार फेला परेको सिआइबी स्रोतको भनाइ छ।
दावाको श्रीमती अमला रोका मगरको सम्बन्ध माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनको पारिवारिक सम्बन्ध रहेको समाचार सार्वजनिक भएका थिए।
अमलासँग पारिवारिक नाताबाहेक अरू सम्बन्ध नरहेको उनीहरूले बताउँदै आएका थिए। तर दावाले अमलाकै कारण माओवादीका नेताहरूसँग आउजाउका लागि सहज पहुँच बनाएको देखिएको छ। ०७४ सालयता माओवादी जहिले पनि सत्तामै छ। दावासँग राहुल, दीपेश र प्रतीकको सम्बन्ध यही बेला विस्तार भएको हो।
त्यो समयमा राहुलका बुवा कृष्णबहादुर महरा सभामुख, दीपेशका बुवा नन्दकिशोर पुन उपराष्ट्रपति र प्रतीकका बुवा रामबहादुर थापा बादल गृहमन्त्री थिए। २०७६ पुसमा नेपालमा बसेर आपराधिक गतिविधि गर्ने गिरोहबारे प्रहरीले विशेष अपरेशन चलाउँदा पक्राउको सूचीमा रहेका दावा भने छुटेका थिए।
नेतापुत्रहरू सँगको यही सम्बन्धका कारण दावाले त्यसबेला छुट पाएका हुन्। दावासँगको बयान र थप अनुसन्धानका आधारमा नेपालमा नेताहरूका यी तीन छोराहरूको नै संलग्नता देखिनसक्ने स्रोतको भनाइ छ। दीपेशले दावा र अरू चिनियाँ नागरिकलाई गोसाइकुण्डलगायत ठाउँमा हेलिकोप्टरमा घुमाउन लगेको, दावाकी श्रीमती अमलाले सञ्चालन गरिरहेको ठमेलस्थित होटल भियनामा यी तीनै जनाको आउजाउ बाक्लो देखिएको अनुसन्धानबाट खुलेको छ।
‘सुन प्रकरणको कुरा एउटा भयो, यी तीन जनाले राजनीतिक शक्तिका आडमा गरेको अपराधको श्रृंखला लामो छ,’ गृहमन्त्रालय स्रोतले भन्यो,‘ती पनि विस्तारै खुल्दै जानेछन्।’
सुरूमा गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँच पास भएर छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागले पाएको सुराकीको आधारमा बरामद गरेको थियो।
हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याएको ब्रेक शुमा सुन लुकाएर ल्याएको थियो। रेडी ट्रेड प्रालिको नाममा उक्त ब्रेक शु भित्र्याइएको थियो।
ब्रेक शु भित्रको सुन जोख्दा ६० किलो ६१६ ग्राम सुन बरामद भएको थियो। सुरूमा विभागले अनुसन्धान गरिरहेको भए पनि अहिले यसको अनुसन्धान सिआइबीले गरिरहेको छ।
यो प्रकरणको अनुसन्धान प्रहरीले संगठित अपराधमा गरिरहेको छ। तीन देश जोडिएको यस प्रकरणको अनुसन्धान गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को समेत सहयोग लिएको छ।
यसको अनुसन्धानको लागि सिआइबीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचर्यलाई हङकङ र प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको छ।
सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यकै नेतृत्वमा अनुसन्धान भइरहेको छ। यसअघि सिआइबीले प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापा नेतृत्वमा अनुसन्धान गरिरहेको थियो। तर अहिले ३० जनाको टोलीले अनुसन्धान गरिरहेको छ।
संगठित अपराधको कसुरमा प्रहरीसँग अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्न ६० दिनको समय हुन्छ। त्यस समयभित्र प्रहरी र सरकारी वकिल कार्यालयले अभियोजन सकेर अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।
साउन २ गते यता यसको अनुसन्धान गरेको ५० दिन भइसकेको छ। सिआइबीले एक सातामा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दा बुझाउनुपर्ने हुन्छ।
यस प्रकरणमा अहिलेसम्म प्रहरीले २७ जनालाई पक्राउ गरेको छ। जसमा चिनियाँ, बेल्जियन, भारतीय र नेपाली नागरिक छन्।