नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी सभापतिमा शशांक कोइरालालाई अघि सार्न खोजेपछि इतर पक्ष एक ढिक्का बन्न थालेको छ।
१४ औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लडेका शेखर कोइराला, गगन थापासँगै अर्कै प्यानलबाट महामन्त्री जितेका विश्वप्रकाश शर्मा र देउवाकै प्यानलबाट महामन्त्री उठेर पराजित भएका प्रदीप पौडेल अहिले एकै ठाउँमा उभिएका हुन्।
उनीहरूले आइतबार पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको निवास बुढानिलकण्ठ इटालीटारमा पहिलो चरणको छलफल गरेका छन्।
छलफलमा सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू पनि सहभागी थिए। आइतबारको छलफलमा अनुपस्थित शेखर भने अर्को चरणको छलफलमा सहभागी हुनेछन्।
संस्थापनइतरका अरू नेता २०७८ मंसिरको १४ औं महाधिवेशनमा पनि सँगैसँगै थिए। महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल भने संस्थापनइतर पक्षको छलफलमा पहिलो पटक सहभागी भएका हुन्।
२०७९ पुस ६ मा भएको संसदीय दल नेता चुनावमा उम्मेदवार रहेका महामन्त्री थापालाई अर्का महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेलले साथ दिएका थिए। त्यसै बेलादेखि नजिकिएका शर्मा र पौडेललाई संस्थापनइतर समूहमा 'सक्रिय' बनाउन केसी निवासमा छलफल भएको हो। नेता शेखरले गगनसँग नजिक रहेका महमन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई 'विश्वासमा लिन' आफ्नो समूहका नेताहरूलाई आग्रह गरेका थिए।
केसी निवासको छलफल मुख्यगरी तीन विषयमा केन्द्रित रहेको एक नेताले सेतोपाटीलाई बताए।
पहिलो, पार्टीकै आन्तरिक विषय हो। संस्थापनइतर समूह एकजुट भएर जानेमा छलफल केन्द्रित रह्यो।
दोस्रो, कांग्रेस सम्मिलित सरकारका कामकारबाहीबारे समीक्षा गरियो।
तेस्रो, भ्रष्टाचार प्रकरण गहिरोसँग छानबिन गरी टुंगोमा पुग्नुपर्ने लगायतबारे छलफल भएको थियो।
संस्थापनइतर समूहबाट लामो समयदेखि आन्तरिक छलफल हुन नसकेको र पार्टीमा सभापति शेरबहादुर देउवा पक्ष 'हाबी' भएकोबारे पनि कुराकानी भएको थियो।
सरकारमा मन्त्री पठाउनेदेखि संसदीय समिति, विभाग र भ्रातृ संघसंस्थामा सभापति देउवा पक्ष 'पेलेर अघि बढ्न खोजेको' बारे बैठकमा छलफल पनि भएको थियो। सभापति देउवाले ७० मध्ये अहिलेसम्म १६ विभाग प्रमुख तोकेका छन्। महत्वपूर्ण विभाग संस्थापन पक्षले आफैँसँग राखेको भन्दै असन्तुष्टि पनि छ।
कोइराला-थापा पक्षले सरकारमा कम्तीमा ३ मन्त्री आफ्नो समूहबाट पठाउन पाउनुपर्ने र संसदीय समितिमा पनि उचित प्रतिनिधित्व गर्न पाउनुपर्ने अडान सभापति देउवासँग राखेका थिए। संसदीय सुनुवाइ समिति सभापति सहमहामन्त्री जीवन परियारलाई बनाउन खोजे पनि उनले अस्वीकार गरेका थिए। परियारले मन्त्रीकै जिम्मेवारीमा रहेर काम गर्न चाहेका थिए।
गत साउन २ देखि १० गतेसम्म केन्द्रीय समिति बैठक हुँदा संस्थापनइतर समूहले बेग्लै छलफल गरेको थिएन। यसबारे समूह भित्रबाटै नेता कोइरालाप्रति असन्तुष्टि पोखिएको थियो।
सभापति देउवासँग 'मिलेर' छुट्टै बैठक नराखेको अनुमान त्यसबेला भएका थिए। तर कोइरालाले 'सभापतिसँग मिल्यो भन्छन्, के मा मिलेको मैले कुरा बुझेको छैन' भन्दै प्रतिवाद गरेका थिए।
सरकारमा सहभागी हुनेदेखि पार्टीका निर्णयहरूमा सभापति देउवामात्र हावी हुन थालेपछि इतर पक्षको उपस्थितिका विषयमा प्रश्न उठ्न थालेको थियो।
‘संस्थापनइतर समूहको बैठक नै हुन छाडेकोबारे कुरा उठेको थियो। विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि साथसाथै लिएर अघि जानुपर्छ भन्ने विषय पनि उठ्यो,’ ती नेताले भने, ‘यसबारे केही दिनभित्रै एक चरण शेखर कोइरालासँग बसेर छलफल गर्ने तयारी छ।’
यसबाहेक पार्टीका आन्तरिक गतिविधि, अहिलेको सरकारका कामकारबाही, पार्टीका निर्णयहरूबारे पनि छलफल भएको थियो।
‘सभापतिले पार्टीका निर्णय प्रक्रियामा गरेको एकलौटीलाई प्रतिवाद गर्न नसकेकोबारे पनि समीक्षा गरियो,’ छलफलमा सहभागी ती नेताले भने, ‘सरकार त कांग्रेसले बनायो तर मुद्दा दिन सकेन। कामकारबाही प्रभावकारी हुन सकेनन् भन्नेबारे कुराकानी भयो।’
संस्थापनइतर पक्षलाई बलियो बनाउँदै जानुपर्ने विषयमा पनि रणनीतिक हिसाबले छलफल भएको ती नेता बताउँछन्। ‘पार्टीमा आन्तरिक प्रतिपक्षलाई झन् बलियो बनाउने कुरा भएको छ,’ ती नेता भन्छन्, ‘पार्टीभित्रका र बाहिरका मुद्दा पहिचान गरी आक्रामक ढंगबाट उठाउने कुराकानी पनि भयो।’
कांग्रेस विधानअनुसार महाधिवेशन हरेक ४ वर्षको अन्तरालमा गर्नुपर्छ। ०८२ भित्र १५ औं महाधिवेशन गरिने महामन्त्री थापाले यसअघि नै बताइसकेका थिए। कांग्रेस संस्थापन पक्ष र इतर पक्षले तत्कालीन र दीर्घकालीन (२ वर्षपछि हुने महाधिवेशन) लक्षित गर्दै अहिलेदेखि नै भित्री तयारी जारी राखेका छन्।
नेता शेखर पक्षले गगनसहित विश्वप्रकाश र प्रदीपलाई पनि साथसाथै लिएर अघि बढ्ने प्रयास गरिरहेको छ।
सभापति देउवा पक्ष भने पूर्वमहामन्त्री शशांक कोइराला लगायतलाई विश्वासमा लिनतर्फ लागेका छन्। यसैकारण संस्थापनइतर समूह झस्किएको छ।
१४ औं महाधिवेशनमा शशांक 'मौन' बसेर देउवालाई सभापतिमा सघाएको आरोप लागेको थियो। उनी दाजु शेखरका पक्षमा खुलेका थिएनन्।
कांग्रेसको विधानअनुसार अब देउवा सभापति उम्मेदवार हुन पाउँदैनन्। त्यसैले देउवा पक्षले भावी सभापति उम्मेदवार खोजी गरिरहेको छ। सभापति देउवाले आफूले छान्नुपर्दा ‘पार्टीको नेतृत्व विपीकै छोरालाई दिने’ वचन शशांकलाई दिएको चर्चा छ।
सभापतिमा शशांकलाई अघि सारेर पत्नी आरजु राणालाई उपसभापति वा महामन्त्री बनाउने रणनीतिमा देउवा रहेको संस्थापनइतर पक्षको बुझाइ छ।
देउवाले सार्वजनिक रूपमै आफ्नो उत्तराधिकारी परिवारबाट नहुने बताएका थिए। शशांकलाई एक कार्यकाल सभापति बनाएर त्यसपछि आरजुलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने उनको रणनीति देखिन्छ।
देउवाले शशांकलाई भावी सभापति बनाउन खोजेपछि देउवा पक्षका केही नेताहरू असन्तुष्ट बनेका छन्। केन्द्रीय सदस्यदेखि जिल्ला सभापतिहरू शेखर-गगनसँग नजिकिन थालेका छन्।
शेखरनिकट एक केन्द्रीय सदस्यको दाबीअनुसार मधेसका ८ मध्ये ५ जिल्ला सभापति, कोशी र बागमतीका एक/एक जिल्ला सभापति आफ्नो पक्षमा ल्याइसकिएको छ। ‘संस्थापनसँग नजिक रहेका मन्त्री, सांसद र केन्द्रीय सदस्यलाई पनि संस्थापनइतर समूहमा ल्याउन पहल भइरहेका छन्,’ ती केन्द्रीय सदस्यले भने।
केसी निवासमा भएको छलफलमा सरकारमा कांग्रेसका मन्त्रीहरूको कामकारबाहीबारे पनि समीक्षा भएको थियो। मन्त्रीहरूले पार्टीसँग समन्वय गरी प्रभावकारी, जनमुखी काम गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
सरकारले एकपछि अर्को भ्रष्टाचार काण्डका फाइल खोले पनि गहिरोसँग अनुसन्धान गरी टुंगोमा पुर्याउन नसकेको विषयमा पनि छलफल भएको थियो। भ्रष्टाचार प्रकरणमा मुछिएकाहरूमाथि छानबिन हुनुपर्ने र दोषी पाइए कानुनअनुसार कारबाही गरिनुपर्ने पक्षमा आफूहरू उभिनुपर्ने उनीहरूको निष्कर्ष थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण सुन्धारा जेलमा छन् भने ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय सदस्य विजयकुमार गच्छदार मुछिएका छन्।