नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वका लागि सहमति हुन नसकेपछि निर्वाचन हुने भएको छ।
शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो।
नेतृत्वका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरि रिजालले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन्। कँडेलले आफैं उम्मेदवारी दर्ता गराएका छन् भने रिजालले वारेसनामा मार्फत् गराएका हुन्।
कँडेलले राजु श्रेष्ठको प्रस्तावक र भोजराज पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै रिजाललाई विजय विराज विष्ट प्रस्तावक र बालसिंह काउछाले समर्थन गरेका छन्।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरे पनि अध्यक्षका आकांक्षीहरू कँडेल र रिजालले सहमति गर्न नमानेपछि निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्था आएको हो।
प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राती ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए।
अध्यक्ष लगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
सोमबार मनोनयनको काम सकिएपछि मतदान सुरू गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।
अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ।
महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्।
योसँगै पार्टीका केन्द्रीइ पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएको देखिन्छ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन्। त्यस्तै सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, वैजनाथ चौधरी लगायत कँडेलको पक्षमा छन्।
अधिवेशन प्रतिनिधिहरू समेत नेताहरू जस्तै विभाजित देखिएका छन्।