नेपाली कांग्रेस रूपान्तरण पक्षले 'राष्ट्रव्यापी अभियान' घोषणा गरेको छ।
पार्टीले संगठन सुदृढीकरणका लागि 'समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान' स्थगित गरेपछि रूपान्तरण पक्षले देशैभर प्रतिनिधि सभा क्षेत्र केन्द्रित कार्यक्रम गर्ने भएको हो।
गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरे पनि भदौ ५ गते सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर अभियान तत्कालका लागि स्थगितको निर्णय गरेका थिए।
बर्खा नसकिएको र संसद पनि चलिरहेको भन्दै कांग्रेसले राष्ट्रव्यापी अभियान स्थगित गरेको थियो। जनप्रतिनिधिहरू (सांसद) पनि राष्ट्रव्यापी अभियानमा खट्न पर्ने भएकोले केही समयपछि अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय थियो।
तर कांग्रेस रूपान्तरण पक्षधरले भने शनिबार काठमाडौंमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान गर्ने निर्णय गरेका छन्।
‘पार्टीले भदौमा राष्ट्रव्यापी अभियान गर्ने भनेको थियो तर स्थगित गर्यो,’ नेता भूपेन्द्रजङ्ग शाहीले सेतोपाटीसँग भने, ‘पार्टीले गरेको अभियानलाई नै साथ दिने हाम्रो चाहना थियो। तर पार्टीले अभियान नैस्थगित गरेपछि रूपान्तरण अभियानले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ।’
पार्टीलाई थप गतिशील बनाउन र रूपान्तरण गर्नका लागि १६५ निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न लागिएको उनले बताए।
‘पार्टीले राष्ट्रव्यापी अभियान गरेको भए हामी पनि त्यसैमा सहभागी हुन्थ्यौं। पार्टीको कार्यक्रम हाम्रो पनि कार्यक्रम हो। तर कार्यक्रम नै स्थगित भएपछि रूपान्तरण अभियान चुप लागेर बस्दैन, नेता/कार्यकर्ता र जनताकहाँ जान्छौं,’ शाहीले भने, ‘पार्टी गतिशील, क्रियाशील र जनमुखी काममा केन्द्रित रहोस् भन्ने हाम्रो चाहना छ।’
पार्टी विभिन्न कारणले अलमलिएको भन्दै रूपान्तरण पक्षले राष्ट्रव्यापी कार्यक्रम गर्ने निर्णय गरेको हो।
केन्द्रीय सदस्य मधु आचार्यले बिपी जन्मजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान गर्ने निर्णय भएको सेतोपाटीलाई बताए।
‘यही भदौ २४ गतेदेखि कात्तिक २४ गतेसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान लैजाने निर्णय भएको छ,’ आचार्यले भने।
मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गरेर रूपान्तरण पक्षले निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्न लागेको हो।
‘महासमिति बैठकले खासगरी नीति महाधिवेशनको पनि काम गर्छ। पार्टीले अब लिने नीति, पार्टी संगठन, विधान परिमार्जनलगायत विषयबारे निर्वाचन क्षेत्रका साथीहरूसँग छलफल गर्छौं,’ आचार्यले भने, ‘महासमिति बैठक तयारी स्वरूप हामी छलफल गर्छौं।’
यसबीचमा कार्यकर्ताहरू र जनतासँग पनि संवाद गरिने उनले बताए।
‘जनताले कस्तो कांग्रेस खोजेका छन् हामी संवाद गर्छौं, बुझ्छौं,’ उनले भने, ‘कार्यकर्ताले कस्तो पार्टीको आवश्यकता देखेका छन् छलफल गरेर महासमिति बैठकमा हामी सुझाव राख्छौं।’
रूपान्तरण पक्षले गत जेठमा सातै प्रदेश भेला गरेका थिए।
ती भेलाका सुझाव सभापति देउवालाई बुझाउन खोजे पनि समय नदिएपछि रूपान्तरण पक्षले गत साउन २ गते (केन्द्रीय समिति बैठक सुरू हुनुअघि) मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् केन्द्रीय कार्यालयमा पेश गरेका थिए। तर यी सुझावबारे केन्द्रीय समितिमा छलफल नै भएन। बरू रूपान्तरण पक्षधरले १५ औं महाधिवेशन तयारीका लागि यस्ता भेला गरिरहेको संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यहरूले आरोप लगाएका थिए।
नेता जगदीश्वरनरसिंह केसीका अनुसार रूपान्तरण अभियानलाई जारी राख्न कार्यक्रमहरू घोषणा गरिएका हुन्। ‘निर्वाचन क्षेत्र केन्द्रित रूपान्तरण अभियानका कार्यक्रम भदौ २४ गते काभ्रे क्षेत्र नम्बर २ बाट सुरू हुनेछ,’ उनले भने।
सभापति देउवासहित अहिलेका पदाधिकारीहरू विधि र विधानअनुसार नचलेको भन्दै रूपान्तरण पक्षले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरूले रूपान्तरण अभियानअन्तर्गत नेता, कार्यकर्तासँग संवाददेखि पार्टी नेतृत्वलाई ध्यानाकर्षणसम्मका गतिविधि गर्दै आएका छन्।