२०८० लाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेको लुम्बिनी प्रदेश अधिवेशन आज (शनिबार) देखि बुटवलमा सुरु हुँदैछ।
बुटवलमण्डपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउसो १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन समारोहमा पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्षहरु विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज समेत रहेकी पद्यमा अर्याल, पोलिटब्युरो,केन्द्रीय सदस्य लगायत केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरु समेत सहभागी हुने छन्।
प्रदेश इन्चार्ज, पोलिटब्युरो,केन्द्रीय सदस्यहरु केहि दिन देखि नै अधिवेशनको तयारीमा खटिँदै आएपनि अध्यक्ष ओली लगायतका केन्द्रीय पदाधिकारीहरु अहिले बिहान आउने कार्यक्रम रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिएका छन्।
सम्मेलनपूर्व विहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताहरु राजमार्ग चौराबाट झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन्।
सम्मेलनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्य र २३ वटै जनसंगठनबाट यसअघि नै १ हजार ४ जना प्रतिनिधि यसअघि नै छनोट भईसकेका छन्।
अधिकांश प्रतिनिधिहरु शुक्रबार नै बुटवलमा आईसकेका छन् भने रुपन्देहीसँगै छिमेकी जिल्लाहरु कपिलवस्तु, पश्चिम नवलपरासी र कपिलवस्तुका प्रतिनिधिहरु अहिले विहान पनि आउने क्रम जारी रहेको एमालेले जनाएको छ।
एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेका अनुसार प्रदेशको पहिलो अधिवेशनले यसअघि रहेको ५७६ सदस्यीय प्रदेश कमिटीलाई घटाएर २०५ सदस्यीय बनाउनेछ।
सातवटै प्रदेशमध्ये सबैभन्दा पहिले आयोजना गरिएकोले एमाले कार्यकर्ता मात्र होईन अन्य दलहरुले पनि बुटवलमा हुने प्रदेश अधिवेशनलाई चासोका रुपमा लिएका छन्। एमाले नेताहरुले लुम्बिनीको पहिलो अधिवेशनले पार्टी र मुलुकलाई नै नयाँ सन्देश दिने दाबी गरेका छन्।
पार्टीका सचिव एवं प्रदेश इन्चार्ज पद्यमा अर्याल, पोलिटब्युरो सदस्य सुर्य थापा तथा प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पहिलो पटक हुन गईरहेको अधिवेशन आफैमा ऐतिहासिक भएको बताएका छन्।
‘लुम्बिनीले पहिलो पटक अधिवेशन गर्दै छ, पार्टी जीवनलाई संघीय ढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो अधिवेशन ऐतिहासिक नै हो,’ अध्यक्ष कंडेलले भने।
केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज अर्यालले पनि लुम्बिनी अधिवेशनले देशभर नयाँ सन्देश दिने भएकोले यसलाई महत्वपूर्ण रुपमा हेरिएको बताईन्। अर्यालले अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने भएकोले यसले पार्टी जीवनमा नयाँ उर्जा थपिने समेत बताइन्।
प्रदेशको नेतृत्वका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरि रिजाल दुईजनाको प्रतिष्पर्धा हुने देखिएको छ। आकांक्षी दुबै जनाले आ-आफ्नो माहोल बनाइरहेका छन्।
नेतृत्वका लागि कंडेल र रिजाल निकट नेता कार्यकर्ताहरु दुबै समूहमा विभाजित भई गोप्य भेला तथा छलफलमा जुटेको बताइन्छ। अध्यक्षका आकांक्षी कंडेल र रिजाल निकट नेता कार्यकर्ताहरु अहिले दुई समूहमा विभाजित छन्।
कँडेल पार्टी उपाध्यक्ष पौडेल निकट र रिजाल महासचिव पोखरेल निकट हुन्।
प्रदेश ईन्चार्ज अर्यालले भने नेतृत्व चयनमा सकेसम्म सर्वसम्मत गरिने र सहमति जुट्न नसके स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै आएकी छन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको तर अहिले सार्वजनिक भईरहेको जस्तो गुट उपगुट बनाएर समूहगत उम्मेदवारी भने नहुने उनले स्पष्ट पारेकी छन्।
अर्यालले शुक्रबार केन्द्रीय कमिटीमा प्रतिनिधित्व गरेका केन्द्रीय सदस्यहरुको बैठक राखेर केन्द्रीय नेताहरुको नाममा गुट बनाएर पार्टी कार्यकर्ताहरुलाई विभाजित नगर्न र बुटवलबाट गलत सन्देश जान नदिने गरि लाग्न निर्देशन दिएकी थिईन्।
कतिपय केन्द्रीय सदस्यहरु भने अधिवेशनका लागि प्रतिनिधि छनोट भएपनि पार्टी अध्यक्ष ओलीको निर्देशन अनुरुप नै नेतृत्व चयन हुने भएकोले नेता कार्यकर्ताहरु अहिले नै दुई समूहमा विभाजित हुन नहुने बताउँछन्।
चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट पार्टीमा कुनै गुट नभएको घोषणा गरेको एमालेले लुम्बिनीमा दुई समूह बनाएर प्रतिष्पर्धामा जाँदा अहिले चर्चामा आएजस्तै पौडेल र पोखरेलका गुटले झांगिने मौका पाउने र अन्ततः लुम्बिनीको पार्टी ध्वस्त हुने ती सदस्य बताउँछन्।
अध्यक्षका आकांक्षी कंडेल र रिजाल पनि आआफ्नो पक्षमा सहमति जुटाउन प्रयास गरिरहेका छन्। प्रदेश कमिटिका केहि पदाधिकारी र सदस्यहरुले अधिवेशन आउन २ दिन मात्र बाँकि रहँदा अध्यक्षका दुबै आकांक्षीलाई सँगै राखेर सहमति गराउने प्रयास गरेका थिए। सहमतिका लागि दुबै दावेदारसँग छलफलमा गरिएपनी निष्कर्ष निस्किएन।
‘त्यो बसाई पनि पहिलेको जस्तो भयो दुबैले अडान नछोडेपछि हामी सबै उठ्यौं,’छलफलमा सहभागि एक सदस्यले भने।
यस अघि पटकपटकको छलफलमा पनि दुवैले अडान छोडेका थिएनन्। पछिल्लो छलफलमा राधाकृष्ण कंडेलले आफू प्रदेश अध्यक्षकै लागि केन्द्रीय सदस्य नभएको र त्यो लुम्बिनीका अन्य केन्द्रीय सदस्यहरुसँगको पूर्वसर्त समेत रहेको बताएका थिए।
तपाईले प्रदेशको नेतृत्व गर्ने हो भनेपछि मैले केन्द्रमा जाने चाहना नराखी तपाईहरुलाई छोडिदिएँ, यो पटक प्रदेशमा मलाई छोडिदिनुस्,’ कंडेलको भनाई उदृध गर्दै एक नेताले भने।
कंडेलको उक्त आग्रहलाई हरि रिजालले ठाडै अस्विकार गरेका थिए। प्रदेश अध्यक्षका लागि आफू धेरै अगाडी बढिसकेको र पछाडी फर्किने अवस्था नभएको भन्दै कंडेलले प्रदेशको नेतृत्व लिइसकेकोले यसपटक आफुलाई छोडिदिन आग्रह गरेका थिए।
‘छलफलमा रिजालले अधिवेशनसम्मको अध्यक्ष कंडेल हुनुहुन्छ, त्यसपछिको अध्यक्ष म हो भनेपछि छलफल टुंगिएको थियो,’ ती नेताले भने।
अध्यक्षका दुबै आकांक्षीले आफुहरु धेरै अगाडी बढिसकेकोले प्रतिष्पर्धामा जानपरे पनि पछि नहट्ने बताएका छन्।
‘पार्टीले दिएको जिम्मेवारी डेढवर्ष मात्रै पुरा गरेकोले एकपटक प्रतिनिधिबाट छनोट भएर काम गरौं भन्ने हो, प्रदेशकै नेतृत्व गर्ने पूर्वसहमति अनुसार म पार्टीको अन्य कुनै जिम्मेवारीमा पनि गएको छैन,’ कंडेलले भने।
अध्यक्षका अर्का आकांक्षी रिजाल पनि प्रदेशलाई अझै चलायमान बनाउन केन्द्रीय सदस्यको जिम्मेवारी छोडेर प्रदेशमा आउन चाहेकोले आफ्नो पक्षमा सहमती नजुटे प्रतिष्पर्धामा जान तयार रहेको बताएका छन्।
‘प्रतिष्पर्धाको लागि प्रतिनिधिका बीचमा गएपछि जसलाई धेरै प्रतिनिधिले मन पराउनुहुन्छ उहि नेतृत्वमा आउने हो तर, सहमतीको नाममा प्रतिष्पर्धालाई रोक्नुहुन्न,’ उनले भने।
दुबै प्रतिष्पर्धी आफूहरूले गुट नबनाएको दाबी गर्छन्। अधिवेशनको बेला सामान्य छलफलमा जुट्दैमा त्यसलाई गुट बनाएको भन्न नमिल्ने उनीहरू बताउँछन्।
रिजाल समूहको भेलामा सहभागी केन्द्रीय सदस्य चेतनारायण आचार्यले अधिवेशनको बेला सामान्य भेटघाट र छलफल गर्दैमा केन्द्रीय नेताहरुको नाम जोडेर प्रचार गरिनु गलत भएको बताए।
कंडेल निकट कार्यकर्ताले रिजाल समूहको भेला बसेको तस्बिर सहितको समाचार सार्वजनिक गरेपछि अर्को समूहले पोलिटब्युरो र केन्द्रीय सदस्यहरुको नाम जोडेर कंडेल समूहको पनि गोप्य भेला बसेको बताउन थालेका छन्।
एमाले पोलिब्युरो सदस्य तथा पूर्व प्रदेश अध्यक्ष लिला गिरीले पार्टी निर्देशनविपरीत कसैलाई गुट बनाउने छुट नभएको र यसो भए गुट बनाउनेकै क्षति हुने बताएका छन्। ‘लामो गुटफुट र विभाजनको पीडाबाट मुक्त भई सहजतापूर्ण परिवेश बन्ने समयमा यसो गरिनु अत्यन्तै दुःखद हो, यसले पार्टीलाई फाइदा गर्दैन,’ नेता गिरीले भने।
प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि सकभर सहमतीको प्रयास गर्ने सहमती हुन नसके निर्वाचनमा जाने बाटो रहेकोले नेताहरुको नाममा गुट बनाउनु गलत भएको बताउँछन्।
‘निर्वाचन स्वच्छ र प्रजातान्त्रिक पद्धती हो त्यसबाट आउने परिणाम स्वीकार गर्ने गरी निर्वाचनमा जाने कुरालाई अन्यथा लिनु हुँदैन। तर, नेताहरुको नाममा रिसोर्ट र होटलका कोठाहरुमा समूह बनाएर छलफल गरिनुलाई राम्रो मान्न सकिदैन,’ श्रेष्ठले भने।
एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले अधिवेशनका बेला सामान्य भेटघाट, छलफललाई सामान्य मानेपनि समूह नै बनाएर निर्वाचनमा जाने विषय उचित नहुने बताए। नेतृत्वका आकांक्षीहरुलाई प्रतिनिधिसमक्ष जान दिनुपर्ने उनको भनाइ छ।
दाङबाट प्रतिनिधि बनेकी सरिता सुवेदीले अधिवेशनका बेला गुट बनाउने नेतृत्वलाई प्रतिनिधिले सवक सिकाउनु पर्ने र अवसर नपाएका र नेतृत्व क्षमता भएकालाई पार्टी नेतृत्व दिनुपर्ने बताउँछिन्।