नेविसंघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई आंगिक क्याम्पस स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ।
नेविसंघ केन्द्रीय सदस्य आदर्श मल्लको नेतृत्वमा मंगलबार प्रदर्शन गर्दै शुल्कवृद्धि फिर्ताको माग गरेका हुन्।
‘तत्काल शुल्कवृद्धि फिर्ता गर्नुपर्छ,’ प्रदर्शनमा सहभागी केन्द्रीय सदस्य अनुराग शाहले सेतोपाटीसँग भने, ‘पुल्चोक इन्जिनियरिङ क्याम्पस नेविसंघ इकाइ अध्यक्ष सुलभ चापागाईंको जीवन रक्षासमेत हुनुपर्छ।’
केन्द्रीय सदस्यहरू विजय महतो, विक्रमलाल कँडेल, शैलेश मिश्र, ललितपुर नेविसंघ अध्यक्ष सरोज घोडासैनीलगायतले प्रदर्शन गरेका हुन्।
उनीहरूले पुल्चोक इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म प्रदर्शन गरेका थिए।
चापागाईं गत भदौ ४ गतेदेखि अनशनमा बसेका छन्। शुल्कवृद्धि फिर्ता हुनुपर्ने उनको माग छ। चापागाईंको स्वास्थ्य बिग्रँदै गएकोले जीवन रक्षा गर्न माग गरिएको उनको भनाइ छ।
३ लाख १८ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू आन्दोलनमा छन्।
अध्ययन संस्थानले भने २०५३ सालदेखि शुल्क वृद्धि नगरिएकोले अहिले शुल्क वृद्धि गर्नुपरेको बताउँदै आएको छ।
तस्बिरहरू: