पाँच दिनपछि हुने नेकपा (एमाले) को लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि तीन जना आकांक्षी देखिए पनि मुख्यगरी दुई जनाको बीचमा प्रतिष्पर्धा हुने निश्चितजस्तै भएको छ।
भदौ १६ र १७ गते एमालेले बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा प्रदेशको पहिलो अधिवेशन गर्दै छ।
अधिवेशनका लागि गत शनिबार प्रदेशका १२ वटै जिल्लाका १०९ पालिका र जनसंगठनबाट एकैसाथ १ हजार ४ जना प्रतिनिधि चयन भएपछि यतिबेला सबैको ध्यान प्रदेशमा अबको नेतृत्व कसले गर्ला भन्नेतर्फ मोडिएको छ।
अधिवेशनका लागि अहिले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य समेत रहेका हरि रिजाल र प्रदेश सचिव लक्ष्मण आचार्यको नाम चर्चामा छ। आचार्यले कँडेल अध्यक्षका उम्मेदवार बनेको अवस्थामा आफ्नो समर्थन रहने बताउँदै आएका छन्।
प्रतिनिधि चयन हुनुअघि अन्य केही केन्द्रीय सदस्यहरूसमेत प्रदेशको नेतृत्वको लागि आकांक्षी देखिएका भए पनि उम्मेदवार बनेपछि नै केन्द्रीय सदस्य पद गुम्ने भएकाले प्रतिनिधिमा समेत गएनन्।
एमाले केन्द्रीय कमिटीका उपाध्यक्षद्वय विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्वय छविलाल विश्वकर्मा, गोकर्ण बिष्टलगायत प्रभावशाली नेताहरू रहेको कारण लुम्बिनीको नेतृत्व लिनका लागि दौडधुप सुरू भएको छ। उनीहरूले नेतृत्वमा आउन आफूनिकट नेताहरूसँगको लबिङलाई तीव्र बनाएका छन्।
लुम्बिनीमा मुख्यगरी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका बीचमा पार्टी र संगठनभित्रै प्रतिस्पर्धा देखिँदै आएको छ। चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा दुबै जनाले महासचिवमा दाबेदारी प्रस्तुत गरेपछि पौडेल र पोखरेलको प्रतिष्पर्धा दुई गुटका रूपमा बलियो बन्दै गएको कार्यकर्तासमेत बताउँछन्।
प्रदेश अधिवेशन नजिकिँदै जाँदा फेरि एक पटक पौडेल र पोखरेलबीच प्रतिस्पर्धा र गुटको विषयले चर्चा पाएको छ। प्रदेश अध्यक्षका आकांक्षी कँडेल पौडेलनिकट मानिन्छन् भने रिजाल पोखरेलनिकट हुन्। पौडेल र पोखरेलले प्रदेशमा आ-आफ्ना गुट चलाइरहेको र सोहीअनुसार आफू निकटका व्यक्तिलाई अध्यक्षका लागि अगाडि सारेको चर्चा बढेको छ।
लुम्बिनीमा पौडेल र पोखरेलबीच हरेक कार्यमा उच्च प्रतिस्पर्धा देखिन्छ। विगतका निर्वाचनमा टिकट वितरणदेखि सामान्य नियुक्तिसम्ममा पनि दुई गुटबीच कडा प्रतिस्पर्धा हुँदै आएको छ।
यता प्रदेश अधिवेशन गराउने मुख्य जिम्मेवारीसहित प्रदेशको ईन्चार्ज बनेर आएकी एमाले केन्द्रीय सचिव पद्मा अर्यालले भने पार्टीभित्र कुनै पनि नेताले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल नभएको बताइन्।
लुम्बिनीको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पार्टी नेतृत्वले आफूलाई दिएर पठाएको उल्लेख गर्दै अर्यालले केन्द्रमा बसेर आफूलाई नसोधी कुनै पनि नेताले कसैलाई पनि उम्मेवारका लागि अगाडि सारेको भनेर चर्चा गरिनु गलत भएको बताइन्।
‘उपाध्यक्ष र महासचिवले आफू निकटलाई अगाडि सार्नुभएको छ भनेर जसरी चर्चा गरिएको छ त्यो गलत हो, प्रदेश इन्चार्जको जिम्मेवारीसहित अधिवेशनका लागि पार्टीले मलाई पठाएको छ। मलाई थाहा नदिई केन्द्रीय नेताहरूले त्यस्तो गर्नुभएको छ भनेर मलाई विश्वास छैन,’ अर्यालले भनिन्।
अर्यालले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले गुट बनाएको हल्ला आफूले पनि सुन्ने गरेको उल्लेख गर्दै एमाले पार्टी एक ढिक्का भएकाले पार्टीभित्र कसैलाई पनि गुट सिर्जना गर्ने छुट नभएको बताइन्।
‘उपाध्यक्ष र महासचिवले गुट सिर्जना गर्नुभएको छ भन्ने मलाई विश्वास छैन। कुनै पनि नेतालाई आफ्नो स्वार्थका लागि गुट सिर्जना गर्ने छुट छैन,’ उनले भनिन्।
प्रदेश इन्चार्ज अर्यालले नेतृत्वका लागि आकांक्षी बन्न सबैलाई छुट रहेको बताइन्। उनले पहिलो प्रयास सहमतिबाट नेतृत्व चयन गर्ने रहे पनि सहमति जुट्न नसके लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइन्।
‘हाम्रो पहिलो प्रयत्न सर्वसम्मतबाट नेतृत्व चयन गरौं भन्नेमा हुन्छ तर सर्वसम्मत हुन नसके स्वच्छ प्रतिस्पर्धाको विधि त छँदै छ त्यसैको लागि प्रतिनिधि छनोट भएर आउनुभएको छ,’ अर्यालले भनिन्।
अहिलेका अध्यक्ष कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य रिजाल मुख्य प्रतिस्पर्धी देखिएपछि नेतृत्वलाई सर्वसम्मत मिलाउन सकस देखिएको छ।
प्रदेश अध्यक्षको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका कँडेल आफूले अगाडि बढाएका कतिपय योजनालाई पूर्णता दिन र एक पटक अधिवेशनबाटै निर्वाचित भएर काम गर्ने आफ्नो चाहना रहेको बताउँछन्।
‘पहिले पार्टी नेतृत्वले छानेर प्रदेश अध्यक्षको रूपमा पठाएको थियो। एकपटक अधिवेशनबाटै छानिएर नेतृत्वमा आएर काम गरौं भन्ने चाहना हो,’ उनले भने, ‘मेरो चाहनासँगै साथीहरूको त्यही अनुसारको आग्रह छ।’
कँडेलले आफू संसद र माथिल्लो तहका कुनै पनि कमिटीमा नरहेको र नेता तथा कार्यकर्ताहरूले समेत नेतृत्वका लागि अगाडि बढ्न आग्रह गरेकाले अघि सरेको बताए।
‘म प्रदेश अध्यक्षबाहेक संसद र केन्द्रीय कमिटी कहीँकतै पनि छैन,’ उनले भने।
केन्द्रीय सदस्य पद छोडेर प्रदेशको नेतृत्वको लागि आकांक्षी बनेका रिजालले प्रदेश कमिटीलाई थप बलियो बनाउनको लागि आफू नेतृत्वमा आउन चाहेको बताए। रिजालले प्रदेश कमिटी अध्यक्षलाई केन्द्रीय पोलिटब्युरो सरहको मान्यता दिएकाले नेतृत्वकै सल्लाहमा प्रदेशमा आउन चाहेको बताउँदै आएका छन्।
‘पार्टीले प्रदेश अध्यक्षलाई पोलिटब्युरो सरहको मान्यता दिएपछि प्रदेशको नेतृत्वका लागि साथीहरूकै सल्लाहमा आएको हुँ,’ रिजालले भने।
नेतृत्व चयनमात्र होइन सिंगो प्रदेश कमिटी चयन गर्न पनि पार्टी नेतृत्वलाई यसपटक चुनौती देखिएको छ। हाल ६ सयभन्दा बढी सदस्य रहेको प्रदेश कमिटी अब भने २ सय ५ जनाको मात्रै बन्ने भएपछि नेता तथा कार्यकर्तालाई कहाँ व्यवस्थापन गर्ने भन्ने सकस पार्टी नेतृत्वलाई छ।
एमाले सचिव अर्यालले कमिटीलाई चुस्त र छरितो बनाउन अहिलेको भन्दा एक तिहाइ सानो कमिटी बनाउने भएपछि अहिले कमिटीमा रहेका र नयाँ आकांक्षीहरूलाई समेत कसरी समेट्ने भन्ने चुनौती रहेको बताइन्।
उनका अनुसार २ सय ५ सदस्यीय प्रदेश कमिटीमा प्रत्येक जिल्लाबाट ५ जना सदस्यका दरले १२ जिल्लाबाट ६० जना, प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ५ जनाका दरले १ सय ३० र ५ जना पदाधिकारीसहित १५ जना खुल्लाबाट गरी २ सय ५ जनाको कमिटी निर्वाचित हुने छ।
जसको लागि प्रदेशका १ सय ९ वटै पालिका तथा जनसंगठनबाट गरी १ हजार ४ जना प्रतिनिधि छनोट भइसकेका छन्। यसअघि आयोजक कमिटीका सदस्यहरू पदेन प्रतिनिधिको रूपमा अधिवेशनमा सहभागी हुने गरेकोमा यसपटक भने अध्यक्षसमेत आफ्नो क्षेत्रबाटै निर्वाचित भएर अधिवेशनमा सहभागी हुँदै छन्।
छनोट भएर आएका प्रतिनिधिमध्ये ३० प्रतिशत महिला, १५ प्रतिशत उत्पीडित जनजाति वर्ग र २० प्रतिशत युवा प्रतिनिधि छनोट भएको अर्यालले जानकारी दिइन्।