नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको औचित्यलाई लिएर पार्टीभित्रबाटै प्रश्न उठेको छ।
स्थानीय चुनाव हराउन भूमिका खेलेको आरोपमा कारबाहीका लागि सिफारिस गरेका नेतालाई केन्द्रीय अनुशासन समिति सदस्य मनोनीत गरेपछि समितिको भूमिकामाथि नै आशंका गरिएको छ।
तनहुँको व्यास नगरपालिका ५ कांग्रेस समितिले केन्द्रीय सदस्य ध्रुव वाग्लेसहित ६ जनालाई स्थानीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।
वडा समितिले वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि गंगबहादुर राना, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि भीमकुमार श्रेष्ठ र सदस्य विद्युतकेसरी न्यौपानेमाथि कारबाही सिफारिस गरेको थियो।
२०७९ जेठ ८ गते वडा सभापति सुरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले ब्यास नगरपालिकामा कांग्रेसका तर्फबाट २०७९ वैशाख ३० को चुनावमा मेयर र उपमेयरका उम्मेदवार र वडा नम्बर ५ का अध्यक्ष उम्मेदवारमाथि पूर्ण रूपमा असहयोग गरी पराजय गराउने भूमिका निर्वाह गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
उनीहरूलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्न वडा कार्यसमितिले सिफारिस गरी नगर समितिमा पठाएको थियो। नगरले क्षेत्रीय समिति हुँदै जिल्ला समितिमा सिफारिस पठाउनुपर्ने थियो। जिल्लाले भने केन्द्रीय अनुशासन समितिलाई अनुशासन उल्लङ्घनमा सिफारिस परेकाहरूको नाम पठाउने प्रचलन छ।
हेर्नुस् वडाले गरेको कारबाही सिफारिस:
‘केन्द्रीय सदस्य ध्रुव वाग्ले स्थानीय चुनावको प्रचारप्रसारमा उम्मेदवारसँग हिँड्नुभएन,’ ब्यासमा कांग्रेसबाट उम्मेदवार रहेका एक नेताले सेतोपाटीसँग भने, ‘स्थानीय चुनावमा सूर्य र गोविन्दराज-दीपकराज जोशी समूह) ले संयुक्त रूपमा उम्मेदवारी दिएका थिए। वाग्लेले ब्यासका केही वडाका केही गाउँमा रूखबाहेक कैचीलगायतमा मत मागेको हामीले थाहा पाएका थियौं।’
व्यास ५ मा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाल पराजित भए। उनले एक हजार ६९ मत ल्याएका थिए। तर चार वटै सदस्य यहाँ कांग्रेसले जितेको थियो। सदस्यहरू जितेको र अध्यक्ष भने अन्तर्घातकै कारण हारेको निष्कर्ष वडा समितिको छ। यहाँ अध्यक्ष भने नेकपा एमालेका उम्मेदवार विष्णुकुमार श्रेष्ठले एक हजार एक सय ८५ मतसहित चुनाव जितेका थिए।
ब्यासको मेयर र उपमेयर भने कांग्रेसले नै जितेको थियो। तर विभिन्न वडाबाट मत कम आएको भन्दै अन्तर्घातका आरोप लागेका थिए।
अन्तर्घात गरेको आरोपमा कारबाहीका लागि सिफारिसमा परेका केन्द्रीय सदस्य वाग्लेलाई सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समिति सदस्यमा गत भदौ ५ गते मनोनीत गरेका थिए। वाग्ले अनुशासन समिति सदस्य मनोनीत भएदेखि यो विषय झन् पेचिलो ढंगबाट तनहुँमा उठेको छ। अनुशासनका कारबाहीका लागि सिफारिसमा परेकालाई सभापतिले उल्टै अनुशासन समितिमा मनोनीत गरेकोले यो समितिको औचित्यमाथि नै प्रश्न उठेको कांग्रेसका नेताहरू बताउँछन्।
‘कांग्रेस नेतृत्वले तल्ला समितिले गरेका सिफारिसलाई कति हेलचक्राइँका साथ लिन्छ भन्ने यो घटनाले पनि देखाउँछ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘अनुशासन उल्लङ्घनकै आरोप लागेकालाई अनुशासन समितिमै राखेर सभापति देउवाले के सन्देश दिन खोज्नुभएको हो, पार्टी विधि र विधानसम्मत चलाउनु पर्दैन?’
अनुशासन समिति सदस्य मनोनीत भएका ध्रुव वाग्लेले भने आफूमाथि कारबाही सिफारिस गरेको विषय जिल्लाले सल्टाइसकेको प्रतिक्रिया दिए।
‘वडाको सिफारिसलाई उहिल्यै जिल्ला कार्यसमिति तनहुँले फालिदिइसक्यो,’ वाग्लेले सेतोपाटीसँग भने, ‘वडाका दुई/चार जना मानिस बसेर अवैधानिक रूपमा म लगायतलाई कारबाही सिफारिस गरेका थिए।’
वाग्ले सभापति देउवानिकट छन्। तनहुँमा पनि जिल्ला कार्यसमितिमा संस्थापननिकटकै बाहुल्यता छ।
कांग्रेस विधानअनुसार अनुशासन समितिले पार्टीको आचारसंहिता पालना गराउने, अनुशासन कायम राख्ने, अनुशासन समितिको निर्णय पुनरावेदन सुन्नेजस्ता क्षेत्राधिकार दिएको छ।