आयोजकले नेपाली राष्ट्रियताकै अपमान गरि कार्यक्रम सुरूआत गरेपछि कार्यक्रमका प्रमुख अतिथी रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कार्यक्रम नै बहिष्कार गरेका छन्।
शुक्रवार भैरहवामा आयोजित कार्यक्रमको सुरूमै आयोजकले राष्ट्रगानमा सरिक हुन भन्दै प्रमुख अतिथी रहेका मुख्यमन्त्री चौधरी, अन्य अतिथी र सहभागीहरुलाई उठिदिन आग्रह गरे। मुख्यमन्त्री चौधरी, अन्य अतिथी र सहभागिहरु सबै उठेपछि फिलिपिन्सको राष्ट्रगानको धुन बज्न थाल्यो।
कार्यक्रममा एकजना अतिथी फिलिपिन्सका नागरिक थिए। मुख्यमन्त्री चौधरीलाई लाग्यो विदेशी पाहुनाको सम्मानमा सो देशको राष्ट्रगान बजाएपछि नेपालको राष्ट्रगान बज्छ। तर आयोजकले नेपालको राष्ट्रगान बजाएनन्।
प्रदेश सरकारको प्रमुख सहभागी कार्यक्रममा नेपाली राष्ट्रगानको सट्टा विदेशी राष्ट्रगान बजाएर शुभारम्भ भएपछि मुख्यमन्त्री चौधरी तत्कालै कार्यक्रम बहिष्कार गरी बाहिरिएका थिए।
‘सामाजिक क्षेत्रमा क्रियाशील संस्था 'किवानीज इन्टरनेशनल' नेपालको पाँचौं जिल्ला सम्मेलन भनेर बोलाईएको थियो, अन्तर्राष्ट्रिय संस्थाको सम्मेलनमा जानुपर्छ भनेर गएको थिएंँ। तर, आयोजकले नेपालको राष्ट्रगानको सट्टा एकजना फिलिपिन्सको नागरिकको लागि विदेशी राष्ट्रगान बजाएर नेपाल राष्ट्रकै अपमान गरेको महशुस भएपछि त्यहाँबाट हिडेको हुँ,’ चौधरीले सेतोपाटीसँग भने।
नेपाली माटोमा हुने कुनैपनि कार्यक्रमको सुरूमै विदेशी राष्ट्रगान बजाएर कुनै पनि नेपालीले कार्यक्रम गर्न नसक्ने मुख्यमन्त्री चौधरीले बताए।
‘नेपालमा हुने कार्यक्रममा नेपालको राष्ट्रगान नबजाएर विदेशी गीत बजाउनु राष्ट्रियता र मातृभूमिको अपमान हो, ‘आफ्नै माटोमा राष्ट्रियता माथी अपमान गरेपछि मलाई सह्य भएन त्यसैले मैले कार्यक्रम छोडेर हिँडेको हुँ,’ उनले भने।
आयोजक संस्थाले पोखरामा यसअघि आयोजना गरेको कार्यक्रममा समेत फिलिपिन्सको मात्रै गित बजाएको भन्ने आफुले शुक्रबार मात्रै जानकारी पाएको मुख्यमन्त्री चौधरीले बताए।
‘मेलै कार्यक्रम आयोजकलाई नै तपाईहरुले राष्ट्रियतामाथि घात गर्ने म त्यही कार्यक्रमको प्रमुख अतिथी बनेर कार्यक्रममा बस्ने हुँदैन भनेर जानकारी गराएर हिडेको हुँ,’ उक्त संस्थाले यसअघि पोखरामा आयोजना गरेको कार्यक्रममा पनि त्यस्तै घटना भएको रहेछ, आयोजक कस्तो संस्था हो भन्ने नबुझी जानु हाम्रो पनि गल्ती भयो,’ उनले भने।
शुक्रबार भैरहवामा आयोजना गरिएको सम्मेलनमा भने मुख्यमन्त्री चौधरी प्रमुख अतिथी र विशेष अतिथिको रुपमा फिलिपिन्सी नागरिक एवं किवानीज एसप्याक चियर बेल गारसिया अतिथीका रूपमा उपस्थित थिए। तर उनी कुनै पोर्टफोलियोका फिलिपीनी कुटनीतिज्ञ भने होइनन्।
आयोजकले फिलिपिन्सका नागरिकलाई सुनाउने गरी फिलिपिन्सको राष्ट्रगान बजाएर कार्यक्रमको सुरूवात गरेपछि तत्काल मुख्यमन्त्री चौधरी कार्यक्रमबाट बाहिरिए।
मुख्यमन्त्री चौधरी कार्यक्रमबाट बाहिरिएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरिक्षक लगायतको सरकारी टोली समेत कार्यक्रम स्थलबाट बाहिरीएका थिए।
किवानीज क्लब अफ रुपन्देहीको संयोजनमा शुक्रबार साँझबाट सुरू भएको सम्मेलन शनिबार सकिदै छ। सम्मेलनमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिसहित ३ सयभन्दा बढी किवानीजहरुको सहभागिता रहेको छ।
९० वटा देशमा शाखा रहेको अमेरीकी संस्था किवानीजले विश्वभरीका बालबालिकाको क्षमता विकास, नेतृत्व विकास र खेलकुदका क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको छ।