राप्रपा नेपालले फेरि संवैधानिक राजतन्त्र एजेन्डालाई आत्मसात् गरेको छ।
काठमाडौंमा शुक्रबार केन्द्रीय समिति बैठक राखेर अध्यक्ष कमल थापाले पार्टीको विचार अबदेखि संवैधानिक राजसंस्था हुने निर्णय गराए।
यसबारे जानकारी दिन राप्रपा नेपालले घोषणा सभा नै गरेको थियो। सभामा बोल्दै थापाले संवैधानिक राजसंस्थासहित प्रजातन्त्र पार्टीको विचार हुने बताए।
‘राप्रपा नेपालको मुलभूत विचार संवैधानिक राजसंस्थासहित प्रजातन्त्र हुनेछ। राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति हुनेछ,’ उनले भने।
थापाले राजसंस्था आत्मसात् गरेको घोषणा गर्दा स्वागतमा नेता, कार्यकर्ताले ताली बजाए, हुटिङ गरे।
२०६३ मा राजासहित प्रजातन्त्रको मूल विचारलाई बोकेर राप्रपा नेपाल स्थापना भएको थियो। तर २०७८ मा राप्रपा महाधिवेशनमा थापा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग हारेका थिए।
त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्टि जनाउँदै थापाले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल ब्युँत्याए। ‘२०७८ पछि विशिष्ट परिस्थितिमा पुनर्जागृत राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनालाई पार्टीको कार्यनीति बनाएन,’ थापाले भने।
२०७८ माघ २५ गते थापाले राप्रपा परित्याग गरेका थिए।
हेटौंडा पुगेर थापाले 'अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको' जानकारी गराएका थिए।
राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले चलखेल गरेको आरोपसहित उनी राप्रपाबाट अलग भएका थिए।
२०७८ फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताएका थिए। राजसंस्थाको एजेन्डा छाडेर थापाले हिन्दुराष्ट, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा तय गरेका थिए।
तर यसबीचमा भएका स्थानीय, प्रदेश र संघीय चुनावमा राप्रपा नेपालले कतै जित्न सकेन। २०७९ मंसिरमा भएको संघीय चुनावमा देशैभरबाट समानुपातिकतर्फ राप्रपा नेपाललाई करिब ११ हजार मत मात्रै प्राप्त भएको थियो।
यसबाट राप्रपा नेपालका नेता तथा कार्यकर्ता निराश भएका थिए।
नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार भएका अध्यक्ष थापाले पनि चुनाव जित्न सकेनन्।उनी राप्रपा उम्मेदवार दिपक सिंहसँग पराजित भएका थिए।
राप्रपा नेपालको चुनाव चिन्ह तीर हो। पार्टीबाट टिकट पाएकाले तीर चिन्हमै चुनाव लडे पनि अध्यक्ष थापाले सूर्य चिन्ह लिएको भन्दै चुनावका बेला पार्टीभित्रैबाट आलोचना भएको थियो।
थापाले परित्याग गरेको राप्रपा नेपालले भने तीनै तहका चुनावमा ठाउँ-ठाउँमा जितेको थियो। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी राप्रपाले १४ सिट जितेको थियो।
तर चुनावमा पराजित भएका राप्रपा नेपालका अध्यक्ष थापा भने केन्द्रीय राजनीतिबाट हराउँदै गएको टिप्पणी भइरहेको थियो।यस्तो परिस्थितिमा थापाले पार्टीको विचार नै पुनरावलोकन गरेका छन्।
‘देशको धरातलीय अवस्था, पार्टी कार्यकर्ता, सहयोगी, शुभेच्छुकको भावना र सुझावलाई सम्मान गर्दै पार्टीले राजसंस्थासम्बन्धी विगतको अवधारणा पुनर्विचार गर्ने निर्णय गरेको छ,’ अध्यक्ष थापाले भने।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा कायम 'भ्रष्ट व्यवस्था अन्त्य' गर्नुपर्ने बताए।
‘सबल र समृद्धि हिन्दु अधिराज्य स्थापनाको मान्यतासहित पार्टीले आन्दोलन गर्छ,’ उनले भने। जनताकै सद्भावबाट केही वर्षभित्रै राजसंस्थालाई पुनर्स्थापना गर्ने दाबी थापाको छ।